Like us!
Follow us!
Connect us!
Watch us!

कमोडिटीज एक्सचेञ्जकाे लाइसेन्स प्रक्रिया कहाँ अड्कियो ?

अर्थ संसार

मंगलबार, ०२ साउन २०८०, १४ : ५९ मा प्रकाशित

कमोडिटीज एक्सचेञ्जकाे लाइसेन्स प्रक्रिया कहाँ अड्कियो ?

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले एक महिनाभित्रै टुङ्गाेमा पुर्याउने लक्ष्यका साथ अघि बढाएकाे कमोडिटीज एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया ३ महिना लाग्दा पनि हालसम्म केही अत्ताेपत्ताे छैन ।  कमोडिटीज एक्सचेन्जको लाइसेन्स दिन हाल सेबाेनले के गरिरहेछ भनेर बुझ्न आज हामीले धिताेपत्र बाेर्डका प्रवक्ता एवम् कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठसँग कुरा गर्याैँ ।

उनका अनुसार यतिबेला धिताेपत्र बाेर्डले मूल्याङ्कन समितिकाे रिपाेर्ट कुरिरहेकाे छ । धिताेपत्र बाेर्डकाे वैशाख १७ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा चार सदस्यीय मूल्याङ्कन समिति गठन गरेकाे थियाे । साे मूल्याङ्कन समितिमा अर्थमन्त्रालयको तर्फबाट रितेश कुमार शाक्य, राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक मुकुन्द कुमारी क्षेत्री र धिताेपत्र बाेर्डका कार्यकारी निर्देशक मुक्तिानाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका गिरी रहेका छन् ।

बाेर्डले खुलाएकाे कमोडिटीज एक्सचेन्जफर्त ४ वटा आवेदन परेको थियो । तर, बोर्डले दुई वटा कमोडिटीज एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिनेछ । आवेदन परेपश्चात् बोर्डले प्रक्रियागत रुपमा कम्पनीको मूल्याङ्कन गर्नूपर्ने हुन्छ । त्यसैका लागि मूल्याङ्कन समिति बनाइएकाे हाे । याे समितिले आवेदन दिएका कम्पनीहरुको मूल्याङ्कन गर्नेछ । त्यसपछि मूल्याङ्कन समितिले सिफारिससहित सञ्चालक समितिमा मूल्याङ्कन प्रतिवेदन पठाउनेछ । त्यसपछि बोर्डले कम्पनीलाई लाइसेन्स दिनेछ । 

बाेर्डले याे सबै प्रक्रिया एक महिनाभित्रै सक्याएर लाइसेन्स वितरण टुंगोमा पुर्याउने लक्ष्य लिएकाे थियाे । तर लक्ष्य बमाेजिम कार्य नभएपछि कमोडिटीज एक्सचेन्जको लाइसेन्स प्रक्रिया कहाँ अड्कियो भनेर लगानीकर्ताहरूले विभिन्न माध्यममार्फत् चासाे देखाइरहेका छन् । सेबाेनका अनुसार कमोडिटीज एक्सचेन्जको लाइसेन्स प्रक्रिया अझै केही लम्बिने देखिएकाे छ । हालसम्म मूल्याङ्कन समितिले प्रतिवेदन बनाइसकेकाे छैन । समितिले प्रतिवेदन बनाएपछि पनि अरू प्रक्रियाका लागि केही समय लाग्नेछ । 

अन्तिम दिनसम्म कमोडिटीज मार्केटका लागि मल्टी एसेट्स एन्ड डेरिभेटिम एक्सचेन्ज (म्याक्स), मल्टी डेरिभेटिम एक्सचेन्ज, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ र नेपाल मल्टी कमोडिटीज एक्सचेन्जको आवेदन दिएका थिए । तर यीमध्ये धितोपत्र बोर्डले दुईवटा मात्रै कम्पनीलाई कमोडिटीजको लाइसेन्स दिनेछ ।

लाइसेन्स दिन के छ मूल्याङ्कन प्रक्रिया ?

कम्पनीको चुक्ता पूँजी, कम्पनीको व्यवसायीक कार्य योजना, सञ्चालकको योग्यता तथा अनुभव, प्रस्तावित प्रविधिको गुणस्तरको आधारमा मूल्याङ्कन गरिनेछ । सोही मापदण्डहरुको आधारमा आवेदन दिएको कम्पनीलाई अंक दिइनेछ । यसमा १०० नम्बरको पुर्णाङ्क छ । जसमध्ये, कार्ययोजनामा ६० अंक, प्रविधिको गुणस्तरमा २४ अंक, सञ्चालकको योग्यतामा ८ अंक र पूँजीमा ४ अंकको भार छ । यसमा मूल्याङ्कन समितिले कार्यायोजना बाहेक अन्य मापदण्डमा मूल्याङ्कन गर्नुपर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको