प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आज (बिहीबार) आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताएका हुन् ।
एमालेको सङ्गठन सुदृढीकरणका लागि सञ्चालित ‘मिसन ग्रासरूट’ अभियानका सन्दर्भमा ‘निर्वाचनपछिको राष्ट्रिय राजनीति, नयाँ सत्ता सहकार्य, अवसर एवं चुनौती’बारे उल्लेख गर्दै उनले गत पुस १० गते सहमतिका आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा राजनीतिक दलको शक्ति सन्तुलनमा सरकार गठन हुनु राजनीतिमा आएको सकारात्मक परिवर्तन भएको बताए।
ओलीका अनुसार सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिसकेको छ भने पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
अध्यक्ष ओलीले भने,“विदेशी मुद्रा सञ्चितिमा सुधार, विप्रेषणमा वृद्धि एवं अनावश्यक खर्च कटौती जस्ता सुधारका कदमले सङ्कटग्रस्त अर्थतन्त्रका क्षेत्रमा सकारात्मक सुधार देखिनुका साथै प्रदेशमा १६ वटा मन्त्रालय घटाउने निर्णयले जनतामा राम्रो प्रभाव परेको छ ।” वर्तमान सरकारका काम सकारात्मक रहेको टिप्पणी गर्दै उनले अहिलेको सत्ता सहकार्यलाई भत्काएर पुरानै गठबन्धन स्थापित गर्ने र नेपाललाई अस्थिरतातिर धकेल्ने काम भएको र यसले लोकतन्त्रलाई कमजोर बनाउने दाबी पनि गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस