Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको नगद लाभांश बैंक खातामा जम्मा, कर्मचारी कटौतीको दोस्रो लहर सुरु

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १७ : ५७ मा प्रकाशित

१. एक आपसमा मर्ज हुन लागेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चैत २२ गते विशेष साधारण सभा डाकेको छन् । आइएमई जनरलको लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा र प्रुडेन्सियलको सभा होटल इच्छा, सिमरा बारामा बिहान ११ बजे सुरु हुनेछ । सभामा आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्स १:१ अनुपातमा मर्ज हुने प्रस्ताव पारित गरिनेछ । मर्ज भएपछि कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्सुरेन्स राख्ने प्रस्ताव पनि सभामार्फत पारित गरिन्छ ।

२. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा ११.०५३ प्रतिशत नगद लाभांश जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । संस्थाले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

३. सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एकिकृत कारोबार चैत ९ गते, बिहीबारबाट सुरू हुने भएकाे छ । यी २ कम्पनी १:१ काे अनुपातमा मर्ज हुन लागेका हुन् । यी दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले फागुन १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

४.  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २८ गते वार्षिक साधारण सभा डाकेको छ । सभामा कम्पनीले गत आर्थिक वर्षकाे नाफाबाट ७% बोनस सेयर र कर तिर्न ०.३६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिन्छ । यसका साथै, सभामा कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिन्छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले चैत २० गतेदेखि बुक क्लोज गर्नेछ । त्यसैले, चैत १९ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश सुरक्षित गर्न सक्नेछन् ।

५. राष्ट्रिय स्वतन्त्र पार्टी (रस्वापा) का सभापति रवि लामिछानेलाई शक्तिको आडमा उन्मुक्ति दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । समाजवादी केन्द्र नेपालका अध्यक्ष युवराज पौडेल ‘सफल’ ले आरोपितलाई उन्मुक्ति दिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । आइतबार प्रधानमन्त्री प्रचण्डले लिएका विश्वासको मतका लागि रविको पासपोर्ट दुरुपयोग मुद्दामा सफाइ दिइएको उनले आरोप लगाएका छन् ।

६. सिटी होटेलले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ । कम्पनीले जारी पूँजीको १० प्रतिशतका दरले प्रति सेयर अंकित मूल्य १०० रूपैयाँमा १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डबाट चैत्र ५ गते, आइतबार अनुमति पाएकाे हाे । कम्पनीले साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

७. विश्वका ठूला प्रविधि कम्पनीमा कर्मचारी कटौतीको दोस्रो लहर सुरु भएको छ । मेटापछि अब अमेजनले पनि थप कर्मचारी कटौती गर्ने घोषणा गरेको हो ।ई–कमर्स कम्पनी अमेजनले आगामी केही साताभित्रै दोस्रो चरणमा ९ हजार कर्मचारीलाई हटाउने योजना बनाएको छ । यसअघि पनि अमेजनले १८ हजार कर्मचारीलाई निकालेको थियो।

८. नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विभिन्न परिसूचकले मुलुकको अर्थतन्त्र सुधार भएको देखाएतापनि वास्तवमा नेपाली अर्थतन्त्र समस्यामा रहेको औँल्याएका छन् । मंगलबार महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले अब विकासमा मात्रै खर्च गर्ने गरी कडा र परिपक्क निर्णय नगर्ने हो भने मुलुकको अर्थतन्त्रले नयाँ गति लिन नसक्ने स्पष्ट पारेका छन् ।

९. दोल्ती पावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ सोमबार बाँडफाँड भएको छ ।कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले अर्थात् १ लाख ७ हजार २९८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको थियो । कम्पनीको आईपीओको नतिजा निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडको वेबसाइटबाट तथा सिडिएसले सञ्चालनमा ल्याएको आईपीओ रिजल्टबाट समेत हेर्न सकिन्छ ।

१०. मंगलबार सुनकाे भाउ तोलामा ५ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतिताेला १३ सय ४० रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको