Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रा उद्यमी : पूर्वमिस नेपाल अनुष्काको अष्ट्रेलियादेखि माक्कुसेसम्मको उद्यमशीलताको यात्रा

धिरज पौड्याल

बुधबार, २७ पुस २०७९, १२ : २० मा प्रकाशित

हाम्रा उद्यमी : पूर्वमिस नेपाल अनुष्काको अष्ट्रेलियादेखि माक्कुसेसम्मको उद्यमशीलताको यात्रा

नेपाल विभिन्न स्वादले भरिपूर्ण रहेको छ तर पनि दशकौँदेखि ती स्वादहरुको पहिचान र व्यवसायिकताको अभाव भने खड्की रहेको छ । मिस नेपाल २०१९ उपाधि विजेता अनुष्का श्रेष्ठ अहीले मौलिक नेपाली स्वादलाई विश्वभर पुर्याउन लागी परीरहेकी छन्। 

अष्ट्रेलियाको उच्च अध्ययन पछि नेपाल फर्किएर, मिस नेपालको उपाधिका लागि प्रतिस्पर्धा गरेकी अनुष्का उपाधि विजेता भइन् । उपाधि पछि उनी उद्यमशीलतासँग जोडिनुलाई त्यसबेला सबैले फरक तरिकाले हेरे। हामी अनुष्काको अष्ट्रेलियादेखि माक्कुसेसम्मको उद्यमशीलताको यात्रा बुझ्न उनको उद्यम स्थल माक्कुसे पुग्यौँ । उनको उद्यमशीलताको यात्राको सुरुवातको कुराबाट हामीले संवादलाई अगाडि बढायौँ । 

उद्यमशीलताको यात्रा मिस नेपालपछि मात्र सुरु भएको अनुष्का बताउँछिन्। उनी भन्छिन्, “कमर्स पढ्दै गर्दा परीक्षामा उद्यमशीलताबारे धेरै लेखियो, राष्ट्र रूपान्तरणको लागि उद्यमशीलता विकास आवश्यकता छ भन्ने लेखियो तर आफूले सक्छु जस्तो भने लाग्ने थिएन । जागिरे परिवारबाट हुर्किएको हुनाले बिजनेस गर्नु भनेको बिना कारण टेन्सन लिनु हो जस्तै लाग्थ्यो । जागिर गर्यो भने ढुक्क १० बजेदेखि ५ बजेसम्म काम गर्यो घरमा आयो आफ्नो कामलाई पनि समय पाइने समय समयमा बिदा पनि। व्यापार व्यवसाय गर्नु हुँदैन भन्ने सोच थियो ।”

उनी थप्छिन्, “म आफू उद्यम गर्न सक्दिन की जस्तो लाग्थ्यो। आफ्नो काम गर्न एउटा जुन आँट चाहिन्छ त्यो ममा छैन जस्तो लाग्थ्यो, एउटा राम्रो कम्पनीको म्यानेजरसम्म हुन्छु भन्ने लाग्थ्यो तर मिस नेपालमा सहभागी भएपछि त्यो सोचाइमा परिवर्तन आयो।” 

कक्षा १२ सम्मको अध्ययन नेपालमा गरेपश्चात् स्नातक तहको अध्ययनको लागि अनुष्का अष्ट्रेलिया पुगिन्। उनको अष्ट्रेलियाको बसाई सहज भने थिएन। स्नातकमा B.com गर्न अष्ट्रेलिया पुगेकी अनुष्काले अध्ययनसँगै म्याकडोनाल्डमा कस्टोमर सर्भिसको काम सुरु गरिन्। 

उनले जहाँ क्लिनिङबाट काम सुरु गरेको थिइन् पछि उनले त्यही अफिसमा अकाउन्टेन्टको रूपमा कार्य गरिन्।

युनिभर्सिटीको सिफारिसमा भ्याटिकन सिटीमा KPMG अन्तर्गतको अकाउन्टिङ फर्ममा ३ महिना इन्टर्नसिप पछि उनी पुनः अष्ट्रेलिया फर्किइन् र विश्वविद्यालयमा विद्यार्थी सल्लाहकार र फाइनान्स अफिसरको रूपमा कार्य गरिन्। २ वर्ष विश्वविद्यालयमा नै काम गरेपछि उनले आफ्नाे ग्रोथ र सिकाईको लागि कमन वेल्थ बैंकमा कार्य गरिन् । उनी बैङ्कमा कार्यरत रहँदा रहँदै बैङ्कको जागीर छाडेर मिस नेपालमा प्रतिस्पर्धा गर्न नेपाल फर्किइन्। 

अष्ट्रेलिया बसाई , सिकाई अनुभव र मिस वर्ल्डको सहभागिता अनुष्काकाे उद्यमशीलता यात्राको  कोषेढुङ्गा बन्न पुग्यो।

“मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व पश्चात मैले उद्यमशीलता के हो भन्ने प्रश्नको उत्तर खोजेँ, उद्यमशीलता आफूसँग उपलब्ध भएको स्रोत साधनलाई परिचालन गरी एउटा उद्देश्य पूरा गर्नु हो। हामीले मिस नेपालमा त्यही गरेको थियौँ, हामीले ७ महिनाको अवधिमा नेपाललाई मिस वोर्ल्डमा प्रतिनिधित्व गर्न सीमित अवधिमा उपलब्ध स्रोत साधन परिचालन तयार गर्नुपर्ने कुराहरू तयार गरेका थियौ। यो मलाई रमाइलो लाग्यो, वास्तवमा आफ्नो काम गर्नुपनी त्यही हो, एउता गोल हुन्छ आफूसँग भएको स्रोत साधनलाई परिचालन गरी सानो सानो गर्दै जाने हो। यो अनुभवबाट पछि म आफ्नो काम गर्न सक्छु भन्ने आँट आयो।”, अनुष्का बताउँछिन्। 

उनी भन्छिन्, “मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै म स्टेजमा प्रतिस्प्रधा गर्दै गर्दा यता नेपाल Vote For Nepal-Vote For Anushka भन्दै तातिरहेको थियो, के त्यो ऊर्जा र विश्वास १४ डिसेम्बर २०१९ मा मिस वर्ल्डको स्टेजमा सकियो त ?  हैन मलाई र नेपाललाई दिनुभएको माया कायम राख्न केही गर्छु भन्ने लागेको थियो यो नै गर्छु भन्ने थिएन।”

“माक्कुसे यो गर्छु नै भन्ने आइडिया बाट भन्दापनि कुराकानीबाट आएको हो । मेरो मेन्टर उत्तम भ्लो सर, मिङमा तामाङ्ग सर र श्याम तामाङ सरले सल्लाहकै क्रममा मलाई ‘तपाईँको गुँदपाक पुष्टकारी यस्तो राम्रो छ तपाईंहरुलाई यसको भ्यालु छैन, यस्ताे खत्रा चीज छ यसको केही गर्नुपर्छ ' भन्नुभयो । मैले सोचेको पनि थिएन खाद्य सम्बन्धी केही गर्छु भन्ने , उहाँहरुले तिमी गर्ने भए लीड गर हामी साथ, सपोर्ट गर्छौ गाइड गर्छौ भन्नुभयो। काठमाडौंमा हुर्किएको भए पनि मैले गुँदपाक पुष्टकारी खाएको थिएन।”, अनुष्का बताउँछिन्। 

उनी थप्छिन् , “जब मैले पहिलाे पल्ट खाए त्यो मोमेन्ट मेरो लागि मैले यसैमा केही गर्नेछु भन्ने भयो। यो यस्तो मिठो चीज छ यसमा कसैले किन गरिरहेको छैन, केही न केही गर्नुपर्छ भन्ने सोच आयो। २०२० को जनवरीमा यो सोच आएको थियो । त्यसपछि  ८- ९ महिना विभिन्न रिसर्च एण्ड डेभलपमेन्टमा  लाग्यौँ। गुँदपाक पुष्टकारीसँग रेस्टुरेन्ट खोल्ने की, निर्यात गर्ने की केक बनाउनेकी के बनाउने भन्नेमा हामी फ्याक्ट्री किचेनमा ४५/५० रेसियो ट्रई गर्यौ । यो अवधिमा कुन स्वाद बनाउने, कसरी ब्रान्डिङ गर्ने, के भनेर बोलाउने लगायतका विभिन्न प्रक्रिया गर्यौ। नाम के राख्नेमा सोचिरहेका थियौं, मैले ममीसँग गुँदपाक, पुष्टकारी लाई नेवारीमा के भन्छ भनी सोधेँ, ‘उहाँले खै हामी त नेवारीमा मककुसे, माक्कुसे भन्छौ’ जवाफ दिनुभयो । माक्कुसेको अर्थ बयान नै गर्न नसकिने अर्कै मिठो स्वाद हो जुन हामीले बनाइरहेको प्रोडक्टको लागि अर्थपूर्ण नाम थियो । हामीले माक्कुसे नाम राख्यौं, माक्कुसे मौलिक नेपाली लक्जरी डेजर्टको रूपमा हामीले कुराकानी सुरु गरेको १०-११ महिना पछि आएको थियो।”

४ जनाबाट सुरुवात भएको माक्कुसेमा अहिले २३ जनाको समूह कार्यरत रहेका छन् । 

“माक्कुसे सुरुवातको चरणमा रहेको बेला काभिडको पहिलो वेभ चलिरहेको थियो। त्यो अवधिमा हामीलाई रिसर्च एण्ड डेभलपमेन्टको अवधि केही लामो भयो। त्यसपछी परिस्थिति प्रतिकूल रहेको थियो, कोभिडले हामीलाई स्वदेशी वस्तु उपभोगमा जोड दिन मद्दत गर्यो। अहिले हामीले प्रयोग गर्ने प्याकेजिङदेखि धेरै कुराहरु नेपालमै भएका उत्पादन हुन् अझ हामी महीले गर्ने उत्पादनलाई प्रोत्साहन गर्ने गर्छौ। आयत सहज भएको भए हामीले पनि आयत नै गर्ने थियौं होला, हामीले यहाँका उत्पादन खोज्यौ। कोभिडले विकल्प खोज्न मद्दत गर्यो अहिले हामी वास्तवमै मेड इन नेपाल हौ। अझैं चुनौती हरु छन् तर नेपालमै वस्तुहरू बन्छन्।”, अनुष्काले सुनाइन्। 

उनले थपिन्,“माक्कुसेमा दैनिक रूपमा काभ्रेबाट खुवा आउने गर्दछ। त्यो उचाइमा बनाइएको खुवाएको स्वाद नै वास्तवमा विशेष हो। उकाठमाडौंमा ठुलो भर्याङमा रहेको फ्याक्ट्रीबाट माक्कुसे उत्पादन हुन्छ । हाल माक्कुसे ४ स्वादको गुँदपाक, पुष्टकारी र ४ स्वादको कुकिज उत्पादन गरिरहेको छ। माक्कुसेले गर्दा अहिले विदेशबाट आएका नेपाली विदेश फर्किदा साथीहरूलाई के उपहार लगिदिने भन्दा पहिला हुने अलमल मेटिएको छ। उहाँहरू विदेश जाँदा साथीहरूलाई हाम्रो उत्पादन उपहारको रूपमा लैजाने गर्नुभएको छ। “

“यो यात्रा चुनौतीपूर्ण थियो तर केही न केही गर्नु थियो। यो सोच नभएको भए कोभिडको समयमा झन् ग्राहो हुने थियो। कोभिडको समयमा केही न केही भने गरिरहेका थियौँ। सुरुवातमा नाफामुलक बन्न नसकेपनि हामीले हामीसँग काम गरिरहनुभको लाई तलव दिन सक्ने भएका थियौ। कोभिडको समयमा पत्रिकामा दुध फर्किएको तस्विरहरू चर्चित थिए, केही गर्न सक्दिँन भन्नेलाई केही गर्न आँट पक्कै मिलेको थियो। मलाई समाज सेवा भन्दापनि सशक्तिकरणमा काम गर्नु थियो। त्यो फोटो देख्दा मलाई आफ्नो व्यवसाय भएको भए दूध खरीद गर्न सक्थेँ लागेको थियो, म एक्लै त के गर्न सक्थे र। सशक्तिकरणले रोजगारी सृजनामा मद्दत गर्दछ यो कुराले आफूमा आँट नभएपनि गर्न सकेँ।”, अनुष्काले बताइन् । 

*Hello Enterpreneur, If you want to get featured on Arthasansar.com mail us at [email protected] or [email protected] 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको