Like us!
Follow us!
Connect us!
Watch us!

सेयर किन्ने र बेच्ने उपयुक्त समय कहिले ? सेयर प्रक्रियबारे एक चर्चा

शुक्रबार, २० साउन २०७४, १२ : १० मा प्रकाशित

सेयर किन्ने र बेच्ने उपयुक्त समय कहिले ? सेयर प्रक्रियबारे एक चर्चा

सेयर बजारबाट पैसा कमाउनका लागि राम्रो कम्पनी छान्ने कलाका अलावा सेयर बेच्ने र किन्ने उपयुक्त समयको पहिचान गर्ने क्षमताको पनि ठूलो खाँचो रहन्छ । राम्रै कम्पनीको सेयर किने पनि समय गलत परिदियो भने नाफा त परै जाओस बरु घाटा हुनसक्छ ।

राम्रो कम्पनी कसरी छान्ने, वित्तीय बिवरण कसरी अध्ययन गर्ने, कस्ता बिवरण र अनुपातलाई प्राथमिकतामा राख्ने लगायत कुरामा धेरै कुरा भनिने र लेखिने गर्छ । यद्यपि सेयर बेच्ने र किन्ने प्रक्रियाका बारे भने खासै चर्चा गरिदैंन । यस लेखमा मुलत सेयर बिक्री गर्ने प्रक्रियाका बारे चर्चा गरिनेछ ।

सामान्य लगानीकर्ताको कुरा सुन्ने हो भने उनीहरु सेयर किन्ने भन्दा पनि बेच्ने उपयुक्त समय पहिल्याउन निकै संर्घष गर्छन् । वास्तवमा सेयर बेच्ने उपयुक्त समय पहिल्याउनु निकै कठिन काम हो । यो यति धेरै गाह्रो हुनुको प्रमुख कारण भनेको लगानीकर्ताले आफ्नो कारोबार र आफ्ना भावनाहरुलाई सन्तुलनमा राख्न नसक्नु हो ।

डर, लोभ र पश्चाताप तीन त्यस्ता मानवीय भावनाहरु हुन्, जसले लगानीकर्ताको बिक्री कारोबारलाई धेरै असर  पुर्याउँछ । यस्ता भावनाहरु माथि सन्तुलन बनाउन सक्नु नै सफल लगानीकर्ता बन्ने बाटोमा अग्रसर हुनु हो ।
उदाहरणको लागि धेरै लगानीकर्ताहरु आफ्नो सेयर मुल्य १०-२० प्रतिशतले बढ्दा बेच्न चाँहदैनन् ।

उनीहरुलाई लाग्छ कि उनीहरुको सेयरको मुल्यले आकाश छुन्छ । यो लोभले गर्दा उनीहरुलाई सेयर बेच्न गाह्रो हुन्छ । अब अर्को पाटो, यदि सेयर मुल्य १०-२० प्रतिशतले घट्यो भने पनि धेरै लगानीकर्ताले सेयर बेच्दैनन् । किनभने पछि सेयर मुल्य बढ्यो भने उनीहरुलाई पश्चाताप हुन्छ ।

त्यसोभए कतिबेला बेच्ने त सेयर ? यो धेरै लगानीकर्ताले जवाफ दिनै नसक्ने आधारभुत प्रश्न हो । तर, सौभाग्यबश केही प्रक्रियाहरु छन्, जसले सेयर बेच्ने कामलाई धेरै सजिलो, र यान्त्रीक बनाइदिन्छ । सेयरको मुल्याङ्कन गरेर बेच्ने निर्णय गर्नु एउटा राम्रो उपाय हो ।

आफुले तय गरेको ‘मुल्याङ्कन टार्गेटमा’ पुगेपछि सेयर बेच्ने एउटा सजिलो उपाय हो । सेयर मुल्याङ्कनको लागि भने ‘प्राइस अर्निङ  रेसियो’, ‘प्राइस टु बुक’, ‘प्राइस टु सेल्स’ जस्ता अनुपातहरुलाई आधार बनाउन सकिन्छ । यो उपाय सेयर लगानीकर्ता (कारोबारी होइन) माझ निकै चर्चित छ ।

आफुले तय गरेको मुल्याङ्कन लक्ष्यबाट बढेपछिको समयलाई सेयर बेच्ने उपयुक्त समयको रुपमा लिन सकिन्छ ।उदाहरणको लागि, मानौं कोही लगानीकर्तासँग सानिमा बैंकको सेयर छ, र उसले मुल्य आम्दानी अनुपात (पिइ रेसियो) १५ हुँदा उक्त सेयर किनेको थियो ।

अब मान्नु्स सानिमा बैंकको विगत ५ बर्षदेखिको औसत मुल्य आम्दानी अनुपात २० छ । यस्तो अवस्थामा लगानीकर्ताले २० को मुल्य आम्दानी अनुपातलाई बिक्री सिग्नलको रुपमा राख्न सक्छ । अर्थात् मुल्य आम्दानी अनुपात २० भन्दा बढ्यो भने सेयर ‘ओभर भ्यालुड’ हुन्छ, र यो सेयर बेच्ने उपयुक्तसमय हो । यसरी सेयर बेच्ने कामलाई भावनाबाट अलग गर्न सकिन्छ ।

एउटा सेयर होल्ड गरेर बस्नु भन्दा बेचेर अर्को सेयर किन्दा हुने फाइदाको आंकलन गरी सेयर बेच्ने निर्णय लिनु सेयर बेच्ने अर्को तरिका हो । यसका लागि आफ्नो पोर्टफोलियोको निरन्तरको निगरानी तथा अध्ययन र अनुसन्धानकने आवश्यकता पर्छ ।

आफुसँग भएको भन्दा फाइदाजनक अर्को सेयर भेट्नु यस प्रक्रियाको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । सेयर बेच्ने तेस्रो तरिका भनेको कम्पनीको बित्तिय बिवरणको अध्ययन हो । कम्पनीको वित्तीय बिवरणका महत्वपूर्ण अनुपातहरु निश्चित बिन्दुबाट  तल झरे बिक्री गर्ने निर्णय गर्न सकिन्छ ।

यो रणनीति र अघिल्लो रणनीतिमा केही समानता छन् । खस्कदो वित्तीय बिवरणका आधारमा सेयर बेच्ने निर्णय गर्दै गर्दा लगानीकर्ताले ‘ब्यालेन्स सिट’ का बिभिन्न अनुपातहरुमा ध्यान दिनुपर्छ । तरलता, प्रतिसेयर आम्दानी, खराब कर्जा, आरओइ, नेट वर्थ, जगेडा कोष, ब्यवसाय बृद्धि जस्ता सूचकहरु महत्वपूर्ण हुन्छन् ।

सेयर किन्दै कतिसम्म घट्दा होल्ड गर्ने र कति बढेपछि बेच्ने तय गर्नु अर्को रणनीति हो । जस्तो, कुनै लगानीकर्ताले सेयर किन्दा आफुले किनेको मुल्यबाट १० प्रतिशतसम्म घटे होल्ड गर्छु, त्यो भन्दा बढि घट्न थाले बेच्छु भनेर निर्णय गर्नसक्छ । त्यस्तै, उदाहरणको लागि, आफुले किनेको मुल्यमा १० प्रतिशतले बढेपछि बेच्छु भनेर पनि पहिल्यै तय गर्नसक्छ ।

यसो गर्दा सेयर बेचेपछि हुने पश्चातापबाट मुक्ति पाउन सहज हुन्छ । यदि लगानीकर्तालाई प्रतिशतमा हिसाब गर्न
असहज लाग्छ भने सेयर मुल्यलाई नै लक्ष्यको रुपमा पनि राख्न सकिन्छ । जस्तो, यदि आफुले कुनै सेयर प्रति कित्ता ५०० रुपैंयाँमा किनेको छ भने ७०० पुगे बेच्ने लक्ष्य राख्ने । त्यस्तै, ४०० सम्म घटे होल्ड गर्ने ।

तर, ४०० भन्दा बढि घट्न थाले बेच्ने । लगानीगर्दा आफ्नो लगानीबाट भएको घाटा स्वीकार गर्नु निकै कठिन काम हो । धेरै जसो समयमा उपयुक्त सेयर छान्नु मात्र होइन उपयुक्त समयमा बेच्नुले पनि सफल लगानीकर्ता बनाउँछ ।
अन्तमा मानवीय भावना र ‘हार्डकोर’ लगानी निर्णय फरक फरक कुरा हुन् ।

माथि उल्लेख गरेका केही कुराहरुले पक्कै पनि लगानीकर्तालाई सेयर बेच्दा आफ्ना भावनाहरुलाई अलग्गै राख्न सहयोग पुर्याउनेछ ।

Traders Voice बाट

यो पनि पढ्नुहोस्

सेयर बजार यसरी हुँदैछ आधुनिक

प्रभु र प्राइम अर्ब क्लबमा, नाफा अर्ब माथि

राष्ट्रिय बीमा संस्थानले माग्यो ३३ जना कर्मचारी (विज्ञापनसहित)

किन घट्यो दिनार, रिंगिट, दिरामको मूल्य 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको