दाङ तुलसीपुरस्थित् शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको उक्त सहकारीको शाखा कार्यालयबाट रकम झिक्न दिनहुँ बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बीपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ ।
उनले अब त्यो पैसा पाउने आशा मरिसकेको बताउँछिन् । ‘एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ दुई/चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो’, उनले भनिन्, ‘साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ ।’
शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ । त्यही बचत फिर्ता लैजानका लागि पटक–पटक कार्यालय पनि पुगिन् तर उनले कसैलाई पनि भेटाएकी छैनन् । फोन गर्दा एक वर्ष पुगेपछि फिर्ता गर्छौँ भन्ने जवाफ आउने गरेको उनी बताउँछिन् ।
त्यस्तै, तुलसीपुरका फेन्सी व्यवसायी अशोक भण्डारीले पनि रु छ हजार सो सहकारीमा बचत गरेका छन् । त्यही रकम लैजानका लागि धेरै पटक कार्यालयमा धाएको उनको भनाइ छ । ‘पसिना बगाएर कमाएर पैसा हो’, उनले भने,‘दुःख गरेर बचत गरेको पैसा किन नपाइएको हो, हामीलाई निकै समस्या भयो ।’ उक्त सहकारीको ‘मार्ट’ पनि सञ्चालनमा रहेकाले त्यही मार्टबाट आवश्यक सामग्री लिएर बचत रकम कटाउन खोजे पनि त्यो पनि नमान्ने गरेको उनको गुनासो छ ।
आर्थिक मन्दिका कारण बचतकर्ताको बचत फिर्ता गर्न नसकिएको जनाउँदै गएको माघ २७ गते उक्त सहकारीको तुलसीपुर शाखा केही समयका लागि बन्द गर्ने भनी सूचना प्रकाशित गरिएको थियो । अर्को सूचना प्रकाशनमा नआएसम्म बन्द रहने जानकारी गराइएको थियो । बन्द भएको एक महिनासम्म पनि उक्त सहकारीको सेवा पुनःसञ्चालन हुन सकेको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस