Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले छुटाउनै नहुने बिहिबार दिनभरका आर्थिक समाचार

अर्थ संसार

विहीबार, ०५ माघ २०७९, २२ : ४४ मा प्रकाशित

आज माघ ५ गतेकाे प्रमुख समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज माघ ५ गतेदेखि पहिलाे चरणकाे आईपीओ निष्कासन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा ११ लाख २० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३६ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेकाे हाे । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा स्थानियले छिटोमा माघ १९ गतेसम्म र ढिलोमा फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने माघ १९ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् ।

२. ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ८ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

३. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

४. आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिसम्म आइपुग्दा संस्थाकाे नाफा ६३ प्रतिशतले बढेर ७ करोड ९४ लाख १४ हजार रुपैयाँ पुगेकाे छ । संस्थाको सञ्चालन मुनाफा पनि ६२.८८ प्रतिशत र खुद व्याज आम्दानी ५६.३४ प्रतिशतले बढेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ७३ पैसा पुग्दा प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा रहेको छ ।

५. साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा पुगेकाे छ । नेप्से ०.२६ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि १.१५ अंकले बढेर ४१५.०५ विन्दुमा झरेको छ । कूल २४६ वटा कम्पनीकाे ८२ लाख ४७ हजार ६ सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३ सय २९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

६. मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १५ गतेदेखि पहिलाे चरणकाे आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयलाई ७ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ५२ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । यस आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक राेजगारीमा गएका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा माघ २९ गतेसम्म  आईपीओ भर्न सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आवेदन दिने म्याद फागुन १५ गतेसम्म लम्बिनेछ ।

७. स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले आफ्नो संस्थापक सेयरधनी नबिल बैंक लिमिटेडको नाममा रहेको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । सेयरको न्यूनतम मूल्य ५५५ रुपैयाँ प्रतिकित्ता तोकिएको छ । इच्छुक व्यक्तिले माघ २४ गतेभित्र कम्पनीको बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।

८. अब वाणिज्य बैंकले निक्षेपकर्तालाई त्रैमासिक रुपमा मात्र ब्याज दिने भएका छन् । बैंकर्स संघको बैठकले अब त्रैमासिक रुपमा मात्र ब्याज प्रदान गर्ने निर्णय गरेको हाे । दैनिक वा मासिक रुपमा ब्याज दिने भन्दै बैंकहरुले निक्षेप संकलनमा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेपछि संघले नै निर्णय गरेर अब त्रैमासिक रुपमा मात्र ब्याज दिने निर्णय गरेको हो ।

९.  मंसिर महिनाको तुलनामा पुस महिनामा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार पुस महिनामा ३८ हजार ८ सय ७१ वटा घरजग्गाको लिखत पास भएको छ । जसबाट सरकारले ३ अर्ब ७१ करोड रुपैयाँ घरजग्गाको कारोबारबाट राजस्व संकलन गरेको छ ।

१०. बिहीबार सुनकाे मूल्य स्थिर रही  प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा नै काराेबार भएकाे छ । बिहीबार चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर १३ सय ५५ रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको