नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराज (अथक) ले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन । प्रेस सेन्टर, बाँकेको साधारणसभा तथा विशेष अधिवेशनमा सम्बोधन गर्दै उनले गणतन्त्र र संविधानमाथि फेरि पनि प्रहार हुन थालेकाले परिवर्तनका पक्षधरहरु एक हुनुपर्ने धारणा राखेका हुन ।
न्याय र समानताको पक्षमा पत्रकार जगत क्रियाशील हुनुपर्नेमा जोड दिदैं पूर्व मन्त्री अथकले देश र जनताको पक्षमा सधैं उभिरहने प्रतिबद्धता समेत जनाएका थिए ।
यस्तै, प्रेस सेन्टर, नेपालका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटाले जनताको ठूलो वलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको प्रमुख
दायित्व रहेको बताए ।
गाउँ गाउँमा पत्रकार उत्पादन गरेर ग्रामीण क्षेत्रका जनताको आवाजलाई सरकारसम्म पुर्याउने अभिभारा पूरा गर्नेतर्फ प्रेस सेन्टर नेपाल अग्रसर रहेको अध्यक्ष सापकोटाले बताए ।
आईतबार सम्पन्न साधारणसभा तथा विशेष अधिवेशनबाट राजेश आचार्यको नेतृत्वमा जिल्ला समितिको नयाँ कार्यसमिति समेत चयन गरीएको थियो । सो अवसरमा प्रेस सेन्टर, बाँकेले स्थापना गरेको क्रान्तिकारी पत्रकारिता पुरस्कारबाट डक्ट धिताल र बिरमि चन्द्र ग्रामीण पत्रकारिता पुरस्कारबाट आलम खान र कल्पना शाही सम्मानित भएका थिए ।
यस्तै, पत्रकारहरू सिराज खान, सुशील लामिछाने, शिव सुनार, प्रदीप वाग्ले, गजेन्द्र गुरुङ र हेमन्त चौधरीलाई पत्रकारिता क्षेत्रमा रहेर योगदान दिएकाले सम्मान गरिएको थियो ।
सो कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी, नेपालगन्ज उपमहानगरका उपप्रमुख प्रशान्त विष्ट, माओवादी केन्द्रका केन्द्रीय
सदस्यत्रय आईपी खरेल, पार्वती पुन र नरेन्द्र न्यौपाने, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विक, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईंलगायतले शुभकामना व्यक्त गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस