Like us!
Follow us!
Connect us!
Watch us!

१० आर्थिक समाचार एकै पटक

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, ०८ : २५ मा प्रकाशित

१. नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको मुल्य समायोजन भएको छ। स्टकका अनुसार छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय ३८ रूपैयाँ ५२ रुपैयाँ कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

२. बिपिडब्लु लघुवित्तले सर्वसाधारणका लागि निष्कासन गरेकाे आइपीओमा अन्तिम दिनसम्म माग भन्दा २०७ गुणा बढी आवेदन परेकाे छ ।  सीडीएसका अनुसार अन्तिम दिनसम्ममा १५ लाख ३२ हजार ९७३ जना लगानीकर्ताहरूले १ करोड ६७ लाख ६५ हजार ५० कित्ताका लागि आवेदन दिएका छन् । संस्थाले सर्वसाधारणका लागि ८० हजार ९ सय ५० कित्ता आइपीओ निष्कासन गरेकाे थियाे ।

३. आइएमई जनरल इन्सुरेन्स र प्रुडेन्सियल इन्सुरेन्सलाई एकआपसमा मर्जरमा जान नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ अनुसार दुवै कम्पनीलाई मर्जरका लागि पूर्व स्वीकृति प्रदान गरेको हो । यी दुई कम्पनी १ः१ स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

४.  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १०औं वार्षिक साधारण सभा आज सम्पन्न भएकाे छ । बेष्ट रिसोर्ट, लेकसाइड, पोखरामा सम्पन्न भएकाे साधारण सभाले  त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाइ १२% बोनस सेयर र कर प्रयोजनसहित ८% नगद गरी कुल २०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

५. प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको २१ औँ वार्षिक साधारण सभा चैत्र १६ गते, दियालो लर्डस प्लाजा बिरगंज, पर्सामा दिउसो १२ः३० बजेदेखि सुरू हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३.३२५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.१७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले चैत्र ३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत्र २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

६. काठमाडाैँमा तरकारीकाे भाउ आकाशिएकाे छ । पछिल्लो १ सातामा मौसमी तरकारीको मूल्य १ सय ३५ प्रतिशतसम्म बढेको पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिउँदे तरकारीको सिजन सकिने बेला भएकाले काउली, गोलभेडा, गाँजर, बकुला, भन्टालगायत मौसमी तरकारीको मूल्य यसरी बढेको हो ।

७. नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्र बर्बाद भयो भनेर अहिलेजस्तो गुनासो कहिल्यै नसुनिएको बताएका छन्। साथै, अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय लिनुपर्ने उनले बताएका छन् । मंगलबार नेपाली काँग्रेसले काठमाडौंमा नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको साढे चार घन्टा लामो छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

८. नेपालले अतिकम विकसित राष्ट्रहरुको ‘कोअर्डिनेसन व्युरो’ को जिम्मा पाएकाे छ । कतारको राजधानी दोहामा भएको अतिकम विकसित देशहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई ग्लोबल समन्वय ब्यूरोको नेतृत्व प्रदान गरेको हो ।एक महिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच नेपाललाई औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण हुनेछ ।

९.  राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा.स्वर्णिम वाग्लेले अहिलेको अवस्थामा बैंकहरुले ब्याजदर बढाउन नहुने बताएका छन् ।  नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । अनुत्पादन क्षेत्रमा धेरै कर्जा प्रवाह भएकाले बैंकहरुलाई नै समस्या पर्ने देखिएको भन्दै उनले नेपालमाथि उठेको बैंकिङ उद्योग पनि धरासायी भयो भने अर्थतन्त्र झनै समस्या पर्ने बताएका छन् ।

१०.  बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर प्रतिताेला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज चाँदीकाे मूल्य पनि ताेलामा ४० रुपैयाँले घटेर प्रतिताेला १२ सय २५ रुपैयाँमा काराेबार भएकाे छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको