नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सम्पूर्ण सूचिकृत कम्पनीको सञ्चालक तथा कार्यकारी प्रमुखको काराेबार रोक्का राख्न निर्देशन दिएकाे छ ।
नेप्सेले आज एक सूचना प्रकाशन गर्दै सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख लगायतको सेयर कारोबार रोक्का राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम ३८ (१क) अनुसार " संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद विक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन" भन्ने व्यवस्था रहेको नेप्सेले जनाएकाे छ ।
साेही कारण सम्पूर्ण सूचीकृत कम्पनीहरुले उल्लेखित पदाधिकारीहरुको सम्बन्धित सूचीकृत कम्पनीमा भएको सेयर सिडियस एण्ड क्लियरिङ्ग लिमिटेडमा नियमावलीमा उल्लेखित समयावधिसम्म रोक्का राख्न धितोपत्र ऐन, २०६३ को दफा ४८ अनुसार निर्देशन जारी गरिएको छ । उपर्युक्त अनुसार १५ दिनभित्र सेयर रोक्का राखी जानकारी गराउन नेप्सेकाे अनुराेध छ । त्यस्तै, नयाँ हुने उल्लेखित पदाधिकारीहरुको उपर्युक्त अनुसार सेयर रोक्का गरेर मात्र जिम्मेवारी लिने व्यवस्था गर्न समेत नेप्सेले अनुरोध गरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस