नेपाल टेलिकमले शुक्रवारदेखि काठमाडौ उपत्यकाको नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित गुम्बाचोकमा वडा कार्यालयले केबल व्यवस्थापन गर्ने सिलसिलामा टेलिकमका संरचनामा क्षती पुगेको जनाएको छ ।
वडा कार्यालयले केबल व्यवस्थापन गर्ने सिलसिलामा टेलिकमको एरियल केबलमा क्षति पुगेकाले टेलिकमका गुम्बाचोकका सयौं सेवाग्राही एक्कासी टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवाबाट वञ्चित हुनु परेको जनाएको छ ।
नेपाल टेलिकमले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले पटक–पटक दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन पूर्वाधार निर्माण र केबल व्यवस्थापनका कार्यहरु सम्पन्न गर्नका लागि सहयोग र समन्वयका लागि अनुरोध गरिरहँदा पनि कम्पनीका पूर्वाधारमा क्षति पुर्याई अत्यावश्यक सेवाहरु अवरुद्ध गरिएको प्रति कम्पनीले दुःख व्यक्त गरेको छ ।
साथै, अत्यावश्यक सेवाका रुपमा रहेका दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन अन्य कार्यहरु सम्पन्न गर्नको लागि कम्पनीसँग सहकार्य र समन्वय गर्न पनि सम्बन्धित सबै निकायसँग पुःन अनुरोध गरेको छ ।
टेलिकमले सेवा प्रवाहमा समस्या आएको उक्त क्षेत्रमा कम्पनीले यथासम्भव छिटो मर्मत कार्य सम्पन्न गर्ने तयारी गरेको छ । सेवाग्राहीहरु निरन्तर सेवा प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने यस अवस्थाप्रति कम्पनी क्षमाप्रार्थी हुनुका साथै कम्पनीका सेवा प्रयोगमा निरन्तरताको अपेक्षा गरेको टेलिकमका प्रवक्ता शोभन अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तो छ टेलिकमले जारी गरको विज्ञप्ति:
नेपाल टेलिकमले अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी अत्याधुनिक दूरसञ्चार सेवाहरु सुलभ दरमा उपलब्ध गराइरहेको छ । अन्य विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको छ । यसबाट अत्यावश्यक सेवाका रुपमा रहेका दूरसञ्चार सेवाहरु केही अवधिका लागि उपयोग गर्नबाट हजारौं प्रयोगकर्ताहरु तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ । यही क्रममा हिजोदेखि काठमाडौ उपत्यकाकाको नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित गुम्बाचोकमा वडा कार्यालयले केबल व्यवस्थापन गर्ने सिलसिलामा कम्पनीका संरचनामा क्षती पुगेको छ । वडा कार्यालयले केबल व्यवस्थापन गर्ने सिलसिलामा एरियल केबलमा क्षति पुगेकाले गुम्बाचोकका सयौं यस कम्पनीका सेवाग्राही एक्कासी टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवाबाट वञ्चित हुनुपरेको छ । नेपाल टेलिकमले पटक पटक दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन पूर्वाधार निर्माण र केबल व्यवस्थापनका कार्यहरु सम्पन्न गर्नका लागि सहयोग र समन्वयका लागि अनुरोध गरिरहँदा पनि कम्पनीका पूर्वाधारमा क्षति पुर्याई अत्यावश्यक सेवाहरु अवरुद्ध गरिएको प्रति कम्पनी दुख व्यक्त गर्दछ । साथै, अत्यावश्यक सेवाका रुपमा रहेका दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन अन्य कार्यहरु सम्पन्न गर्नको लागि कम्पनीसँग सहकार्य र समन्वय गर्न पनि सम्बन्धित सबै निकायसँग पुःन अनुरोध गर्दछौं ।
सेवा प्रवाहमा समस्या आएको सो क्षेत्रमा कम्पनीले यथासम्भव छिटो मर्मत कार्य सम्पन्न गर्ने तयारी गरेको छ । सेवाग्राहीहरु निरन्तर सेवा प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने यस अवस्थाप्रति कम्पनी क्षमाप्रार्थी हुनुका साथै कम्पनीका सेवा प्रयोगमा निरन्तरताको अपेक्षा गर्दछौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस