अष्ट्रेलियाको सिड्नी स्थित पारामाटामा रहेको ईन्टरनेशनल ईन्स्टिचियूट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजी बजार सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम यही फाल्गुन १५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा श्रोत व्यक्तिका रुपमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुुख कार्यकारी अधिकृत मेख बहादुर थापाले नेपाली अर्थतन्त्र र पूँजी बजारको विविध आयाम बारे सहभागीसंग अन्तरक्रिया गरेका थिए।
अष्ट्रेलियाको एनआरएनएका राष्ट्रिय कोषाध्यक्ष श्री अनिल पोखरेल (सीपीए) को उपस्थितिमा भएको उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दीपेन्द्र पन्तले गरेका थिए । कार्यक्रममा सिड्नी शहरमा बसोबास गर्ने एनआरएनए र सीए-सीपीए समूहका सहभागीहरूको उत्साहनजक प्रतिनिधित्व रहेको थियो ।
उक्त कार्यक्रममा थापाले नेपालको समग्र अर्थतन्त्रको बिबिध परिदृश्यहरुका साथै नेपालको पुँजी बजारमा भइरहेको पछिल्ला गतिविधिहरु तथा सो सम्बन्धमा भएका प्राविधिक सुधार र अन्य गतिविधिहरुका बारेमा समेत जानकारी गराएका थिए । नेपालको पुुँजी बजारमा रहेका लगानीका विभिन्न उपकरण मार्फत नेपाली पूँजी बजारमा लगानी गर्दा कसरी लगानी गर्न सकिन्छ र त्यसबाट प्राप्त हुने अवसर र चुनौतीका बारेमा समेत सहभागीहरुलाई जानकारी गराए ।
उक्त कार्यक्रममा कोषाध्यक्ष अनिल पोखरेलले एनआरएनएले लामो समयदेखि पहल गर्दै आएको राजनीतिक बाहेक अन्य अधिकार सहितको नागरिकता र लगानी सहजीकरणका विषयमा तथा लगानी गरे पश्चात लगानी वापतको आम्दानी सँगै लगानी रकम समेत फिर्ता लाने संयन्त्रको बारेमा चासो व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा सहभागीहरुले आफ्नो व्यस्तताका बावजुद सिड्नी सहरमा समेत आएर नेपाली पूँजी बजारको सम्भावना र अवसरका बारेमा प्रकाश पारि दिएकोमा मेख बहादुर थापा प्रति आभार प्रकट गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस