Like us!
Follow us!
Connect us!
Watch us!

५४ सांसदसहित ‘समाजवादी मोर्चा’ बन्दै: संसदमा खेल्ने भए निर्णायक भूमिका !

अर्थ संसार

शनिबार, ०२ असार २०८०, १० : ०० मा प्रकाशित

५४ सांसदसहित ‘समाजवादी मोर्चा’ बन्दै: संसदमा खेल्ने भए निर्णायक भूमिका !

५४ सांसदसहित समाजवादी मोर्चा निर्माणको तयारी अन्तिम चरणमा छ । मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल (जसपा), विप्लव नेतृत्वको नेकपा, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सहभागी हुने निश्चित छ । मोर्चामा सहभागी हुने पाँच दलले शुक्रबार ‘समाजवादी केन्द्र’ घोषणा गर्ने तयारी गरिरहेको थियो । तर, ती दलहरुले आन्तरिक तयारी नपुगेको भन्दै मोर्चा घोषणा केहीदिन पछाडि सारेका हुन् ।

समाजवादी मोर्चा बने दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति बन्न सक्छ । सरकारको स्थायित्व र गठन–विघटनमा मोर्चाविना जटिल समीकरण हुने देखिन्छ ।
संघीय शासन प्रणालीअनुरूपको नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको सैद्धान्तिक मान्यता छ । संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षतालगायत परिवर्तनका पक्षधरहरू मोर्चामा सहभागी हुन लागेको नेताहरूले बताएका छन् ।

यस मोर्चामा आफ्नो सहभागिता जनाउन इच्छुक रहेको भन्दै नेकपा (एकीकृत समाजवादी)ले भनिसकेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रिय सचिवालयको बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको पार्टीका महासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जनाएका हुन् । मोर्चाबारे निर्णय गर्न बसेको एकीकृत समाजवादीको बैठकपछि सो पार्टीका प्रवक्ता खतिवडाले एक–दुई दिनमा मोर्चा घोषणा हुने जानकारी दिए । 

त्यस्तै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी पनि समाजवादी मोर्चा बनाउन तत्पर रहेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उनले देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई अग्रगमनको दिशामा लैजानका लागि बृहत समाजवादी मोर्चा निर्माण गर्न गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी बनेको बताए । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले उक्त मोर्चामा सहभागी हुन तदारुकता देखाएको छ । त्यस्तै विप्लव नेतृत्वको नेकपाले पनि गुमेको शक्तिलाई पुनः जोड्न मार्चा आवश्यक रहेको बताइसकेको छ । 

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लामो कसरतपछि घोषणा गर्न लागिएको समाजवादी मोर्चा निर्माण किन भइरहेको हो भन्दै सम्पूर्णको चासोको विषय बनेको छ । आखिर किन बामपन्थीहरु एक हुन लागेको हो भन्ने प्रश्न यहाँ तेर्सिन्छ । के उनीहरु गुमेको शक्तिलाई पुनः जोड्ने र संसदमा आफ्नो गुणपुरक संख्या पुर्याउन त मोर्चा गठन गरिरहेका त छैनन् । 
यसो अहिलेको संसदको अंकगणित हेर्या भने मोर्चासँग माओवादी (३२), जसपा (१२) र एकीकृत समाजवादी (१०) गरी संसद्मा ५४ सिट एक ठाउँमा हुनेछ । यसले संसदमा ठूलो भूमिका निर्वाह गर्नेछ । मन नपरे संसदमा उनीहरुले कसैलाई पनि समर्थन नदिने पक्षमा रहेर मध्यावधि गराउन सक्छन् ।

उता नेपाली कांग्रेसका सभापति शेरबहादूर देउवा र आरजु राणा देउवा सिंगापुरमा छन् । उनीहरु पनि अमेरिकी बुलावामा सिंगापुर गएको विश्वस्त स्रोतले बताएका छन् । कांग्रेस अहिले सहभागी सरकारबाट पछि हट्न कसरत गरिरहेको बुझिन्छ । यदी कांग्रेसले अहिलको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट पछि हटे कसले सरकार बनाउन वा कसको बहुमत पुग्ने भन्ने अन्यौलता छाउँछ । मोर्चा बनिसकेपछि आउने दिनमा कस्तो प्रभाव पार्ला हेर्न बाँकी छ । 

एमाले र माओवादीबीच २०७५ जेठ ३ मा एकतापछि पार्टीको नाम नेकपा बनेको थियो । सर्वोच्च अदालतले २०७७ फागुनमा एमाले र माओवादी अलग गरिदिएपछि नेकपा विभाजन भएको थियो । त्यसबेला नेकपाभित्र तत्कालीन अध्यक्षद्वय केपी शर्मा ओली र दाहालबीच चरम विवाद भएको थियो । दाहालले केही दिनमा समाजवादी मोर्चा घोषणा हुने दाबीसमेत गरे । ‘समाजवादी मोर्चाको दस्ताबेज टुंग्याएका छौं, हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ,’ उनको भनाइ छ, ‘फेरि नेकपा बनाउने कोसिस भइरहेको छ । यसभित्र ठूलो अर्थ छ । जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन, यसलाई सबैले गम्भीर रूपमा सोच्न जरुरी छ । देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउँछौं ।’

एमालेले देशव्यापी संगठनमा पुनःसंरचना गरिरहेका बेला दाहाल र नेपालको यस्तो भनाइ आएको हो । मोर्चामा सहभागी ती दलहरुमा तत्काल पार्टी एकताको सम्भावना नभएपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालको पहलमा समाजवादी मोर्चा बनाएर समाजवादी केन्द्र निर्माण गरी कम्युनिस्टहरु एकताबद्ध हुने सहमति अनुसार नै समाजवादी केन्द्र बनाउने निर्णय भएको हो । तर, पार्टीहरुले औपचारिक निर्णय भने गरिसकेका छैनन् । 

एमाले भने यस विषय प्रति अनइच्छुक देखिएको छ । समाजवादी मोर्चा भयो भने नेपाली कांग्रेसलाई यसबाट सबै भन्दा धेरै घाटा हुने आँकलन भइरहेको छ । सोहि कारण पनि प्रचण्ड नेतृत्वको सरकारबाट कांग्रेस पछि हट्न सक्ने अनुमान भइरहेको छ । मोर्चाको नेतृत्व आलोपालो गर्ने गरी पाँच दलबीचमा सहमति भएको छ । अब नेपाली राजनीति निकै तरंगित हुने देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको