Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीकाे लाभांश घोषणा, नयाँ लगानीकाे अवसर खुल्दै +थप समाचार

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, २१ : ०२ मा प्रकाशित

१. एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशत नगद लाभांश गरी कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्विकृती दिए पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

२. वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले चैत महिनाको लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले मंगलबार चैत महिनाको लागि ब्याजदर सार्वजनिक गर्दै ब्याजदर घटाएका हुन् । वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर स्थिर राखी साधारण बचत तथा कल निक्षेपको ब्याजदर घटाएका छन् । विकास बैंकहरुले भने मुद्दती निक्षेपमा पनि ब्याजदर घटाएका छन्। फाइनान्स कम्पनीहरुले १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.२० प्रतिशतविन्दु घटाएका छन् भने सोभन्दा कम अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.१५ प्रतिशतविन्दुले घटाएका छन्।

३. सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश घोषणा सहित साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १८ औँ वार्षिक साधारण सभा चैत्र २० गते, आभ्या क्लब घारिपाटन पोखरामा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभाले संचालक समितीले प्रस्ताव गरेको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत्र १३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत्र १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

४. कुमारी क्यापिटल लिमिटेडले चैत ९ गतेदेखि ‘कुमारी सुनौलो लगानी योजना’ नामक नयाँ म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । याे खुलामुखी याेजना हाे । क्यापिटलले कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई मूल्य १० रुपैयाँ दरको ५० करोड रुपैयाँ बराबरको कुल ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । चैत ९ गतेदेखि निष्कासन हुने याे फण्डमा लगानीकर्ताले छिटोमा चैत १३ गतेसम्म र ढिलोमा चैत्र २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

५. सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाएका छन् । सेयर बजारमा भएको निरन्तर गिरावटका कारण लगानीकर्ताले गत वर्षको माघदेखि चालू आर्थिक वर्षको माघसम्ममा खर्बाैँ रकम गुमाएका हुन् ।  नेपाल राष्ट्र बैंकका अनुसार गत माघकाे तुलनामा चालु आवको माघ महिनासम्ममा धितोपत्र बजार पुँजीकरण ८ खर्ब ९७ अर्ब ६९ करोड रुपैयाँले घटेको छ ।

६. रावा इनर्जी कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ । कम्पनीले आयाेजना प्रभावित क्षेत्रका स्थानिय, वैदेशिक राेजगारीमा गएका नेपाली र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८ करोड ४० लाख रूपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबाेनबाट फागुन २५ गते, बिहीबार अनुमति पाएकाे हाे । कम्पनीले आईपीओ निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । 

७. सेयर बजारमा झिनो सुधार देखिएको छ । आज नेप्से परिसूचक १.८५ अंकले बढेर १९५३ दशमलव ०६ काे विन्दुमा पुगेकाे छ । मंगलबार कुल २ सय ५५ वटा कम्पनीकाे ३३ लाख १८ हजार एक सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १३ कराेड ५९ लाख २५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । 

८.   सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७ सय ६० कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । यस आईपीओमा लगानीकर्ताले  न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन पाउने छन्। यस आईपीओमा लगानीकर्ताले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

९. आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपिओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सेयरको अंकित मूल्य १०० रुपैयाँमा १७६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २७६ रुपैयाँमा आइपिओ निष्कासनको अनुमति मागेको हो । कम्पनीले १ करोड २० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ ।

१०. मंगलबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ । 

भिडियाे हेर्नुहाेस् :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको