Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तबाट ऋण लिएर सफल व्यवसायी बनेकी कान्छी श्रेष्ठको कथा

भूमिका विष्ट

मंगलबार, १६ फागुन २०७९, १२ : ०३ मा प्रकाशित

लघुवित्तबाट ऋण लिएर सफल व्यवसायी बनेकी कान्छी श्रेष्ठको कथा

काठमाडौं बुढानिलकण्ठ घर भएकी कान्छी श्रेष्ठ । घरको आर्थिक अवस्था कमजोर भएकै कारण कान्छीले बिद्यालय जान पाइनन् । बढेकी छोरीलाई घरमा धेरै राख्नु हुँदैन भनि उनका आमाबुबाले  १५ बर्षको उमेरमै कान्छीको बिहे गरिदिए । कान्छीको  बिहे बुढानिलकण्ठ स्थित पासिकोट गाउँका आशा बहादुर श्रेष्ठसंग भयो । आशाको परिवारको पनि  कान्छीको परिवारको जस्तै आर्थिक अवस्था निकै नाजुक थियो । कान्छीको र आशाको विवाह पछि उनीहरुको परिवारमा थप आर्थिक भार थपियो । श्रीमानले गर्ने दैनिक ज्यालाको कामले दुई छाक टार्न पनि मुस्किल हुन्थ्यो । घरपरिवारको आर्थिक अवस्था देखेपछि कान्छीले आफूले पनि केही काम गरी  परिवारको आर्थिक अवस्था उकास्न परिवारलाई सहयोग गर्ने सोच बनाईन् । 

कान्छीले एक दिन आफ्नो श्रीमानलाई आफूले केही गर्न चाहेको कुरा सुनाईन्। श्रीमानलाई उनले आफू घरमै बस्नु भन्दा केही व्यवसाय गरी परिवारलाई सघाउने पनि बताईन् । श्रीमानले पनि उनको कुरामा सहमती जनाए । तर व्यवसाय गर्नको लागि उनीहरुसंग पैसा भने थिएन । उनीहरुले साथीभाइहरु र आफन्तसंग कर्जा सापटी मागे तर एक छाक टार्न पनि धौ धौ हुने उनको परिवारलाई साथीलाई र आफन्तले पनि पत्याएनन् । तर पनि उनी निरास भने भइनन् । एक दिन उनले कसैबाट लघुवित्तले सामूहिक जमानीमा पनि कर्जा दिन्छ भन्ने कुरा थाहा पाईन।  त्यसै दिन उनको भेट महिला अधिकार तथा विकास केन्द्रकी कर्मचारीसंग भयो । कान्छीले ती कर्मचारीसंग समूह बारे सोधिन । ती कर्मचारीले  कान्छीलाई समूहबारे सबै कुरा जानकारी दिइन् । 

त्यसको केही समय पछि उनले आफ्नो गाउँंका अन्य दिदीबहिनीहरुलाई आफूहरु पनि समूहमा बस्नु पर्छ भन्ने कुरा जानकारी गराइन्। उनको कुरामा गाउँमा धेरै महिलाहरुले सहमती जनाए । त्यसपछि हात्तीगौंडा शाखाका कर्मचारीहरु त्यहाँ आई उनीहरुलाई संस्थाबारे धेरै कुराको जानकारी दिए । त्यसपछि उनीहरुलाई उक्त संस्थाले ७ दिने तालिम पनि दियो । त्यसपछि हात्तीगौंडा समूहलाई केन्द्रको मान्यता दिई  केन्द्र नं. २१ गठन गरी मासिक एक हजार रुपैया बचत गर्ने निर्णय भयो । त्यो दिन कान्छी पनि निकै खुसी भइन् ।

गाउँमा केही गर्नुपर्छ भन्ने महिलाका लागी संस्थाले बिना धितो सामूहिक जमानीमा कर्जा  उपलब्ध गराउँथ्यो । त्यस दिन कान्छीको  योजनाले बाटो पायो। त्यसपछि उनले पनि सहजै बिना धितो कर्जा पाउने भइन् । त्यसछी उनले संस्थाबाट २० हजार कर्जा लिइन् । त्यो पैसाले कुखुरा पाल्ने योजना बनाएकी थिईन् कान्छीले । त्यही अनुसार कान्छीले कुखुरा पालन सुरु गरिन् । कान्छीको  कुखुराको व्यापार फस्टाउँदै थियो भने उनले आफ्नो लगानी पनि बढाउँदै गइन्। सुरुमा २० हजार कर्जा लिएकी कान्छीले त्यसपछिका दिनमा ३०,४०,६० हजार गरी एक लाख सम्म कर्जा लिन पुगिन् । 

उनको गाउँमा टाढा टाढा सम्म पनि कुनै मिल थिएन । त्यसैले उनले मिल खोल्ने योजना बनाईन् । उनले १ लाख रुपैंया कर्जा लिइन् । त्यसपछि उनले कुखुरा र मिलको व्यवसाय संगसंगै लैजानु पर्ने भयो । त्यो व्यवसाय उनका लागि निकै फाइदाजनक सावित भयो। मिल उनको परिवारका सदस्यलाई पनि रोजगारीको माध्यम बन्यो। व्यवसायको आम्दानीले उनलाई घर व्यवहार चलाउन र छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निकै सहज भयो। 

अहिले उनका श्रीमानको मुख्य व्यवसाय मिल बनेको छ भने उनले कुखुरा व्यवसायलाई अगाडी बढाइरहेकी छिन् । उनी मात्र होईन अहिले त उनका छोराले पनि कुकुर पालनको तालिम लिएका छन। हाल उनका छोराले कुकुरको व्यवसाय सुरु गरेका छन् ।

कुखुरा र मिल व्यवसाय व्यवसायी महिला भनेर गाउँमा उनलाई सबैले चिन्दछन् । यसमा आफुलाई गर्व लागेको उनी बताउँछिन् । उनी भन्छिन, 'रू एक हजार बाट शुरु गरेको  बचत आज एक लाख २५ हजार भएको छ । सुरुमा २० हजार मात्र कर्जा लिएकी उनले व्यवसाय गर्दै जाँदा आज सात लाख सम्म लिन सक्ने भएकी छु।' उनी थप्छिन, 'सुरुमा मासिक एक सय रुपैयाँ मात्रै जम्मा गर्ने सक्थें भने आज म दुईहजार ५ सय रुपैयाँ जम्मा गरिरहेकी छु । यो रकम जम्मा गर्न मलाई ठूलो लाग्दैन र सहजै जम्मा गर्न सक्छु।' आजका दिन सम्म आईपुग्दा बचत गर्ने बानीको विकास भएको उनले बताईन् ।  

लघुवित्तबाट ऋण लिएर आफ्नो समूहका धेरै महिला साथीहरुले घरेलु व्यवसायहरु संचालन गरिरहेको कान्छी बताउँछिन। आफ्ना अधिकांश साथीहरुले निकै राम्रो गरिरहेको पनि उनले बताईन। पहिला १/२ हजार निकाल्न समेत गाह्रो पर्ने महिलाहरुले अहिले महिनामा लाखौँको व्यापार गरेको देख्दा आनन्दित महसुस हुने गरेको पनि उनी बताउँछिन। आम्दानी गर्न थालेपछि परीवारका सदस्यहरुले महिलाहरुलाई गर्ने व्यवहारमा समेत धेरै परिवर्तन आएको पनि उनले बताइन। लघुवित्तले समग्र जीवनशैलीमै परिवर्तन ल्याईदिएको र आफूहरुलाई अझै ठूलो व्यवसाय संचालन गर्ने सपना देख्नसक्ने बताएको बताई रहँदा कान्छीको आँखामा बेग्लै चमक देखिन्थ्यो।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको