Like us!
Follow us!
Connect us!
Watch us!

आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँः पूर्व अर्थमन्त्री शर्मा

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, १५ : १२ मा प्रकाशित

आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँः पूर्व अर्थमन्त्री शर्मा

सांसद  जनार्दन शर्माले १० वर्षको बजेटको समीक्षा गर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले १० वर्षको बजेटमाथि  सत्तापक्ष र प्रतिपक्षको आग्रह र पूर्वाग्रहमुक्त छलफल गर्दै निष्कर्ष निकाल्न समिति गठन गर्ने माग गरेका हुन्।

उनले भने, “विगत १० वर्षका बजेटको समीक्षा गरौँ भन्ने प्रस्ताव राख्न चाहन्छु । अर्थविद् नागरिक समाज, किसान, पत्रकार, पूर्वन्यायाधीश र सम्बन्धित क्षेत्रका विज्ञसहितको  उच्चस्तरीय आयोग वा समिति बनाऔँ ।”

उनले प्रतिपक्ष दलबाट बजेटको वस्तुनिष्ठ समीक्षा नभएको आरोप समेत लगाए । पूर्व अर्थमन्त्री शर्माले भने, “चालु आवको बजेटको समीक्षा गर्र्दै प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले शून्य अङ्क दिए । उनको उक्त मूल्याङ्कन सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्रह र प्रतिशोधपूर्ण भएको मैले बुझेको छु ।”

उनले राजनीतिक सहमतिका साथ ०४६ सालदेखि अहिलेसम्म उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्नुपर्ने प्र्रस्तावसमेत गरे । उनले भने, “मेरो प्रस्ताव छ, २०४६ पछि २०८० सम्मको सबै राजनीतिज्ञ, कर्मचारी, सेना, प्रहरी, आयोग र न्यायपालिकाको सम्पत्ति छानबिन गर्ने आयोग बनाऔँ । तर ललिता निवासको जग्गा फिर्ता गरेर उन्मुक्ति दिने जस्तो नाटक चाहिँ नगरौँ । दूधको दूध, पानीको पानी गरौँ, यो कार्यान्वयन गरौँ । त्यसका लागि राजनीतिक सहमति गरौँ ।”

उनले निर्यातमा आठ प्रतिशत अनुदान दिने नीतिको प्रभाव देखिन अझै केही वर्ष लाग्ने उनले बताए ।-रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको