Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्त सम्बन्धी राष्ट्र बैंककाे निर्देशनपछि घट्यो नेप्से एकैदिन ५७.७४ अंक

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, २१ : ४९ मा प्रकाशित

आज दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१.  नेपाल राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा नयाँ व्यवस्था गरेकाे छ । राष्ट्र बैंकले लघुवित्तहरुलाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै लघुवित्तले दिने लाभांशको सीमा २०% बाट घटाएर १५% मा झारेको हाे । जस अनुसार अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ । त्यस्तै राष्ट्र बैंकले बैंकबाट कर्जा लिएकाले लघुवित्तबाट लिन नपाउने व्यवस्था पनि गरेकाे छ । यति मात्र नभएर लघुवित्तमा पनि एउटाबाट मात्रै लिनु पर्ने व्यवस्था गरिएकाे छ । 

२. नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे साधारण सभा चैत्र ३ गते डेलिस ओपेरा रेष्टो एण्ड ब्याङ्क्वेट बालुवाटार काठमाडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले यो वर्ष सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाे छ । यसर्थ यसपटक कम्पनीकाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूकाे हात खाली हुनेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १९ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

३. आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकाे छ । संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ लाख ६९ हजार ७ सय ५५ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएकाे छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले याे आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

४. नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले निष्कासन गरेकाे ‘नबिल फ्लेक्सी क्याप फण्ड’ नामक खुल्लामुखी योजना आजदेखि कारोबारमा आएकाे छ । लगानीकर्ताहरूले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको केन्द्रिय कार्यालय, नक्साल, काठमाडौँबाट इकाई खरीदबिक्री गर्न सक्नेछन् । शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरीदबिक्री गर्न सकिने क्यापिटलले जनाएको छ  ।

५. लघुवित्त सम्बन्धी राष्ट्र बैंककाे निर्देशनकाे प्रभाव सेयर बजारमा प्रत्यक्ष देखिएकाे छ । अधिकांश लघुवित्तकाे सेयरमूल्यमा नकारात्मक सर्किट लाग्दा बिहीबार नेप्से परिसूचकमा पनि भारी गिरावट देखिएकाे छ । आज नेप्से परिसूचक ५७.७४ अंकले घटेर २ हजार २२ दशमलव ६४ विन्दुमा झरेकाे छ । कुल २६० वटा कम्पनीकाे ६३ लाख २६ हजार एक सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५२ करोड २७ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

६. नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको ८ औँ वार्षिक साधारण सभा चैत्र ८ गते नौबिसे एग्रो रिसोर्ट, धादिङमा बिहान ११ बजेदेखि सुरु हुनेछ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले रद्द गरेकाले सेयरधनीहरुले यो पटक लाभांश प्राप्त गर्ने छैनन् । संस्थाले साधारण सभा प्रयोजनको लागि फागुन २१ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

७. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) को ऋणपत्र सुचिकृत भएको छ । आज बैंकको २२ लाख ८९ हजार ८ सय १३ कित्ता उर्जा ऋणपत्र नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको हो। याेसँगै अब आगामी आइतबारबाट यस ऋणपत्रको कारोबार सुरु हुनेछ ।  

८.  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंककाे काराेबार राेक्का गरेकाे छ । सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गरी भोलि फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ।  त्यसैले, मर्जर प्रयोजनका लागि नेप्सेले फागुन १२ गतेदेखि सिभिल बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

९. सगरमाथा इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सभा आज सम्पन्न भएकाे छ । सभाले मर्जरका लागि तय भएको सेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गर्दै प्रस्तावित कुल ७ दशमलव ३६ प्रतिशत लाभांशसमेत पारित गरेको छ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स १०० बराबर ८० शेयर स्वाप रेसियोका आधारमा मर्जरमा जान लागेका हुन् ।

१०.  बिहीबार सुनकाे भाउ तोलामा ५ सय रुपैयाँले घटेर प्रतिताेला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ताेलामा १२ सय ८५ रुपैयाँमा काराेबार भएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको