गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन क्षेत्रको नाफा घटेको छ । ६ वटा होटलमध्ये ३ वटाको नाफा वृद्धि हुँदा पनि दुई वटाको नाफा घट्दा समग्र होटल क्षेत्रको नाफामा गिरावट देखिएको हो । एउटा होटल भने नोक्सानीमा रहेको छ ।
नेप्सेमा सूचीकृत भएका ६ वटा होटलहरुको नाफा ०.९१ प्रतिशतले घटेको हो । गत वर्ष होटलहरुको नाफा १ करोड १५ लाख २४ हजार रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको अन्तिमसम्ममा ६ वटा होटलको नाफा १ अर्ब २४ करोड ६४ लाख २६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको अन्त्यसम्ममा यी होटलहरुको नाफा १ अर्ब २५ करोड ७९ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
हाल नेप्सेमा सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियण्टेल होटल्स, चन्द्रागिरि हिल्स, कालिन्चोक दर्शन र सिटी होटल सूचीकृत छन् । जसमध्ये सिटी होटल नोक्सानीमा छ भने ओरियण्टेल होटल र तारागाउँ रिजेन्सी होटलको नाफा घटेको छ । बाँकी तीन वटाको नाफा भने अघिल्लो आवको भन्दा बढेको छ ।
५ प्रतिशतले बढ्यो चन्द्रागिरि हिल्सको नाफा
वित्तीय विवरण अनुसार चन्द्रागिरि हिल्सको गत आर्थिक वर्ष २०८१/८२ मा २१ करोड ८ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको भन्दा ५.४६ प्रतिशतले धेरै हो । चन्द्रागिरीको नाफा अघिल्लो वर्ष १९ करोड ९९ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा चन्द्रागिरीको सञ्चालन आम्दानी ९.७६ प्रतिशत घटेर ९० करोड २४ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब १ लाख १५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ११ करोड ६८ लाख ४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.६१ रुपैयाँ रहेको छ ।
कालिञ्चोक दर्शनको नाफामा उच्च वृद्धि
कालिञ्चोक दर्शनको गत वर्ष २ करोड ७८ लाख २ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा ४७.०८ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मा यो कम्पनीको नाफा १ करोड ८९ लाख २ हजार रुपैयाँ रहेको थियो । गत वर्ष कम्पनीको आम्दानी ३४.६९ प्रतिशत बढेर ७ करोड ९३ लाख ५५ हजार रुपैयाँ, सञ्चालन आम्दानी ३५.६५ प्रतिशत बढेर ७ करोड ६३ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।
६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ३ करोड १६ लाख ५३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.४१ रुपैयाँ रहेको छ ।
सोल्टी होटलले कमायो ६७ करोड नाफा
सोल्टी होटलको गत वर्ष ६७ करोड माथिको नाफा आर्जन गर्न सफल भएको छ । यो होटलले गत आवमा ६७ करोड ७ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा ११.७७ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यो होटलको नाफा ६० करोड ४२ हजार रुपैयाँ रहेको थियो । समीक्षा वर्षमा कम्पनीको कुल आम्दानी १०.८७ प्रतिशत बढेर २ अर्ब ७७ करोड ८९ हजार रुपैयाँ र कुल खर्च ११.११ प्रतिशत बढेर १ अर्ब ९४ करोड १६ लाख १४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षमा यो होटलको चुक्ता पुँजी १० प्रतिशत बढेर १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १.५४ रुपैयाँ बढेर ६.५६ रुपैयाँ पुगेको छ । होटलको प्रतिसेयर नेटवर्थ २७.१५ रुपैयाँ रहेको छ ।
८३ प्रतिशतले घट्यो ओरियण्टल होटल्स
ओरियण्टल होटल्सको नाफामा गत आर्थिक वर्षमा उच्च गिरावट देखिएको छ । यो होटलको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ८३.४२ प्रतिशतले घटेको छ । होटलको वित्तीय विवरण अनुसार गत आवमा २ करोड ५ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको अन्तिमसम्ममा यो होटलको नाफा १२ करोड ३९ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा वर्षमा होटलको सञ्चान आम्दानी ९.१९ प्रतिशत घटेर १ अर्ब ४ करोड ९३ लाख ४३ हजार रुपैयाँ, अन्य आम्दानी ५६.९१ प्रतिशत घटेर २ करोड ६३ लाख ४५ हजार रुपैयाँ र कुल नाफा ११.५९ प्रतिशत घटेर १ अर्ब ७ करोड ५६ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत आवमा होटल्सको चुक्ता पुँजी ४.९९ प्रतिशतले बढेर १ अर्ब १८ करोड ४४ लाख ९४ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोष १.०८ प्रतिशत घटेर २ अर्ब ७१ करोड ७८ लाख ४ हजार रुपैयाँ पुगेको छ । होटल्सको प्रतिसेयर आम्दानी १.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३२८.२१ रुपैयाँ रहेको छ ।
तारागाउँ रिजेन्सीको नाफामा सामान्य गिरावट
गत आर्थिक वर्षमा तारागाउँ रिजेन्सी होटल्सको नाफामा सामान्य गिरावट देखिएको छ । यो होटल्सको खुद नाफामा ०.५४ प्रतिशतले कमी आएको छ । यो होटल्सले गत आवमा ५१ करोड ५४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ५१ करोड ८२ लाख ६८ हजार रुपैयाँ रहेको थियो । गत आवमा तारागाउँको सञ्चालन आम्दानी १.६८ प्रतिशत बढेर १ अर्ब ५२ करोड १६ लाख ४९ हजार रुपैयाँ, अन्य आम्दानी ११.४१ प्रतिशत घटेर २१ करोड ४३ लाख ७ हजार रुपैयाँ र कुल आम्दानी ०.१३ प्रतिशत घटेर १ अर्ब ७३ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।
१ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ चुक्ता पुँजी भएको होटल्सको जगेडा कोष ३२.२५ प्रतिशत बढेर १ अर्ब २० करोड ९६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत आवमा तारागाउँको प्रतिसेयर आम्दानी २६.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.६५ रुपैयाँ रहेको छ ।
सिटि होटल १९ करोड बढीले नोक्सानीमा
गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार सिटि होटल भने नोक्सानीमा रहेको छ । सिटी होटल गत वर्ष १९ करोड ८९ लाख ६५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो आवमा सिटिको नोक्सानी २० करोड ३२ लाख २४ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा सिटि होटलको सञ्चालन आम्दानी ३.४४ प्रतिशत घटेर ४८ करोड ६८ लाख ४८ हजार रुपैयाँ, अन्य आम्दानी ५४.६४ प्रतिशत घटेर ३ करोड ५४ लाख ६६ हजार रुपैयाँ र कुल आम्दानी १०.३२ प्रतिशत घटेर ५२ करोड २३ लाख १५ हजार रुपैयाँ गरेको छ । १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ३२ करोड ९ लाख ६ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँले ऋणात्मक छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ८०.८३ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस