Like us!
Follow us!
Connect us!
Watch us!

प्राकृतिक स्रोतको उपयोगबाट आकर्षक सामाग्री बनाएर विदेश निर्यात गर्दै दिव्यतारा तुलाधार

भूमिका विष्ट

मंगलबार, ०९ फागुन २०७९, १७ : ४७ मा प्रकाशित

प्राकृतिक स्रोतको उपयोगबाट आकर्षक सामाग्री बनाएर विदेश निर्यात गर्दै दिव्यतारा तुलाधार

प्राकृतिक स्रोतको प्रयोगबाट विभिन्न उपयोगी सामान बनाउँदै आएकी नेपाल हस्तकला महासङ्घकी उपाध्यक्ष र अन्नपूर्ण ह्यान्डीक्राफ्टकी प्रोप्राइटर दिव्यतारा तुलाधर नेपालमा उत्पादन हुने प्राकृतीक स्रोतहरुको प्रयोगले नेपालको अर्थतन्त्रलाई टेवा उद्देश्यले ६२ वर्षको उत्तरार्धमा पनि आफ्नाे काममा तल्लिन छिन् ।  

 वि.सं. २०१६ साल मंसिर १६ गते काठमाडौंको असनमा संयुक्त परिवारमा दिव्या तारा तुलाधरको जन्म भएको थियाे ।  दुई जना भाई र बहिनी  मध्यकी जेठी छोरी हुन् दिव्यतारा । उनका बुबा काठमाडौँको ज्याठास्थित त्यौड माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए । उनकी आमा गृहिणी थिईन् । उनको परिवार आर्थिक रुपले सम्पन्न परिवार हो । उनको परिवार शिक्षित थियो  । उनका बुबा सधैँ उनलाई अगाडी बढेको हर्न चाहान्थे । उनी पढाईमा मात्रै अब्बल नभई त्यसका अलावा अतिरिक्त कार्याक्रममा पनि उनि निकै अब्बल थिईन् । सानैदेखी जे कुरा पनि जान्न सिक्न खोज्ने दिव्या ताराले आफ्नाे काम गर्ने इच्छाशक्तिलाई कहिले निभ्न दिईनन् । साेही कारण आज उनी आफू मात्र सक्षम नभई अरुलाई पनि आत्मनिर्भर बनाउने काम गरिरहेकी छिन् । 

उनले २०३४ सालमा परोपकार विद्यालयबाट एसएलसी पास गरेकी थिईन् । एसएलसी पछि उनको असनमै बसोबास गर्ने गौतमबीर तुलाधरसँग मागी विवाह भयो । विवाह पछि पनि उनले आफ्नाे पढाइलाई निरन्तरता दिईन् र  वि.सं.२०४० सालमा उनले त्रिचन्द्र कलेजबाट पोलिटिकल साईन्समा स्नातक सक्क्याएकी थिइन् । त्यसबीचमा उनले ३ सन्तानलाई जन्म दिइन् । 

त्यसपछि उनी नेपाल महिला कल्याणकारी समाज नामक एउटा संस्थामा आवद्ध भएकी थिइन् । उक्त संस्थामा महिलाहरुलाई सिपमुलक सिलाई बुनाईका तालिमहरु दिइन्थ्यो ।  साेही संस्थामा उनी अहिले पनि आवद्ध छिन् । आफ्नाे काममा व्यस्त भैरहेको बेला उनी घरमा विभिन्न डिजाइनका लुगा सिलाउने काम गर्थिन् र आफै डिजाईन पनि गर्थिन् । 

उनको परिवारिक पसल असनमै रहेको थियो । त्यहाँबाट उनले घरमा थुप्रै नेपाली कागजहरू थुपारिएको देखिन् । नेपाली कागज सहजै नच्यातिने हुदा त्यो कागजको  प्रयोग हुन सक्ने भन्दै उनले कागजको ब्याग बनाउन सुरू गरिन् । पहिलेको पुरानो नेपाली कागज एकदमै बलियो नच्यातिने हुन्थ्यो । उनले नेपाली कागजको ब्याग बनाईन् । सुरूमा उनले ६ वटा  ब्याग तयार पारेर आफ्नाे साथीहरुलाई गिफ्ट दिइन् । उनका साथीहरूले पनि उनी मार्फत् ब्यागहरू आफ्ना आफन्तहरुलाई गिफ्ट दिन थाले । उनकै आफन्तहरुलाई पनि उनले बनाएको ब्याग असाध्यै मन पर्यो । 

त्यसपछि उनले त्यसैको व्यपार सुरु गर्ने योजना बनाईन् तर आर्थिक रुपले सम्पन्न परिवार भएको हुनाले महिलाहरुले बाहिर कम गरेको उनको परिवारलाई खासै रुचेको थिएन । तर दिव्य ताराको काम गर्ने इच्छाशक्ती कसैले रोक्न सकेन उनले आफु सुत्ने कोठामै मेसिन राखेर नेपाली कागजको ब्यागहरू बनाउन सुरु गरिन् । उनले काम सुरुमा उनका श्रीमानलाई समय खेर फालेकाे जस्तै लागेका थियो । पछि उनले घरमै आफुलाई काम गर्नको लागि एउटा अलग कोठा लिइन् र २०५५ सालमा उनले ५ जना काम गर्ने महिलाहरु पनि राखिन् । उनको त्यो व्यापार निकै राम्रो चल्दै गएकाे थियो । त्यती बेला उनले एक दिनमा  २ देखी ३ सय रुपैयाँसम्म कमाई गर्थिन्  । पछि उनको कामप्रतिको लगाव देखेर उनका श्रीमानले पनि उनलाई काममा साथ दिन थाले । 

त्यसपछि उनी वि.सं. २०५५ सालमा हस्तकला महासङ्घसँग जोडिन पुगिन् । वि.सं. २०५५/५६ सालमा हस्तकला महासंघले ठमेलको त्रिदेबी मन्दिरमा आयोजना गरिएको सामान बिक्रीको मेलामा उनी सहभागी भइन्  । त्यहाँबाट उनले मानुसी संस्थाकी अध्यक्षलाई भेटिन् । त्यो संस्थाले नेपालमा उत्पादिन सामानहरु बाहिरी देशहरुमा पुर्याउने काम गर्दछ । त्यसपछि  मानुसी संस्थाको सल्लाह अनुसार उनले कागजको ब्यागहरु बढी मात्रामा बनाउन थालिन् । नेपाली काजमा बनाइएकाे ब्याग जर्मनमा बिक्री हुन थाल्यो । त्यसपछि उनले नोट बुकहरू पनि बनाउन थालिन् । नेपाली कागजबाट बनाएको नोट बुक पनि उनले जर्मन पठाउन थालिन् ।  यसले उनलाई थप उर्जा मिल्यो र उनले त्यो बेला राम्रै कमाएकी थिईन्  । नेपाली कागजबाट बनाइएका ब्याग, नोट बुक ,प्याकिङ बक्सबाट उनले ५० देखी ६० हजार मासिक आम्दानी गर्थिन् । 


बजारमा उनको माग बढ्दै गइरहेको थियो त्यसपछि उनले आफूले सुरु गरेको कागजको काम आफ्ना सहयोगीहरुलाई नै हस्तान्तरण गरिन् । उनी वि.सं २०६५ सालमा हस्तकला महासङ्घको सदस्यको रुपमा निवार्चित भइन् । नेपाल हस्तकला महासङ्घ अन्तर्गतकाे प्राकृतिक रेसा विकास वस्तु समितिको संयोजक भएर काम गरिन् । त्यसबीच सिन्धुपाल्चोक र संखुवासभामा उनले अल्लो (सिस्नु) बाट कपडा बनाउने , हेम (गाँजा) को कपडा बनाउने लगायतका तालिम दिँदै गइन् । यसरी महिलाहरुलाई उद्यमशिल बनाउने तालीम दिने क्रममा उनी वि.सं २०६८ सालमा नारायणीको कोलुवामा सुकुल बनाउने तालीम दिन गइन् । त्यहाँ गएको बेला उनी घुमफेर गर्न साथीहरुसँग नारायणी नदी छेउ पुगिन् । त्यहाँका बासिन्दाहरुले केराका थुमहरूलाई  नारायणी नदिमा बगाइरहेका थिए । केराको थुमको प्रयोगबाट पनि सुकुल लगायतका लुगाहरु समेत बनाउन सकिने भएको हुँदा दिव्य ताराले  त्यो कुरा हस्तकला महासङ्घमा सुनाइन् ।


त्यसपछि उनले केरेलाकोे कोयोमबतुरको एक कार्यक्रमा सहभागी हुने अवसर पाइन् । त्यहाँबाट उनले थप कुरा सिक्न पाइन् । त्यसपछि उनले केराको रेसाको कपडा बनाउन सुरु गरिन् । त्यसपश्चात् उनी सभा नेपालमा पनि आवद्ध भइन् । उक्त संस्थामा महिलाहरुले घरमा मात्र सिमित  नभई घरबाहिर पनि केही उद्यम गरेर सक्षम हुनुपर्छ भनी विभिन्न् सिपमुलक तालिमहरु प्रदान गर्ने गरिन्छ । 


अहिले उनले सोह्रो खुट्टे वडा नम्बर, १६ स्थित आफ्नै घरमा केराको कपडा बनाउने म्याट ,पर्दा , टिस्युबक्स बनाउने फ्याट्री खोलेकी छिन् । जसमा उनले ६ जनालाई काम दिएकी छिन् ।  यसका साथै नवलपरासीको गोलुवामा आज भन्दा आठ वर्ष अगाडि अन्नपूर्ण ह्यान्डीक्राफ्ट नाममा उनले प्रकृतिक रेसाको फ्याट्रि खोलेकी थिईन् । उनले त्यो फ्याट्रीमा ६ जना माहिलाहरूलाई काम दिएकी छिन् ।  

हाल १ वर्षदेखी उनी हस्तकला महासंघको उपाध्यक्ष भएकी छिन् । उनी अहिले विभिन्न जिल्लाहरुमा प्राकृतिक रेसाको तालिम पनि दिँदै आइरहेकी छिन् । धेरै महिलाहरु अहिले कामको लागि वैदेशिक रोजगारीमा गइरहन नपराेस् र उनीहरुले आफ्नै देशमा उद्यम गरेर बस्न सकुन् भन्ने उदेश्यले यो तालिमले महिलाहरु आत्मनिर्भर हुन सक्ने उनी बताउँछिन् । तराईमा धेरै केरा पाइन्छ । केरा उत्पादनपछि थाम व्यवस्थापन गर्न सजिलो छैन । त्यसैले स्थानीय किसानबाट पाएको निःशुल्क थामबाट कपडा बनाएजस्तै उद्योगका फोहोरबाट गड्यौले मल उत्पादनसमेत हुन्छ त्यस्तै अल्लो (सिस्नु) बाट कपडा बनाउने, हेम (गाँजा) को कपडा बनाउने सकिने हुँदा देशमा उत्पादन हुने प्राकृतीक स्रोतहरुको प्रयोगले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सकिने उनले बताईन् । 

उनले भनिन्, "महिलाहरुलाई कतिको सहज छ यसरी काम गर्ने ? पारिवारिक साथ सहयोग बिना कुनै पनि कुरा सम्भव छैन , म एक सम्पन्न परिवारमा हुर्किएँ घर परिवारले सुरुमा मैले गरेको सिलाईको कामलाई  यो काम गर्न आवश्यक छैन भन्थे तर काम गर्ने इक्षा शक्तीलाई मेरो परिवारले रोक्न सकेन र म अगाडी बढेँ । काम गर्दै आफूले गरेको कामलाई अरुले प्रसंसा र साथ सहयोग मिल्दै गएपछि म मा थप उर्जा थपिदियो  ।"

हाल धेरै महिलाहरु रोजगारीको सिलसिलामा विदेश जानु पर्ने बाध्यता रहेको छ । यसमा नेपाल सरकारले पनि देशमै उद्योगहरु खोल्ने कुरामा जोड दिन आवश्यक रहेको उनी बताउँछिन् । उनी भन्छिन् "हाम्रो देशमा उत्पादन हुने प्राकृतीक स्रोतहरुको प्रयोगले नेपालको अर्थतन्त्रलाई पनि सहयोग पुग्दछ ।"  उनी थप्छिन् "हाम्रो देशमा सिस्नु, मकै, केरा लगायतका थुप्रै  प्राकृतीक स्रोतहरु सहजै उत्पादन हुन्छन् । यही उत्पादनबाट कपडा बनाउन सकिन्छ र यहाँ उत्पादन हुने प्राकृतीक  रेसाबाट बनाइएका कपडाहरु पुरानो भएपछि खेतीको लागि  मलको प्रयोगमा आउन सक्ने हुँदा यसले यो कुराले देशको अर्थतन्त्रलाई फाईदा हुन्छ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको