Like us!
Follow us!
Connect us!
Watch us!

तारा एअरकाे जहाजमा चालक दलको त्रुटि भेटिएको जाँच आयोगको निष्कर्ष

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, १२ : २४ मा प्रकाशित

तारा एअरकाे जहाजमा चालक दलको त्रुटि भेटिएको जाँच आयोगको निष्कर्ष

मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एअरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले जनाएकाे छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती समक्ष पेस गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुटि देखिएको हो । 

२०७९ साल जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्वीनअटर (एन–एइटीरडीएचसी ६–३०) जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको ज्यान गएकाे थियाे । जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो ।

प्रतिवेदनअनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम’ (टीएडब्लुएस) बन्द  गरिएको थियो । त्यहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन सकेनन् । 

सरकारले गएकाे जेठ १६ गते जेठमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगको सदस्यमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनीयर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य सदस्य र सदस्य सचिव बुद्धिसागर लामिछाने रहेका थिए ।

आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार जहाज दुर्घटनामा चालक दलको त्रुटि पाइएको छ । जहाजमा जडित प्रणाली सही तरिकामा उपयोग गर्न नसक्दा जहाज पहाडमा ठोक्किन पुगेको दुर्घटनाको कारणमा उल्लेख गरिएको छ । टीएडब्लूएस प्रणाली बन्द नगरि जहाज उडाएको भए दुर्घटनामा पर्नुभन्दा २ मिनेट अगाडि नै चालक दलका सदस्यलाई चेतावनी प्राप्त हुने थियो । जसले गर्दा दुर्घटना टर्न सक्ने सम्भावना रहन्थ्यो ।

मौसम खराबका कारण पाइलटले अगाडिको दृश्य राम्रोसँग देख्न पाएनन् । चालक दलले कम्पनीले तोकेको उडान मापदण्ड पनि पालना नगर्दा जहाज दुर्घटनामा परेको प्रतिवेदनमा भनिएको छ । आयोगले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अमेरिकाको नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डसमेतको सहयोगमा प्रतिवेदन तयार पारिएको छ ।

प्रतिवेदन ६० दिनको समय दिएर अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनलगायत सम्बन्धी देश र निकायमा रिभ्यूका लागि पठाउने र त्यसपछि सबैको जानकारीका लागि सार्वजनिक गरिने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको