हरेक देशको आर्थिक विकासमा अन्तराष्ट्रिय व्यापारको भूमिका महत्वपूर्ण हुन्छ । अन्तराष्ट्रिय व्यापार अन्तरगत मूलतः आयात र निर्यात व्यापार हुने गर्दछ ।
आफ्नो देशमा उपलव्ध नहुने वस्तुहरु अन्य देशबाट खरिद गरिने प्रक्रिया नै आयात व्यापार हो भने , आफ्नो देशमा उत्पादित वस्तुहरु अन्य देशमा निर्यात गरी विक्री गरिने व्यापार निर्यात व्यापार हो ।सामान्यतया आयातको तुलनामा निर्यात बढी हुन सक्दा बैदेशिक मुद्रा आर्जन बढ्न गई विदेशी विनिमय संचितिमा वृद्धि हुँदा भुतmानी सन्तुलन पनि देशको अनुकुल हुन जान्छ ।
मुलुकको राष्ट्रिय हितको दृष्टिकोणले, स्वाधिन एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको दृष्टिकोणले अन्तराष्ट्रिय व्यापार अर्थात बैदेशिक व्यापार सन्तुलित हुनु पर्दछ, यसो हुँदा मात्र मुलुकको आर्थिक विकास, लाई सही दिशाबाट अगाडी बढाउन सकिन्छ ।
तर नेपालको बैदेशिक व्यापारको स्थिति हेर्ने हो भने अत्यन्तै नाजुक अवस्थामा छ । दैनिक उपभोग्य वस्तु देखि निर्माण सामग्रीका वस्तुहरु प्रायः सबै नै आयात व्यापारमा निर्भर रहनु परेको छ, र हरेक बर्ष आयात व्यापारको अंश बढ्दै गएको छ ।
तर आयात व्यापारको तुलनामा निर्यात व्यापारको अंश अत्यन्तै न्युन रहेको छ, नेपालको आ.व. २०७१।०७२ मा ७ खर्व ७५ अर्ब रकम बरावरको आयात भएको छ भने आ.व. ०७२।०७३ मा ७ खर्ब ७४ अर्ब भएको छ ।
आ.व. ०७३।०७४ को ११ महिना सम्मको मात्र आयात ८ खर्ब ९७ अर्व पुगेको छ । यस्तै निर्यात तर्फ आ.व. ०७१।०७२ मा ८ अर्ब ५३ करोड, आ.व. २०७२।०७३ मा ७ अर्व र आ.व. २०७३।०७४ को ११ महिना सम्मको निर्यात ६ अर्व ८९ करोड मात्र रहेको छ । अर्थात कूल बैदेशिक व्यापारमा आ.व. २०७२।०७३ मा आयातको हिस्सा ९२.२ प्रतिशत रहेको छ भने निर्यातको अंश ७.१ प्रतिशत मात्र रहेको छ ।
प्राप्त तथ्याङ्कले के कुरा उजागर गरेको छ भने हरेक वर्ष आयात व्यापारको प्रवृति बढ्दो र निर्यात व्यापार चांहि खस्कदो अवस्थामा रहेको छ । अघिल्लो आर्थिक बर्ष २०७१।०७२ मा कुल व्यापारमा आयातको हिस्सा ९०.०१ प्रतिशत र निर्यात व्यापारको हिस्सा ९.९ प्रतिशत, आर्थिक बर्ष २०७२।०७३ मा आयात व्यापारको हिस्सा ९१.७ प्रतिशत र निर्यात व्यापारको हिस्सा ८.३ प्रतिशत रहेको छ ।
मुुलुकको अर्थतन्त्रको परिसुचकको रुपमा कुल गार्हस्थ उत्पादनलाई लिने गरिन्छ । कुल गार्हस्थ उत्पादनसँगको वैदेशिक व्यापारको अनुपातले पनि आयात व्यापारको बढ्दो प्रवृतिलाई उजागर गरेको छ । आर्थिक वर्ष ०६९।०७० मा कुल गार्हस्थ उत्पादनमा आयात व्यापारको अनुपात ३०.२ प्रतिशत रहेकोमा त्यसपछिका बर्षहरुमा यो अनुपात झन बढ्दै गएको छ ।
आ.व. ०६९।०७० मा ३८.८ प्रतिशत आ.व. २०७१।०७२ मा ३६.४ प्रतिशत, आ.व. २०७२।०७३ मा ३५.१ प्रतिशत रहेको छ भने निर्यात व्यापारको अनुपात ठीक उल्टो दिशामा घट्दै गएको छ । आर्थिक बर्ष ०६८।०६९ मा कुल गाहस्र्थ उत्पादनमा निर्यात व्यापारको अनुपात ४.९ प्रतिशत रहेकोमा त्यस पछिका ४ वटा आर्थिक बर्षहरुमा क्रमशः ४.५ प्रतिशत, ४.७ प्रतिशत, ४ प्रतिशत र ३.३७ प्रतिशत रहन पुगेको छ ।
आयात व्यापार चाहिं बढ्दै जाने र निर्यात व्यापार खस्कदै जादा कुल गाहस्र्थ उत्पादनमा व्यापार घाटाको अनुपात पनि बढ्दै गएको छ । आर्थिक बर्ष ०६८।०६९ मा कुल गाहस्र्थ उत्पादनमा व्यापार घाटाको अनुपात २५.३ प्रतिशत रहेकोमा त्यस पछिका आर्थिक बर्षहरुमा व्यापार घाटाको अनुपात झन बढ्दै गएको छ, जसअनुसार आ.व. ०६९।७० मा २८.३ प्रतिशत, आ.व. २०७०।०७१ म ३१.७ प्रतिशत आ.व. ०७१।०७२ मा ३२.५प्रतिशत , र आ.व. ०७२।०७३ मा ३१.८ प्रतिशत रहेको छ । प्रस्तुत तथ्याङ्कबाट पनि नेपालको वैदेशिक व्यापारको नाजुक अवस्थाको उजागर गरेको छ ।
नेपालको वैदेशिक व्यापार मूलतः भारत केन्द्रीत रहदै अएको छ । कुल आयात मध्ये भारत संगको हिस्सा आ.व. २०७१।०७२ मा ६३.५प्रतिशत आ.व. २०७२।०७३ मा ६१.५ प्रतिशत र आ.व. २०७३।०७४ को ११ महिना सम्ममा मात्र ६५.३ प्रतिशत रहेकोछ । वाँकी आयात चिन लगायत अन्य मूलुकबाट हुने गरेको छ । चीन सँगको आयात व्यापारको हिस्सा १४प्रतिशत रहेको देखिन्छ ।
नेपालको वैदेशिक व्यापारको यस किसिमको असन्तुलित अवस्थाको श्रृजना राता रात वा १/२ बर्षमा भएको होइन, यो त विगत ३ दशक देखि सरकारले अवलम्वन गरेको नव उदारवादी पूँजीवादी अर्थनीति अन्तरगतको खुल्ला उदार, व्यापार नीतिको परिणाम हो ।
नेपाल विश्व व्यापार संगठनको सदस्य भएपछि त , विना रोकटोक ढंगले बहुराष्ट्रिय कम्पनी र त्यसले उत्पादन गरेका बस्तुहरु बेरोकटोक नेपाली वजारमा भित्रिने वातावरण बढ्यो । सरकारले व्यापार उदारिकणको नीति अन्तर्गत आयात व्यापारलाई खुकुलो बनाउने नीति अख्तियार गर्यो ।
बहुराष्ट्रिय कम्पनीबाट उत्पादित बस्तुको नेपाली बजारमा प्रवेश हुन थाले पछि स्वदेशी उद्योगहरु धरासायी बन्न थाले । नेपाली उद्योगहरुका लागि चाहिने आवश्यक कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्दा , भन्सार विन्दुमा नै कच्चा पदार्थको भन्सार महशुल दर उच्च हुने भएका कारण पनि नेपाली उद्योगधन्दाबाट उत्पादित बस्तु बहुराष्ट्रिय कम्पनीका वस्तु भन्दा महंगो पर्न गएका कारण नेपाली उद्योगहरु क्रमशःधाराशायी बन्न थाले ।
उदार व्यापार नीतिका कारण उद्योग धन्दा संचालन गर्नु भन्दा आयात व्यापार गरेर मुनाफा आर्जन गर्न व्यवसायीहरुलाई सजिलो भयो । उद्योगको तुलनामा व्यापार व्यवसायमा जोखिम कम हुने कारण पनि लगानीकर्ताहरुले उद्योगधन्दा संचालन गर्न भन्दा पनि व्यापारिक पूँजीवाद अन्तरगत व्यापार व्यवसायमा केन्द्रीत भएका कारण पनि नेपाली वजारमा आयात व्यापारको चाप बढ्दै गएको छ । व्यापारिक पूँजीवादले मुलुकमा रोजगारी बृद्धि गर्न सकेन, यसले गर्दा पनि मुलुकमा बेरोजगारी संख्या झन् बढ्दै गएको छ ।
यसै गरी नेपालबाट निर्यात हुने वस्तुहरुमा खास गरी भारत सरकारले लगाउने गरेको करका कारण पनि नेपाली उत्पादित बस्तुहरु सहज ढंगले निर्यात हुन नपाउँने र भारतीय वस्तुभन्दा महंगो पर्ने भएका कारण पनि निर्यात व्यापार खस्कदै गएको छ ।
यसरी वैदेशिक व्यापारमा देखा परेको असन्तुलित स्थितिले व्यापार घाटा बर्षेनी बढ्दै गई मुलुकको अर्थतन्त्र आत्म निर्भर हुनुको सट्टा परनिर्भर बन्न पुगेको छ । अर्थतन्त्र परनिर्भर बन्दा, राष्ट्र र जनताले के कस्तो दुःख कष्ट र नोक्सानी व्यहोर्नु पर्दोरहेछ भने कुरा त, २ बर्ष अगाडी भारत सरकारले लगाएको नाकावन्दीबाट हामीले पाठ सिक्नु जरुरी छ ।
मुलुकको राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न पनि मूलुकको अर्थतन्त्रलाई सवल एवं आत्मनिर्भर बनाउन जरुरी छ । यसका लागि प्रथमतः मूलुकमा आवश्यक पर्ने दैनिक उपभोग्य बस्तु र निर्यात सामाग्रीहरुको मूलुक भित्रै उत्पादन गर्नका लागि मूलुकलाई औद्योगिकरणको दिशामा मुलुकलाई अगाडी बढाउनु पर्दछ । खास गरी ७ वटै प्रदेशमा मेघा प्रोजेक्ट संचालन गरि सिमेन्ट, मल, कागज, कपडा जस्ता उद्योग कलकारखाना स्थापना गर्नु पर्दछ ।
मूलुक संघीयतामा गई सकेको छ । यस सन्दर्भमा, ७४४ वटै स्थानीय तहमा स्थानीय सरकार गठन हुदैछ । अव स्थानीय तहमा नै दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीमा आत्मनिर्भर हुने गरि, स्थानीय तहको वातावरण, हावापानी, कच्चा पदार्थको उपलव्धता आदिका आधारमा “एक स्थानीय तह एक उद्योग”, स्थापना गर्न जोड दिनुपर्दछ ।
कृषि क्षेत्रमा उत्पादन बढाउन पर्याप्त सिंचाई, मल, र प्रविधि सहित कृषिको आधुनिकीकरण र व्यवसायीकरणको माध्यमबाट, खाद्यान्न उत्पादन बृद्धि गर्न जोड दिनु पर्दछ । खेतीयोग्य बाँझो जग्गा जमीन लाई सहकारीका माध्यमबाट पूर्ण सदुपयोग गरि, उत्पादन बढाउन जोड दिनुपर्दछ ।
पेट्रोलियम पदार्थको आयातलाई न्युन गर्न सुविधा सम्पन्न, साझा वसहरु संचालन गरि साना गाडीहरुको प्रयोगलाई क्रमशः विस्थापित गर्नुपर्दछ । विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्सहान गर्नु पर्दछ ।
जलविद्युत क्षेत्रको विकासमा लगानी बृद्धि गरि विद्युत उत्पादनमा बढोत्तरी ल्याई विद्युतको माग र आपूर्तिलाई सन्तुलित बनाउनु पर्दछ । बैदेशिक मुद्रा आर्जनमा बृद्धि गर्न पर्यटन क्षेत्रको विकाशमा जोड दिनुपर्दछ । धार्मिक पर्यटनका माध्यमबाट विदेशी पर्यटकहरु भित्र्याउन सक्ने प्रचुर संभावना रहेको हुँदा, पुरातात्विक एवं धार्मिक पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गरि पर्यटकहरुलाई आकर्षित गर्नुपर्दछ ।
बढ्दो व्यापार घाटा र परनिर्भर अर्थतन्त्रले मुलुकको राष्ट्रियता, स्वाधिनता र सार्वभौमिकतामा गंभीर चुनौती खडा गर्दछ । अतः बैदेशिक व्यापारलाई देशगत र वस्तुगत विविधीकरणको नीति अवलम्वन गरी निकासी जन्य वस्तुहरुको निर्यात व्यापारमा बृद्धि गर्नुपर्दछ भने, स्वदेशभित्रै उपभोग्यवस्तुहरुको उत्पादन बृद्धि गरी आयात प्रतिस्थापन गर्ने नीति अवम्लवन गर्नु पर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस