Like us!
Follow us!
Connect us!
Watch us!

बिर्तामोडका सडक पेटीका ठेला–व्यापार : मनग्य आम्दानी,राम्रैसँग चल्दै छ जिन्दगी

अर्थ संसार

विहीबार, २१ बैशाख २०८०, १४ : ३३ मा प्रकाशित

बिर्तामोडका सडक पेटीका ठेला–व्यापार : मनग्य आम्दानी,राम्रैसँग चल्दै छ जिन्दगी

काम गर्ने आत्मविश्वास र शरीरमा जाँगर हुने हो भने पैसा कमाउन विदेश नै जानुपर्छ वा कुनै ठूलो कार्यालयमा जागिर नै खानु पर्दैन । वास्तबमा कामको कमी कहीँ पनि छैन, पहिचान गर्नसके काम र दाम दुवै यहीँ छ । यसको उदाहरण हो बिर्तामोडका विभिन्न सडक पेटीमा ठेला–व्यापार गर्नेहरु । 

भारत घर भएका राजकुमार साह बिर्तामोडको भद्रपुररोडमा २० वर्षदेखि ठेलामा मःमः, चाउमिन, छोइला बेचेर मासिक रु ७५ हजार कमाउनुहुन्छ । छोरीको स्कुल खर्च, कोठा भाडा, औषधि उपचार खर्च गरेर पनि राम्रै बचत गर्न सकेको साहले बताउछन् । साँझपख अफिस सकेर धैरै कर्मचारी नास्ता खान आउने गरेको उनको भनाइ छ ।

भद्रपुररोडमा दिउँसो २ बजेदेखि ठेलाको मःम चाउमिन बेच्दै आउनुभएका कृष्ण साहले पनि दैनिक दुई÷तीन हजारको व्यापार गर्ने गरेका छन् । ठेला व्यापारबाटै उनको पनि तीन जनाको परिवार राम्रैसँग चल्दै आएको छ । दाजुले वर्षौंदेखि गर्दै आएको ठेला व्यापार विगत पाँच वर्षबाट कृष्णले सम्हालेका हुन्  । 

ठेलामा मःम, चाउमिन बेच्ने मात्र होइन, चटपटे पानीपुरी, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागिसमेत आफ्नै कमाइले पुग्ने भएकाले सानो लगानी गर्नेका लागि यो रोजाइको व्यवसाय बनेको छ । 

झापाको बिर्तामोड पछिल्लो समय तीव्रगतिमा सहरीकरण भइरहेको कोशी प्रदेशको व्यापारिक केन्द्र हो । विर्तामोडको चोकचोक, गल्लीगल्लीदेखि डिपार्टमेन्ट स्टोर अगाडि र सार्वजनिक ठाउँमा राखिएका ठेला व्यापारले धेरैको जीविकोपार्जन भएको शनिश्चरे रोडमा पानीपुरी र चटपटे बेच्दै आएकी सीता साह बताउछिन् । उनी दैनिक एक सय ५० भन्दा बढीलाई पानीपुरी चटपटे खुवाउछिन्  । 

घरपरिवार बिरामी हुँदा वा काम परेको समयमा नगर्न पनि मिल्ने तथा स्वतन्त्ररूपमा सञ्चालन गर्न पाइने भएकाले अरूकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय सजिलो हुने भएकाले पनि ठेला व्यापारतर्फ धेरैको आकर्षण देखिन्छ । बिएण्डसी हस्पिटल अगाडि ठेलामा जुुुस बेच्दै आएका प्रभु साह कामलाई सम्मान गर्नसके त्यसबाट आम्दानी राम्रो हुने बताउनुहुन्छ । भारतको विहारका उहाँ गर्मी सुरु भएपछि ठेलामा जुस बेच्ने गर्नुहुन्छ । हेर्दा सामान्य देखिने तर आम्दानी सोचेभन्दा बढी हुने व्यापारी बताउँछन्  । 

ठेलामा व्यापार गर्नेले वर्षैभरि एकै किसिमको व्यापार नगरी मौसमअनुसार व्यापार गरेर राम्रो आम्दानी गर्ने गरेका छन् । धनकुटा स्थायी घर भई तीन वर्षयता विर्तामोडमा ठेलाको व्यापार गर्दै आएका सनमान तामाङले मौसम अनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुने भएका कारण मौसमी व्यापारमा लागेको बताउछन्। उनले गत वर्षदेखि कहिले फलफूल, कहिले उखुको जुस तथा कहिले सागसब्जी बिक्री गर्दै आएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको