Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारका १० आर्थिक समाचार (भिडियो )

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, २१ : २४ मा प्रकाशित

१. आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओकाे बाँडफाँड आज सम्पन्न भएकाे छ । कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १५ लाख ३८ हजार ४ सय ६६ जना लगानीकर्ताहरूले कुल १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताका लागि आवेदन दिएका थिए । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी १६ हजार ९ सय ७५ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेका छन् । सेयर पाएका १६ हजार ९ सय ७६ जना मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ता सेयर पाएका हुन्  ।

२. नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आइतबार एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । स्टकका अनुसार हाइड्राे इलेक्ट्रीसिटी  इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडकाे लिलामी मार्फत् बिक्री गरिएकाे संस्थापक समूहकाे ४३ लाख ५७ हजार एक सय ८५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

३. नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेकाे रिपाेर्ट हेर्दा अर्थतन्त्रमा सुधार देखिएकाे छ । राष्ट्र बैंककाे रिपाेर्ट अनुसार शोधनान्तर स्थिति आकर्षक ढङ्गले बढेकाे छ । माघ मसान्तसम्म शोधनान्तर स्थिति १३३ अर्ब २१ कराेडले बचतमा रहेकाे छ । आयात १९.९ प्रतिशतले, निर्यात २९.० प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले घटेको छ । नेपाल भित्रिने रेमिट्यान्स पनि २७.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।  यता मुद्रास्फीति भने ७.८८ प्रतिशत रहेको छ ।

४. अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने अनुमति पाएकाे छ । कम्पनीले विद्युत नियमन आयोगबाट ४० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति पाएकाे हाे । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले ७.५ प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात् हाल कायम १० कित्ता बराबर नयाँ ४ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्न प्रस्ताव गरेकाे थियाे । साेही प्रस्ताव विद्युत नियमन आयोगले स्विकृत गरेकाे हाे । 

५. साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएकाे छ । आज नेप्से परिसूचक २६.८० अंकले घटेर १ हजार ९ सय ७५ दशमलव ८९ विन्दुमा झरेकाे छ । कुल २६० वटा कम्पनीकाे ४७ लाख ७२ हजार एक सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६६ कराेड ६९ लाख ३१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

६. माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड सेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

७. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसिलो मौद्रिक नीतिले बैङ्कको ब्याजदर बढ्न गएको अवस्थामा यस्तो ब्याजदरलाई कसरी एकल विन्दुमै सीमित राख्न सकिनेमा आफू छलफल गरिरहेको बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ब्याजदरलाई कसरी एकल बिन्दुमै सीमित राख्न सकिन्छ भन्नेबारे नेपाल राष्ट्र बैङ्क र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशनसमेत दिइसकेको जानकारी दिए। 

८. नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा थप २ कम्पनीकाे काराेबार राेक्का भएकाे छ । मर्जरपश्चात् सगरमाथा र लुम्बिनी जनरल इन्स्याेरेन्सले भाेलि फागुन २९ गते साेमबारबाट एकिकृत काराेबार सुरू गर्दैछन् । साेही प्रयाेजनका लागी भाेलि साेमबारबाट १५ कार्यदिनका लागि नेप्सेमा यी २ कम्पनीकाे काराेबार राेक्का हुने भएकाे हाे ।

९. अमेरिकामा फेरि एक पटक ठूलो बैंकिङ्ग संकट देखिने सम्भावना बढेको छ। अमेरिकी नियामकले त्यहाँको प्रमुख बैंक सिलिकन भ्याली बैंक बन्द गर्न आदेश दिएको छ।  CNBC को रिपोर्ट अनुसार क्यालिफोर्नियाको डिपार्टमेन्ट अफ फाइनान्सियल प्रोटेक्शन एण्ड इनोभेशनले यो बैंक बन्द गर्न आदेश दिएको हो।    अचानक भएको यो घटनाले यतिबेला विश्व बजार ठप्प भएको छ। यसमा कम्पनी र लगानीकर्ताको अर्बौं डलर फसेको छ।

१०.  आइतबार एकैदिन सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।  आइतबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १२ सय ४५ सय रुपैयाँ कायम भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको