Like us!
Follow us!
Connect us!
Watch us!

महाकाली करिडोरको काम कछुवा गतिमा : रुख कटान प्रमुख समस्या

अर्थ संसार

शनिबार, ०७ फागुन २०७८, ०८ : ४९ मा प्रकाशित

महाकाली करिडोरको काम कछुवा गतिमा : रुख कटान प्रमुख समस्या

महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रुख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर उत्तर करिडोरको ट्रयाक खोल्न सात महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भए पनि वनबाट रुख कटानको सहमति नमिलेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ । “ब्रह्मदेव क्षेत्रको १४ किलोमिटरसम्म ट्रयाक खोल्न रु पाँच करोडमा ठेक्का भएर कामको सुरुआत गर्न भने पनि वनले गर्दा समस्या भएको छ”, महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका सवइन्जिनियर दौलत धामीले भने, “वनको सहमति बिना रुख कटान गर्न सकिन्न ।”

महाकाली करिडोरको ट्रयाक खोल्ने जिम्मेवारी पाएका दिवा–शनिदेव जेभीका आधिकारिक प्रतिनिधि शनिदेव भट्टले लामो समय भइसक्दा पनि वनबाट रुख कटानको सहमति नआउँदा समस्या भइरहेको बताए । “साना र ठूला गरेर करिब चार हजार रुख काट्नुपर्ने देखिन्छ”, उनले भने, “रुख कटानको अल्झनले काम गर्नै गाह्रो भयो ।” उनले ट्रयाक खोलिसक्ने बेला भइसक्दासम्म पनि कटान समस्या हुन नभएको दुखेसो पोखे ।

करिडोरअन्तर्गत १४ किलोमिटर ट्रयाक खुले डडेल्धुराको जोगबुढा क्षेत्र सहजै पुगिन्छ । त्यसैगरी डडेल्धुरा क्षेत्रमा पनि करिडोरको ट्रयाक खुलाउने काम भइरहेको योजनाका सवइन्जिनियर धामीको भनाइ छ । ४२५ किलोमिटर लम्बाइ भएको करिडोरअन्तर्गत विभिन्न प्याकेजमा निर्माणको काम भइरहेको छ । लामो समयसम्म सो क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) हुन नसक्दा काममा ढिलाइ भएको हो । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर सडक निर्माण योजनाको अवधारणा अगाडि सारिएको भए पनि करिडोरको काम कछुवा गतिमा छ । डडेल्धुरामा ३८ किलोमिटरसम्म ट्रयाक खुलिसकेको सबइन्जिनियर धामीको भनाइ छ । “डडेल्धुरामा ५५ किलोमिटर ट्रयाक खोल्नुपर्नेमा ३८ किलोमिटरसम्म खुलिसकेको छ”, उनले भने, “बाँकीमा ट्रयाक खोल्ने ठेक्का प्रक्रियाको चरणमा छ ।”

त्यसैगरी, बैतडीमा १५ देखि २० किलोमिटर महाकाली मार्गमा पर्छ । त्यहाँ करिब ५५ किलोमिटर ट्रयाक खुलिसकेको भए पनि अझै ६०/७० किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको उनले बताए । चारवटै जिल्लामा ट्रयाक खोल्न अहिले रु ५० करोड बराबरको काम चलिरहेको उनले जानकारी दिए । विसं २०६५ देखि निर्माण सुरु भएको दार्चुला तिङ्कर सडकलाई २०७२ सालमा महाकाली करिडोरअन्तर्गत गाभिएको हो । बैतडीको पञ्चेश्वर क्षेत्रमा ५७ किलोमिटर ट्रयाक खोल्ने काम चलिरहेको छ । त्यसका लागि रु. १४ करोडको ठेक्का भएको छ भने २७ किलोमिटर ट्रयाक खोल्न सम्झौता भइरहेको आयोजनाको कार्यालयले जनाएको छ ।

साविकको दार्चुला तिङ्कर सडकखण्डको कूल १३४ किलोमिटरमध्ये ८७ किलोमिटर व्यास गाउँपालिका–२ कोठेधारदेखि तिङ्करसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाले गरिरहेको कामको केही दिनअघि प्रधानसेनापति प्रभुराम शर्माले समेत निरीक्षण गरेका थिए ।दार्चुलाको लेकम क्षेत्रमा ट्रयाक खोल्न रु. १० करोडको सम्झौता भएर काम भइरहेको छ । “लेकम क्षेत्रमा ३४ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको छ”, सवइन्जिनियर धामीले भने, “व्यास गाउँपालिकामा पर्ने छ किलोमिटर सडकमा अन्य संरचना निर्माणको काम भइरहेको छ ।”

करिडोरअन्तर्गत ट्रयाक खोल्ने काम भइरहेको भए पनि अझै सडक कालोपत्र भने कहीँ पनि भएको छैन । “पहिलोपटक आयोजनाअन्तर्गत दार्चुलाको खलङ्गा–सुनसेरा १९ किलोमिटर र सलेतीदेखि बेदसम्म १२ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का आह्वान हुँदैछ”, उनले भने, “३१ किलोमिटर सडक कालोपत्र गर्ने तयारी यसपाली छ ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको