नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले संघीयताको मर्मविपरीत प्रदेश १ को नामाकरण गरिएको प्रति आपत्ति जनाएको छ ।
सभ्यता, संस्कृति, जातीय पहिचान र राजनीतिक ऐतिहासिकता आदिले अत्यन्त संवेदनशील प्रदेश नम्बर १ को नामाकरण संघीयताको मर्मविपरीत र बलपूर्वक सडकमा निषेधाज्ञा जारी गरेर ‘कोशी प्रदेश’ कायम गरिएको भन्दै फोनिजले आपत्ति जनाएको हो ।
आदिवासी जनजाति समुदायको पहिचान प्राप्तिको मर्ममाथि निर्मम प्रहार गरेर कोशी प्रदेश नामाकरण गर्ने कदमको फोनिजले विज्ञप्तिमार्फत भर्त्सनासमेत गरेको छ ।
महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिमार्फत फोनिजले पहिचानको प्रदेश माग्ने समुदाय, राजनीतिक समूह र सरोकारवालाहरूसँग कुनै परामर्शसमेत नगरी मतादेशको दम्भमा जारी गरिएको कोशी प्रदेशले कालान्तरमा बिखण्डनको वातावरण बन्नसक्ने आशंकासमेत व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘प्रदेश नम्बर १ को जनजीवन र प्रदेशवासीहरुबीचको आपसी एकता र हार्दिकतालाई खलल पुग्ने गरी कायम गरिएको प्रदेशको नामले कालान्तरमा बिखण्डनको बिउका रूपमा अंकुराउन सक्छ भन्ने हाम्रो गम्भीर आशंका हो ।’
कोशी प्रदेश खारेज गरेर प्रदेश १ को नाम ‘किरात लिम्बुवान’ कायम गर्नुपर्ने भन्दै फोनिजले ‘किरात लिम्बुवान प्रदेश’का लागि हुने शान्तिपूर्ण संघर्षहरुमा फोनिजको सदा ऐक्यबद्धता रहने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस