Like us!
Follow us!
Connect us!
Watch us!

१० खबर :सेयरबजार के होला भन्ने बहस सुरु , करारमा रहेका कर्मचारी हटाउने सरकारको तयारी

अर्थ संसार

शनिबार, १३ फागुन २०७९, १२ : ४० मा प्रकाशित

१. हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् "हिमालयन बैंक लिमिटेड" को नामबाट आजदेखि एकिकृत कारोबार सुरू गरेको छ । हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो ।  दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो ।

२. नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गरी ५० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले १२.५० प्रतिशत ब्याजदरमा ५० करोड रुपैयाँको वैदेशिक बचतपत्र नामक बचतपत्र बिक्रीमा ल्याउने भएको छ । उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ भने ६-६ महिनामा ब्याजदर प्राप्त हुनेछ । नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागले फागुन १४ गतेदेखि चैत्र ३ गतेसम्मका लागि बैदेशिक रोजगार बचतपत्र बिक्री खुल्ला गर्ने भएको छ । यो वचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले खरीद गर्न सक्नेछन् ।

३. कालिन्चोक दर्शन लिमिटेडले  सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

४. हालै आईपीओ जारी गरेको सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनी ५ करोड १ लाख ८४ हजार रुपैयाँ नाफामा छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ९३ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ। चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ ११३.२५ रुपैयाँ रहेको छ ।

५. सार्वजनिक बिदाको दिन अत्यावश्यक सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा शनिबारबाहेकका सार्वजनिक बिदामा प्रत्यक्ष सेवाग्राहीसँग जोडिएका अत्यावश्यक तथा महत्त्वपूर्ण सरकारी कार्यालयहरू खुला राख्ने विषयमा छलफल भएको हो । सरकारले सार्वजनिक बिदामा सरकारी कार्यालय खाेल्ने निर्णय अघि सारेसँगै सेयर बजार पनि खुल्ने की नखाेल्ने भन्ने बहस सुरू भएकाे छ ।

६. प्रभु बैंक लिमिटेडले आजबाट ४६ लाख ७४ हजार ३ सय ९६ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।  उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता १२३ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलामीमा सहभागी बन्न सक्नेछन् । याे सेयरमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएकाे छ ।

७. नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु इन्स्याेरेन्स, सबैको लघुवित्त र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । प्रभु इन्सुरेन्सको ६.७०% बोनस सेयरपछिको भाउ ५२० रुपैयाँ ९९ पैसा, सबैको लघुवित्तको १८% बोनस सेयरपछिकाे भाउ ७११ रुपैयाँ ८६ पैसा र सिभिल लघुवित्तको ११% बोनस सेयरपछिको भाउ ६७४ रुपैयाँ ७७ पैसा कायम भएको छ । 

८. एशियन हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेकाे आइपीओ फागुन १४ गते, आइतबार बाँडफाँड हुने भएको छ । उक्त आइपीओकाे बाँडफाँड  बिक्री प्रबन्धक एनएमबि क्यापिटलकाे  आफ्नै कार्यालय नागपोखरी नक्सालमा बिहान ९ बजे गरिनेछ । मागभन्दा धेरै  आवेदन परेकाे हुनाले याे  आइपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ६९ हजार ७ सय २० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख बढीकाे भने हात खाली हुनेछ ।

९. खर्च घटाउने उद्देश्यले सरकारले सबै निकायमा रहेका करारका कर्मचारी हटाउने तयारी गरेको छ । चालू आर्थिक वर्षको राजश्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको हो । साेही प्रयाेजनका लागि अर्थ मन्त्रालयले चिठ्ठी नै लेखेर सबै मन्त्रालय, आयोग, कार्यालय, बोर्ड, आयोजना र विभागमा करारमा कार्यरत रहेका कर्मचारीको विवरण मागेको छ ।

१०. शुक्रबार सुनकाे भाउ ताेलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको