Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सको सेयर किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस्, एक विश्लेषण

विहीबार, १६ कार्तिक २०७४, ०८ : ४६ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सको सेयर किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस्, एक विश्लेषण

गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, १६ कात्तिक २०७४)

प्रमुख गतिविधि
गत असार ९ गते सम्पन्न भएको कम्पनीको साधारणसभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करबापतको रकमलाई नगद लाभांशका रूपमा वितरणको प्रस्ताव पारित गरेको थियो । साथै, उक्त सभाले कम्पनीको चुक्ता पूँजी वृद्धिका लागि विशेष प्रस्तावका रूपमा पारित ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकका रूपमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :

  • कम्पनीले चालू आर्थिक वर्ष २०७३/७४ को चौथोे त्रैमासमा खुद मुनाफा १७ प्रतिशत वृद्धि गरी ३ करोड १० लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ६६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

  • कम्पनीले आफ्नो पूँजी वृद्धि भएसँगै प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न सफल भएको देखिन्छ । यो अवधिमा कम्पनीको पूँजी ८ प्रतिशत वृद्धि भएकोे छ भने प्रतिशेयर आम्दानी ८ प्रतिशत वृद्धि भएर ५ दशमलव २३ रुपैयाँ पुगेको छ ।

  • कम्पनीको जगेडा ९ प्रतिशत घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा १८ करोड ७२ लाख रहेको जगेडा यो त्रैमासमा १७ करोड १२ लाख पुगेको छ ।

  • कम्पनीको जीवन बीमाकोषमा ३८ प्रतिशत वृद्धि गरेर ३ अर्ब ७ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

  • कम्पनीको कुल बीमा शुल्क आर्जन रकम २५ प्रतिशत वृद्धि भएर १ अर्ब २० करोड पुग्दा खुद बीमा शुल्क आम्दानी गत त्रैमासभन्दा २२ प्रतिशत वृद्धि भएर १ अर्ब १२ करोड पुगेको छ ।

  • यस त्रैमाससम्ममा कुल दाबी भुक्तानी रकम २०५ प्रतिशत वृद्धि भएर १५ करोड ६३ लाख छ । त्यस्तै, खुद दाबी भुक्तानी १४ करोड ५२ लाख छ, जुन अघिल्लो आर्थिक वर्षको भन्दा २१४ प्रतिशत धेरै हो ।

  • कुल दाबी भुक्तानी सङ्ख्या १ हजार २ सय ७९ रहेको छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या ४२ छ ।

  • कम्पनीको चौथो त्रैमासमाप्रति शेयर आम्दानी ५ दशमलव २३ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १९५ दशमलव १३ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ३२ दशमलव ५१ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ७ सय ४ दशमलव ८२ रुपैयाँ छ ।

निष्कर्ष
चुक्ता पूँजी वृद्धिअनुसार प्रतिशेयर आम्दानीलाई पनि सन्तुलनमा राख्दै अगाडि बढ्नुलाई कम्पनीको व्यवस्थापनको सफलताका रूपमा लिनुपर्छ । समीक्षा अवधिमा कम्पनीले बीमा शुल्क आर्जन, खुद मुनाफा, कायम रहेको बीमालेखको सङ्ख्यामा प्रगति हासिल गरेको छ । बीमाङ्कीय मूल्याङ्कनको हिसाबबाहेक प्रतिशेयर आम्दानी ५ दशमलव २३ रुपैयाँ कायम गरेको छ । बीमा समितिले तोकेको २०७५ असारसम्म २ अर्ब पु¥याउन केही बोनस र बाँकी रकम हकप्रद विक्री गर्ने पूँजी योजना पेश गरेको कम्पनीले चाँडै जारी गर्ने ५० प्रतिशतको हकप्रद र बजारमा सञ्चालनमा आउन लागेका नयाँ १० ओटा जीवन बीमा कम्पनीका कारण आउँदा दिनमा यस कम्पनीलाई पूँजी वृद्धिअनुरूप मुनाफा वृद्धि गर्दै प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न चुनौती थपिने देखिन्छ ।

प्राविधिक विश्लेषण : गुराँस लाइफ इन्स्योरेन्स टेवाक्षेत्रमा

प्रतिरोध २ : ११८९ । प्रतिरोध १ : १०९१ । टेवा १ : ९७० । टेवा २ : ८७० । हालको अन्तिम मूल्य : १०१४

बजारको अवस्था
यस कम्पनीको १ नोभेम्बर, २०१७ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा कम्पनीको अन्तिम कारोबार मूल्य १ हजार १४ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा २८ अङ्क अर्थात् २ दशमलव ८४ प्रतिशत बढी हो । अन्तिम दिनको परिमाण ४८ सय २४ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा १८ सय ५३ कित्ता बढी हो ।

मूल्यको प्रवृत्ति विश्लेषण
२७ जुलाई, २०१७ मा मूल्यको प्रवृत्तिले १३ सयको उच्च बिन्दु प्राप्त गरेपछि फेरि त्यो उचाइ तोड्न सकेको छैन र मूल्य घट्दो प्रवृत्तिमा रहेको देखिन्छ ।

अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : विगत २ महीनादेखि २१ दिनको ईएमएभन्दा मूल्य प्रवृत्ति तल रहेकोले बजार घट्दो प्रवृतिमा रहेको देखिन्छ र हाल यो ईएमए प्रतिरोधको रूपमा देखिन्छ ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ४३ अङ्कमा रहेको छ । यसको प्रवृत्ति हेर्दा बजार सकारात्मक भइसकेको देखिँदैन ।

मैनबत्ती : अन्तिम २ दिनको मैनबत्तीहरुले बुलिश हरामी आकृति बनाएको देखिन्छ । यसले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने सङ्केत गर्दछ ।

निष्कर्ष
मूल्यको प्रवृत्ति र माथि उल्लिखित सूचकलाई समग्र रूपमा हेर्दा हाल बजार घट्दो प्रवृत्तिमा रहे पनि हाल बजार टेवा क्षेत्रबाट माथि फर्कन खोजेको जस्तो देखिन्छ र यदि मूल्य १ हजार ९१ भन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने सङ्केत गर्दछ र अर्को प्रतिरोध ११ सय ८९ मा रहेको देखिन्छ । त्यस्तै, यदि मूल्य ९ सय ७० भन्दा तल झरेमा अर्को टेवा ८ सय ७० मा रहेको देखिन्छ । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको