Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बजारमा परिवर्तित व्यवस्था

बुधबार, ०८ कार्तिक २०७४, ०७ : १७ मा प्रकाशित

धितोपत्र बजारमा परिवर्तित व्यवस्था

शेयरबजारमा दैनिक शेयर कारोबारसँगै मूल्य निर्धारणमा पनि उतारचढाव हुने हुन्छ । यसमा कसैले गुमाउँछ भने कसैले कमाउँछ । शेयरबजारमा कारोबार हुने शेयर एक प्रकारको धितोपत्र हो ।

धितोपत्रभित्र शेयर, डिवेञ्चर बण्ड आदि पर्न आए पनि नेपाली शेयरबजारमा विशेष गरी मुख्य कारोबार हुने भनेकै शेयरको मात्र देखिन्छ । धितोपत्रका सम्बन्धमा नेपालका विभिन्न कानूनले अलग अलग परिभाषा गरेको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ दफा २ (च) ले धितोपत्रलाई सङ्गठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिवेञ्चर, डिवेञ्चर स्टक वा सामूहिक लगानी योजनासम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा सङ्गठित संस्थाले जारी गरेको ऋणपत्र, बचतपत्र वा बण्डलाई लिएको छ ।

साथै धितोपत्र बजारमार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुन सक्ने भनी धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरीद, विक्री वा विनिमय गर्न सक्ने अधिकारपत्रसमेतलाई जनाएकोे छ ।

अर्कोतर्फ कम्पनी ऐन २०६३ को २(भ) ले धितोपत्रलाई कम्पनीले जारी गरेको शेयर, बण्ड, डिवेञ्चर वा ऋणपत्रलाई लिएको छ । साथै धितोपत्रको धरौटीसम्बन्धी भर्पाई तथा धितोपत्रसम्बन्धी हक र अधिकारपत्रसमेतलाई जनाएकोे छ ।

बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को २ (द) ले धितोपत्रका सम्बन्धमा बैङ्क वा वित्तीय संस्था वा सङ्गठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिजेञ्चर, डिवेञ्चर स्टक वा सामूहिक लगानी योजनासम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा सङ्गठित संस्थाले जारी गरेको प्रमाणपत्र, बचतपत्र वा बण्डलाई लिएको छ । 

सो शब्दले धितोपत्र बजारमार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुन सक्ने भनी धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरीदविक्री वा विनिमय गर्न सक्ने अधिकारपत्रसमेतलाई लिएकोे छ ।

धितोपत्रसम्बन्धी ऐन २०६३, कम्पनी ऐन २०६३, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐनमा उल्लिखित शेयर डिवेञ्चरलगायत धितोपत्र सङ्गठित संस्थाले सर्वसाधारणका लागि जारी गर्न सक्छ । सो जारी गरेको शेयर पूँजीबजारमा खरीद विक्री हुन्छ ।

पब्लिक कम्पनीले आफ्नो शेयर वा अन्य धितोपत्र धितोपत्र बजारमा सर्वसाधारणलाई विक्री गरी पूँजी प्राप्त गर्न सक्छ । पब्लिक कम्पनीले आफ्नो शेयर वा डिवेञ्चर धितोपत्र सर्वसाधारणलाई विक्री गर्न सक्ने र सर्वसाधारणले पनि सो धितोपत्र खरीदविक्री गर्न सक्छ ।

सो कारोबार हुने बजारलाई धितोपत्र बजार वा शेयरबजार भनिन्छ । धितोपत्र बजारका सम्बन्धमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा २ (झ) ले धितोपत्र खरीदकर्ता तथा विक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रूपमा धितोपत्रको खरीद, विक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजार, स्थान वा सुविधालार्ई लिएको छ ।

आजको युगमा धितोपत्र बजारको ठूलो महत्व रहेको हुन्छ । धितो कारोबारमा कसैले कसैलाई बेइमानी वा ठगी गर्न नदिने उद्देश्यले नियमन गर्न नेपाल धितोपत्र बोर्डको गठन हुने व्यवस्था गरेकोे छ । धितोपत्र बोर्ड धितोपत्र विनिमय बजारको पनि नियमन गर्छ ।

धितोपत्र बजारमा शेयर वा डिवेञ्चर (धितोपत्र) जारी गरी पूँजी उठाउने कम्पनी वा सङ्गठित संस्थाले विभिन्न कानूनी प्रक्रिया अपनाउनुपर्ने व्यवस्था रहेको छ । सार्वजनिक रूपमा धितोपत्र निष्कासन गर्दा मर्चेण्ट बैङ्करमार्फत धितोपत्र बोर्डमा शेयर वा डिवेञ्चर जारी गर्न स्वीकृत लिनुपर्छ ।

सर्वसाधारणको पूँजीको संरक्षण गर्न शेयर वा डिवेञ्चर जारी गर्नुपूर्व कम्पनीको भित्री विवरण अर्थात् कम्पनीको स्थापनादेखि कारोबार, संस्थापक, सञ्चालक लगानीमा हुन सक्ने जोखीमको जानकारी धितोपत्र बोर्डलाई दिनुपर्छ । साथै, अन्य जानकारी आवश्यक पनि माग गर्न सक्छ ।

कम्पनीले प्राथमिक बजारका सार्वजनिक रूपमा धितोपत्र निष्कासन गर्न सक्नेछ । पहिलोपल्ट अर्थात् शेयर वा डिवेञ्चर विक्री हुने बजारलाई प्राथमिक बजारका रूपमा लिन सकिन्छ ।

प्राथमिक बजारमा जारी धितोपत्रलाई कम्पनीले धितोपत्र विनिमय बजारमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ । सो सूचीकरण धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (धितोपत्र विनिमय बजार) मा ब्रोकरमार्फत दोस्रोबजारमा खरीद वा विक्री हुन्छ ।

धितोपत्र बजारका प्रकार
प्राथमिक बजार

पब्लिक कम्पनीमा संस्थापक शेयरधनी र सर्वसाधारण शेयरधनी रहेको हुन्छ । कम्पनीका संस्थापकले स्थापनाका बखत शेयर खरीद गरेको हुन्छ र केही प्रतिशत सर्वसाधारणका लागि छुट्याएको हुन्छ ।

यसरी सर्वसाधारणका लागि छुट्याएको शेयर पहिलोपल्ट विक्री गर्ने गरिन्छ भने सो विक्री हुने बजारलाई प्राथमिक बजार भनिन्छ । शेयरबजारमा सर्वसाधारणलाई प्रारम्भिक प्रस्ताव राख्ने हुँदा यसलाई आईपीओ अर्थात् इनिसियल पब्लिक अफर पनि भनिन्छ । यसमा सर्वसाधारणका लागि खुला रूपमा शेयर खरीद गर्न पाउने गरी आह्वान गरिएको हुन्छ ।

यस्तै आईपीओमा शेयर जारी गरेपछि पनि कम्पनीले नयाँ सर्वसाधारणलाई शेयर जारी गर्न सक्छ । यसलाई फर्दर पब्लिक इस्यु (एफपीओ) भनिन्छ । धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ३१ अनुसार प्राथमिक बजारममा शेयर निष्कासन गर्दा विवरणपत्रको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

ऐनमा निष्कासनकर्ताको सम्पत्ति तथा दायित्व, आर्थिक स्थिति, नाफा–नोक्सान, भविष्यमा अपेक्षित कुराहरू सम्बन्धमा मूल्याङ्कन गर्न पर्याप्त हुने जानकारीहरू समावेश भएको विवरणपत्र मात्र बोर्डले स्वीकृत गर्ने व्यवस्था छ ।

दोस्रो बजार

कम्पनीले प्राथमिक बजारमा जारी शेयर गरेको शेयर स्टक एक्सचेञ्जमा सूचीकृत गराउनुपर्छ । प्राथमिक बजारमा जारी भएको धितोपत्र लगानीकर्ताले दोस्रो बजारका रूपमा रहेको नेपाल स्टक एक्सचेञ्जमा ब्रोकरमार्फत खरीद वा विक्री गर्न सक्छ ।

यसरी धितोपत्र कारोबार हुने बजारलाई दोस्रो बजार भनिन्छ । दोस्रो बजारमा शेयर कारोबार गर्दा लगानीकर्तालाई मूल्यवृद्धि भई फाइदा हुने र मूल्यमा गिरावट आएमा नोक्सान हुन सक्छ । दोेस्रो बजारमा धितोपत्र सामान्य र असामान्य उतारचढाव भइरहेको हुन्छ ।

प्राथमिक बजार र दोस्रो बजारमा विगतमा भएका केही कानूनी प्रक्रियामा परिर्वतन भइरहेको छ । विगतमा प्राथमिक बजारमा शेयर खरीद गर्न दरखास्तका साथ कबुल गरेको रकम जम्मा गर्नुपर्दथ्यो ।

दरखास्त बुझाउन दिनभरि लाइन बस्नुपर्ने थियो भने शेयर बाँडफाँटमा नपरकाले रकम फिर्ता लिन पनि लाइन नै बस्नुपर्ने झन्झट थियो । सो झन्झट हटाउन धितोपत्र खरीद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ (आस्बा) लागू गरेको छ ।

सो निर्देशिकाले धितोपत्र खरीद दरखास्तसम्बन्धी व्यवस्थामा परिवर्तन ल्याएको छ । उक्त निर्देशन जारी भएपछि बैङ्क वा वित्तीय संस्थाले कुनै सङ्गठित संस्थाको धितोपत्र सार्वजनिक निष्कासन हुँदाका बखत त्यस्तो धितोपत्र खरीद गर्न इच्छुक लगानी कर्ताको आफ्नो बैङ्क वा वित्तीय संस्थामा खाता भएको आधारमा दरखास्त सङ्कलन गर्न सक्छ ।

दरखास्त सङ्कलन गर्ने प्रयोजनका लागि बैङ्क वा वित्तीय संस्थाले विद्युतीय प्रणाली (अनलाइन सिस्टम) को समेत प्रयोग गर्न सक्नेछन् ।

धितोपत्र खरीदका लागि प्राप्त हुन आएका दरखास्त उपर जाँचबुझ गर्दा बेहोरा उचित देखिएमा सम्बन्धित बैङ्क वा वित्तीय संस्थाले त्यस्ता लगानीकर्ताको खातामा रहेको रकममध्ये निजले दरखास्तमा माग गरेबमोजिमको धितोपत्र खरीदका लागि लाग्ने रकम धितोपत्रको बाँडफाँट (शेयर एलटमेण्ट) कार्य सम्पन्न नभएसम्म झिक्न नपाउने गरी रोक्का राख्नुपर्ने व्यवस्था छ ।

धितोपत्र बोर्डले धितोपत्र बजारमा चालेका कदमहरुमा धितोपत्र सार्वजनिक निष्कासन गर्नुअघि क्रेडिट रेटिङ (साख मूल्याङ्कन) गर्नुपर्ने व्यवस्था गरेको छ । यसबाट शेयरबजारमा पारदर्शिता ल्याउने विश्वास गरेको छ ।

यस्तो व्यवस्थाले धितोपत्र खरीद गर्नुअघि सम्बन्धित कम्पनीको अवस्था ९वित्तीय व्यवस्थापकीय आदि०बारे जानकारी लिन सकिन्छ ।

धितोपत्र बजारमा कुनै कम्पनीको शेयर मूल्यमा हुनसक्ने अस्वाभाविक उत्तर चढावमा नियन्त्रण आउने तर्क रहे तापनि यसबारे लगानीकर्ताले महत्त्व दिइएको पाइँदैन ।यसैबीच धितोपत्र बोर्डले शेयर प्रमाणपत्रको ठाउँमा डिम्याटको प्रचलन ल्याएको छ ।

डिम्याटको प्रचलनपछि शेयरधनीले आफ्नो शेयर प्रमाणपत्र बुझाउन धेरै समय खेर फाले भने धेरै शेयरधनीको शेयरको डिम्याट गर्न दिएको डिम्याट एकाउण्टमा नआउने, प्रमाणपत्र हराउने, दस्तखत मिलेन भनी मर्चेण्ट बैङ्करले दुःख भोग्नेको सङ्ख्या पनि धेरै देखिएको छ ।

अझ यता राइट शेयरका लागि फिजिकल तथा डिम्याटबारे शेयरधनी अलमल परी राइट शेयर भर्न छुट्नेको सङ्ख्या पनि बढेको छ । धितोपत्र खरीद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ (आस्बा)ले ल्याएको व्यवस्था राइट शेयरमा लागू हुन सकेको छैन ।

सर्वसाधारण लगानीकर्ताको हितका लागि कम्पनी ऐनले स्वतन्त्र तथा महिला सञ्चालक राख्नुपर्ने व्यवस्था छ भने सो कानूनी व्यवस्था पालन नगर्नेलाई कारबाही गर्ने सवालमा पनि नेपाल धितोबोर्ड मौन रहेको छ । अभियानबाट

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको