Like us!
Follow us!
Connect us!
Watch us!

उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको नेता खनालको आरोप

सोमबार, ३० साउन २०७४, १५ : ४३ मा प्रकाशित

उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको नेता खनालको आरोप

अर्थ संसार, सुर्खेत– पहाडमा पहिरो र तराईमा बाढीले आक्रान्त पार्दासमेत सरकारले उद्धार तथा राहत वितरण कार्यमा ढिलासुस्ती गरेको आरोप नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले लगाउनुभएको छ ।

प्रेस चौतारी नेपाल शाखा सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले साठीभन्दा बढी नागरिकको मृत्यु, हजारौँ परिवार विस्थापित तथा प्रभावित हुँदासमेत सरकारले युद्धस्तरमा काम नगरेको बताउनुभयो ।

उहाँले नेपाल–भारत सीमा नदीमा भारतले बनाएको बाँधले तराई डुबानमा परेको बताउनुभयो । वर्षात् हुने क्रम जारी रहेकाले तत्काल सिमानामा बनाइएका बाँधका ढोका खोल्न भारत सरकारसँग संवाद थाल्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

यस्ता समस्या भविष्यमा आउन नदिन दीर्घकालीन योजना बनाउन भारतसँग नेपाल सरकारले कूटनीतिक पहल थाल्न आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

आगामी माघ ७ गतेसम्म बाँकी दुई चरणका निर्वाचन गरिसक्नुपर्ने बाध्यता भए पनि सरकार संवैधानिक संकट निम्त्याउने खेलमा लागेको आरोप उहाँको भनाइ थियो ।

संविधान संशोधन गर्नै नहुने पक्षमा एमाले नरहेको स्पष्ट पार्दै नेता खनालले संविधान कार्यान्वयनभन्दा सरकारले संशोधनलाई प्रमुख एजेण्डा बनाएर समय खर्चिरहेको बताउनुभयो ।

एक्काइसौँ दिनदेखि आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीका माग सम्बोधन नगरिनु दुःखद भएको टिप्पणी गर्दै उहाँले सरकारलाई तत्काल केसीका मागप्रति संवेदनशील भएर वार्ता गर्न पनि आग्रह गर्नुभयोे । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको