Like us!
Follow us!
Connect us!
Watch us!

आजका प्रमुख समाचार छुट्याे की ? दिनभरकाे आर्थिक समाचार एकैठाउँमा

अर्थ संसार

बुधबार, ०४ माघ २०७९, १७ : ५० मा प्रकाशित

आजका प्रमुख समाचार छुट्याे की ? दिनभरकाे आर्थिक समाचार एकैठाउँमा

आज (माघ ४ गते, बुधबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. रिडी पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीकाे आज माघ ४ गते बुधबार बिहान बसेको सञ्चालक समितिकाे बैठकले कम्पनीले २० मेगावाट क्षमताको तल्लो वलेफिखोला जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वः पूँजी व्यवस्थापन गर्न कम्पनीको बाेनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीकाे १ः०.५० को अनुपातमा १०० अंकित दरका ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद निष्कासन गर्ने निर्णय गरेकाे हाे ।

२. फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिसम्म आइपुग्दा संस्थाकाे नाफा ३९ प्रतिशतले बढेर १४ करोड ४४ लाख रुपैयाँ पुगेकाे छ । संस्थाको सञ्चालन मुनाफा पनि २१.६३ प्रतिशत र खुद व्याज आम्दानी पनि २६.४६ प्रतिशतले बढेको छ । संस्थाको ईपीएस २५ रुपैयाँ १८ पैसा पुग्दा नेटवर्थ १३३ रुपैयाँ २७ पैसा रहेको छ ।

३. . सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र  वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन गरेकाे छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा आयोजना प्रभावित स्थानीयको लागि ३३ लाख ३२ हजार ५ सय कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  ४ लाख ९९ हजार ८ सय ७५ कित्ता आईपीओ निष्कासन गरेकाे हाे । स्थानीय तथा वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा स्थानियले छिटोमा माघ १८ गतेसम्म र ढिलोमा फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने माघ १८ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् ।

४. युुनियन लाईफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको ५ औँ वार्षिक साधारण सभा माघ २६ गते, विहिबार टाइगर प्यालेस रिसोर्ट, भैरहवामा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । सभाले सेयरधनीलाई ८.९७% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले हाल कायम संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर सरचनालाइ परिमार्जन गरी ५१ः४९ को अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सभाले गुँरास र प्राइम लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० विन्दुमा झरेकाे छ । नेप्से ०.४१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.९३ अंकले घटेर ४१३.९० विन्दुमा झरेको छ । कूल २४८ वटा कम्पनीकाे एक कराेड ३३ लाख ४ हजार एक सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६ सय २ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । बजार घट्दा पनि हाइड्राेपावर कम्पनीहरूमा भने लगानीकर्ताहरूकाे आकर्षण कायमै छ ।

६. शिखर इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको १७ औँ र १८ औँ वार्षिक साधारण सभा माघ २५ गते, बुधबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभाले कम्पनीका  सेयरधनीहरूलाई  हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले सर्वसाधारणका लागि  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ लाख ९२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा माघ १७ गतेदेखि ढीलाेमा माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

८. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) विभिन्न ३ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । मेगा बैंक नेपाल लिमिटेडकाे ४ प्रतिशत बोनस बापतको ६४ लाख ४८ हजार एक सय ८४ दशमलव ५८ कित्ता, रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ४ लाख ४८ हजार ४ सय ७६ दशमलव ०५ कित्ता र गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ७.४४२५ प्रतिशत बोनस बापतको १५ लाख ५१ हजार २ सय कित्ता सेयर सूचिकृत भएको हो ।

९. रिडी पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको २१औँ वार्षिक साधारण सभा माघ २९ गते, आइतबार हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १८ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

१०. नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंक र ४ वटा फाइनान्सलाई कारबाही गरेको छ । राष्ट्र बैंककाे सुपरिवेक्षण विभागले पहिलाे त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएकोलाई कारबाही गरेको जानकारी दिएकाे छ । राष्ट्र बैंककाे कारबाहीमा पर्ने विकास बैंकहरूमा कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलप्मेन्ट बैंक र सालपा विकास बैंक लिमिटेड रहेका छन् । त्यस्तै, फाइनान्सहरूमा नेपाल फाइनान्स कम्पनी लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, र प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेड रहेका छन् ।

११.  बुधबार सुनकाे भाउ ताेलामा ६ सय रुपैयाँले घटेर प्रतिताेला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको