Like us!
Follow us!
Connect us!
Watch us!

स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गरौं: रवि लामिछाने

अर्थ संसार

आइतबार, २६ चैत्र २०७९, ०६ : ५९ मा प्रकाशित

स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गरौं:  रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन्।

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू स्वच्छ राजनीति गर्न सदैव सक्रिय रहेको उल्लेख गरे। 

‘हामी स्वच्छ राजनीति गर्न चाहन्छौं, अरु दललाई पनि हामी यही आह्वान गर्छौं,’ उनले भने, ‘कुनै पनि उम्मेदवारविरूद्ध दुर्भाव छैन। सबैलाई यही आह्वान गर्छाैं।’ 

लोकतन्त्रको सुन्दर पक्ष भनेको प्रतिस्पर्धा भएकाले यो सुन्दर पक्षलाई सबैले अवलम्बन गर्नुपर्नेमा लामिछानेले बताए।

‘यो नै लोकतन्त्रको विशेषता हो, देशका मालिक जनता हुन्,’ उनले भने। 

तनहुँ–१ का जनता जुनसुकै पार्टीमा भए पनि यसपटक देशका लागि सोचेर मतदान गर्न लामिछानेले आग्रह गरे।

‘सबै दलप्रति हाम्रो सद्भाव छ, अन्य दलमा आबद्ध भए पनि दल फेर्नु पर्दैन, एकपटक मतमात्र फेर्नुस्, देश विकासको जिम्मा हामी लिन्छौं,’ उनले भने। 

तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार स्वर्णिम वाग्लेले अर्थतन्त्र उकास्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएको बताए। उनले राजनीति दूषित हुँदा देश विकासमा पछाडि परेको बताउँदै वाग्लेले राजनीतिलाई सफा बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे। 

वाग्लेले आफू सुसंस्कृत राजनीतिज्ञ बन्न चाहेको बताउँदै अरुलाई गाली नगर्ने बताए।

‘अरुलाई गाली गर्ने फुर्सद छैन, कामबाटै विरोधीलाई जवाफ दिन्छु,’ उनले भने। वाग्लेले देश विकासको मोडल तनहुँबाट सुरू गरिने बताउँदै अन्य ठाउँले पनि यहाँबाट सिक्ने अवसर पाउने जिकिर गरे।

‘खानेपानी र बाटो बनाउनेमात्र नेता यहाँका जनताले खोजेका होइनन्, समग्र देशकै आर्थिक उन्नति उकास्ने नीति बनाउने नेता जनताले चाहेका छन्,’ उनले भने। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको