Like us!
Follow us!
Connect us!
Watch us!

मध्यपूर्वमा तनाव थप चर्कियो, युद्धविरामबीच इरानमा अमेरिकी हमला

अर्थ संसार

विहीबार, १४ जेठ २०८३, १२ : ३४ मा प्रकाशित

मध्यपूर्वमा तनाव थप चर्कियो, युद्धविरामबीच इरानमा अमेरिकी हमला

अमेरिका र इरानबीच जारी तनावका बीच अमेरिकी सेनाले फेरि इरानको बन्दर अब्बास क्षेत्रमा सैन्य आक्रमण गरेको छ । पछिल्ला तीन दिनभित्र अमेरिकाले गरेको यो दोस्रो हमला हो ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले स्ट्रेट अफ हर्मुज आसपास खतराका रुपमा देखिएका चार इरानी ड्रोन खसालिएको जनाएको छ । सेन्टकमका अनुसार बन्दर अब्बासस्थित एक सैन्य स्थलबाट अर्को ड्रोन प्रहारको तयारी भइरहेका बेला उक्त स्थानमा आक्रमण गरिएको हो । इरानी सञ्चारमाध्यमहरुले बन्दर अब्बासको पूर्वी क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताएका छन् । इरानले अमेरिकी कारबाहीलाई युद्धविरामको गम्भीर उल्लंघन भन्दै कडा विरोध जनाएको छ । इरानी सरकारले कुनै पनि शत्रुतापूर्ण गतिविधिको जवाफ दिइने चेतावनीसमेत दिएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अमेरिकी हमलाको जवाफस्वरुप एक अमेरिकी हवाई अड्डा मा आक्रमण गरिएको दाबी गरेको छ । साथै, अमेरिकी आक्रामकता जारी रहे थप कडा जवाफ दिइने चेतावनी पनि दिएको छ । कुवेतको सेनाले भने आफ्नो वायु प्रतिरक्षा प्रणालीले शत्रुतापूर्ण मिसाइल र ड्रोनहरुलाई अवरोध गरेको जनाएको छ ।

यसैबीच, इजरायली सेनाले दक्षिणी लेबनानका सम्पूर्ण बासिन्दालाई जाह्रानी नदीभन्दा उत्तरतर्फ जान निर्देशन दिँदै दक्षिणी क्षेत्रलाई युद्ध क्षेत्र घोषणा गरेको छ । सहायता निकायहरुले दक्षिणी लेबनानमा मानवीय संकट गहिरिँदै गएको चेतावनी दिएका छन् । यसअघि सोमबार पनि अमेरिकाले दक्षिणी इरानका मिसाइल स्थल र होर्मुज जलडमरुमध्यमा माइन बिछ्याउने प्रयास गरिरहेका डुंगाहरुलाई लक्षित गरी आक्रमण गरेको थियो । अमेरिकी पक्षले ती कारबाही आत्मरक्षाका लागि गरिएको दाबी गरेको छ ।

तीन महिनादेखि जारी युद्ध र तनावका कारण विश्वकै महत्वपूर्ण तेल मार्ग मानिने होर्मुज जलडमरुमध्य प्रभावित बनेको छ । यसले विश्व ऊर्जा बजारमा दबाब बढाएको र तेलको मूल्य उकालो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा अझै सन्तुष्ट नभएको बताएका छन् । उनले आवश्यक परे फेरि ठूलो सैन्य कारबाही हुन सक्ने चेतावनी पनि दिएका छन् । इरान र अमेरिकाबीच युद्ध अन्त्यका लागि वार्ता भइरहे पनि पछिल्ला घटनाले युद्धविराम थप कमजोर बन्ने संकेत देखिएको विश्लेषण गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको