Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा, ९ वटा वाणिज्य बैंकलाई कारबाही

अर्थ संसार

बुधबार, २५ माघ २०७९, १८ : ०५ मा प्रकाशित

बुधबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा फागुन १० गते गतेसम्म ढीलोमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

२. नबिल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । बैंककाे साधारण सभाबाट पारित गरिएकाे ११ दशमलव ५ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरेकाे हाे । बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

३.  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा झरेकाे छ । नेप्से ०.३३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.८७ अंकले घटेर ४१४ विन्दुमा झरेकाे छ । कूल २५७ वटा कम्पनीकाे एक कराेड ५ लाख २ हजार ६ सय ४९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८ सय १७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । बुधबार नेप्से परिसूचक घट्दा काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ ।

४. हिमालयन बैंक लिमिटेडले प्राप्ति गर्न लागेकाे सिभिल बैंक लिमिटेडका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । एक्विजिसनको क्रममा कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरुले आन्दोलन सुरू गरेका हुन् । एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएकोमा विरोध जनाउँदै आज बिहान १० बजेदेखि २ घण्टाका लागि देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू गरेका थिए । बैंकका कर्मचारीहरूले व्यवस्थापन समूहलाई दबाब बढाउन याे कदम चालेका हुन् । सिभिल बैंक लिमिटेडमा सुपरभाइजर भन्ने तह रहेकाे छ । यता हिमालयन बैंकमा भने सुपरभाइजर भन्ने तह खारेज भइसकेको छ । एक्विजिसनपछि सिभिल बैंकका सुपरभाइजर तहका कर्मचारीहरू पनि हिमालयन बैंकमा सिनियर असिस्टेन्ट हुने भएपछि याे समस्या उत्पन्न भएकाे हाे ।

५. नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । प्रभु बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, तत्कालिन बैंक अफ काठमाडाैँ लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडले सम्पति शुद्धिकरण सम्बन्धी निर्देशन उल्लंघन गरेपछि राष्ट्र बैंकले यी ४ वटा बैंकलाई ५० लाख रुपैयाँका दरले जरिवाना तिराएको छ । यता प्रभु बैंकलाई कर्जा सूचना तथा कालो सूची सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंकले सचेत पनि गराएको छ । यता, कर्जा लगानी गरेपश्चात प्रिमियम दर वृद्धि गरेको तथा डिस्काउन्ट प्रदान गरेको भन्दै तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । सानिमा बैंकले तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएपछि र नबिल बैंकले ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएकोे छ ।

६. शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईवटा आर्थिक वर्षको १७ औँ र १८ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएकाे छ । सभाले सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका  सेयरधनीहरूलाई  हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

७. भारतीय रिजर्भ बैंक (आरबीआई) ले फेरि ब्याजदर बढाएकाे छ । आरबीआईले रिपो दर २५ आधार विन्दु वा ०.२५ प्रतिशत बढाएको हो। योसँगै रिपो दर ६.२५ प्रतिशतबाट बढेर ६.५० प्रतिशत पुगेको छ । यसपछि सबै प्रकारका ऋण महँगो हुनेछन् । देशमा मुद्रास्फीति नियन्त्रणमा आएपछि पनि आरबीआईले ब्याजदर बढाउने निर्णय गरेको हो ।

८. महंगी र चर्को व्याजदरविरुद्ध नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने जानकारी दिएका हुन् ।

९. अब सिम र मोबाइल एउटै व्यक्तिको नाममा भएपछि मात्रै फाेन चल्ने प्रणाली आउने भएकाे छ । नेपाल दूरसञ्चार प्राधिकरणले अब मोबाइल र सिम एकै व्यक्तिको नाममा दर्ता हुनुपर्ने प्रावधान र प्रणालीको विकास गर्न लागेकाे जानकारी दिएकाे छ । अब मोबाइलको आइएमइआइ नम्बर र सिम कार्ड एकै व्यक्तिको नाममा दर्ता भएपछि मात्रै मोबाइल सेट चल्ने प्रणालीको विकास गर्न लागेकाे हाे ।

१०. बुधबार सुनकाे भाउ ताेलामा २ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १३ सय १५ रुपैयाँ पुगेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको