वि.सं २०३० पुस १८ गते मकवानपुर जिल्लाको थाहानगरपालिका ७ मा जन्मिएकी रिता ढकाल दवाडी आफ्ना पाँच जना दिदी दाईमध्येकी सबै भन्दा कान्छी सन्तान हुन् । ३ दशकदेखी मुद्रण व्यवसायमा संलग्न रहेकी रिताकाे परिवार खेतीपातीमा निर्भर थियो ।
उनको प्रराम्भिक शिक्षा जनकल्याण माध्यमिक विद्यालय मकवानपुरमै भएको हो । कक्षा ८ पछि भने उनी राजधानी आइन् । काठमाडौंको कन्या मन्दिरमाबाट एसएलसी पास गरेकी उनले पद्मम कन्या क्याम्पसबाट आर्टस् विषयमा +२ पास गरेकी हुन् । +२ पढ्दा पढ्दै उनले काठमाडौंको ठमेलमा एकजना साथीसँगै ब्युटी पार्लर पनि खोलेकी थिईन् । उनकी साथी देशबाहिर गएपछि उनले त्यो व्यवसाय बन्द गरिन् । त्यसैबीच ब्युटी पार्लरको तालिम लिने क्रममा उनले कलङ्कीका दामोदर प्रसाद दवाडीलाई भेटिन् । र केही समयकाे चिनजानपछि उनीहरूको विवाह भयो ।
ब्याचलर पढ्दा पढ्दै उनको पाठेघरमा समस्या आएपछि उनले रेस्ट लिनु पर्ने भएको हुँदा त्यसपछि भने उनले आफ्नाे पढाइलाई निरन्तरता दिन सकिनन् । उनका श्रीमान पुष्पाञ्जली छापाखानाका सञ्चालक थिए । त्यसपछि उनी पनि श्रीमानसँगै त्यसैमा आवद्ध भईन् । त्यही क्रममा हाल उनी मुद्रण व्यवसायी भएकी छिन् । उनले ३२ वर्षदेखी मुद्रण व्यवसायी भएर काम गर्दै आईरहेकी छिन् ।
हामी मुद्रण व्यवसायकाे बारेमा बुझ्न उनकाे छापाखानासम्म पुग्याैँ । त्यसैक्रममा उनीसँग गरिएकाे कुराकानीकाे केही अंश तल प्रस्तु गरिएकाे छ :
पहिला र अहिलेको प्रेसकाे अवस्थामा के फरक पाउनु भएकाे छ ?
आज भन्दा २४ वर्ष अगाडी आजको जस्तो प्रविधीहरु आईसकेको थिएन । पहिला लेटर प्रेस थियो एक-एक लेटरहरु राखेर पत्रिका बनाउनु पर्ने हुन्थ्यो ,लेटर प्याडमा एक-एक गरी लेटर राख्दै पत्रिका तयार पार्नुपर्ने हुन्थ्यो । त्यतीबेला पत्रिका निकाल्न एक हप्ता नै लाग्थ्यो । हातले मिलाएर खुट्टाले मेसिन चलाउनुपर्ने हुन्थ्यो । अहिले त्यस प्रकारकाे मेसिन छैन । अपसेट प्रेस मेसिन आएको छ । पहिले किताब बनाउन हातले पेपर फोल्ड गर्नुपर्ने हुन्थ्यो अहिले मेसिनबाट नै पेपर फोल्ड हुन्छ । अहिले मेसिन आईसकेको भएकाले त्यो काम गर्न सहज पनि भएको छ ।
मुद्रण व्यवसायकाे अवस्था कस्तो रहेकाे छ ?
नेपालमा सिटीभीटीबाट महिलाहरुलाई विभिन्न तालिमहरु दिइन्छ । तर मुद्रण मेसिन सम्बन्धी कुनै पनि तालिम भने अहिलेसम्म सञ्चालनमा आएको छैन । नेपालमा मुद्रण सम्बन्धी मेसिन चलाउनेहरूले मासिक ६० हजार रूपैयाँसम्म कमाउँछन् तर नेपालमा यस्ताे मेसिन चलाउने मान्छे थोरै छन् । त्यसैले देशबाहिरबाट मान्छे मगाउनु पर्ने अवस्था आइरहेको छ । यसबारे नेपाल सरकारले सोच्न पर्ने देखिन्छ । नेपालमा महिलाहरुलाई मुद्रण सम्बन्धी मेसिन चलाउने तालिम दिइयो भने प्रेसमा सहजै काम गर्न सक्छन् । नेपालमा मुद्रण कुनै पनि मन्त्रालय अन्तर्गत पर्दैन । सरकारले नीजी मुद्रण संस्थालाई काम पनि नदिएको हुँदा कतीपय प्रेस बन्द हुने अवस्थामा आइसकेका छन् ।
मुद्रण व्यवसायमा आर्थिक रुपले कत्तिकाे फाईदा छ ?
काम सधैँ भैरह्योे भने यो व्यवसाय एकदमै राम्रो छ । कुनै सिजन थियो हामीले ५० देखि ६० हजारसम्म पुस्तकहरु छाप्ने गर्थ्यौं । अहिले डिजिटल प्रविधि आइसकेपछि सबैले घरमै फोनमै किताब पढ्न पाउँछन् । प्रविधिले धेरै सजीलो बनाइदिएको छ तर यसले हाम्रो व्यवसायलाई केही पछि धकालेकोे जस्तो पनि महसुस भइरहेको छ । किन भने अहिले पिडिएफबाटै सबै पढ्न पाउने बनाइएको हुँदा यो व्यवसाय केही पछाडी धकेलिएको महसुस भइरहेको छ । नेपाल सरकारले मुद्रणको लागि छपाई अन्तर्गतको बजेर त छुट्याइएको हुन्छ तर केन्द्रबाट त्यती काम भइरहेकाे छैन । केन्द्रले सरकारी प्रेसहरूलाई मात्रै काम दिईरहेको छ । उनीहरुले समयमै किताबहरु छाप्न नसकेकाले ग्रामिण क्षेत्रहरुमा समयमै किताबहरु पनि पुगिरहेका छैनन् । यसबाट ग्रामीण क्षेत्रका विद्यार्थीहरुकाे पठनपाठन निकै प्रभावित बनेको छ । यसले देशमा कुनै पनि सरकारी कामकाज समयमै नहुने भन्ने प्रस्ट देखाउँछ । मुद्रण व्यवसायमा काम गर्न धेरै याेग्यता नचाहिने हुनाले थाेरै पढेका महिलाहरुले पनि सहजै काम पाउँछन् । तर व्यवसाय नै घाटामा गइसकेपछि यहाँ काम पाउन पनि गाह्रो भइरहेको छ र धेरै महिलाहरु रोजगारीका लागी बाहिरिनु पर्ने अवस्था पनी आइरहेको छ । अहिले नेपाल सरकाले सरकारी प्रेसहरूलाई त बजेट दिईरहेको छ ।
हाल नेपालमा मुद्रण व्यवसायमा लगानीको अवस्था कस्तो रहेको छ ?
अहिले नेपालमा मुद्रण व्यवसायमा ८५ अर्बकाे लगानी रहेको छ, ४ सय जती छापाखाना छन् र २५ हजार मान्छेहरु यसमा आवद्ध भएर काम गरिरहेका छन् । मुद्रण व्यवसाय सिजनको बेला ४ सय प्रेसहरुलाई १ लाख मान्छे चाहिन्छ , त्यती बेला एक लाख मान्छेले काम पाउँछन् ।
नेपालवाडी मिडिया ग्रुपकी सञ्चालिका रिता ढकाल दवाडी नेपालकै पहिलो महिला मुद्रण व्यवसायी हुन् । अनामनगरमा रहेको पुष्पाञ्जली छापाखानामा अहिले उनले धेरैलाई राजगारी पनि दिएकी छिन् । अहिले उनको मिडियामा ५ जना र छापाखानामा ७ जना रहेका छन् । उनको मुद्रण व्यवसायमा विगत १८ वर्षदेखी उदयपुरका केशव खड्का मेसिन चलाइरहेका छन् । उनी भन्छिन्, "केशवले विदेश जानेबारे सोचेका छैनन् , किन भने आफुलाई पुग्ने उनले नेपालमै कमाइरहेका छन् ।"
इच्छाशक्ति भएकी रितालाई उनको श्रीमानको साथ र सहयोगले काम गर्न निकै सहज भएको बताउँछिन् । उनी भन्छिन्, "श्रीमान र श्रीमतीसँगै कम गर्न पाउँदा साथ र सहयोगले काम गर्न निकै उर्जा पनि मिल्छ ।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस