Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसायीको मनोबल बढाउन जरुरी छः अध्यक्ष ढकाल

अर्थ संसार

सोमबार, २५ भदौ २०८०, २१ : १२ मा प्रकाशित

अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसायीको मनोबल बढाउन जरुरी छः अध्यक्ष ढकाल

उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

सोमबार भएको भेटका क्रममा महासंघ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताए । उनले अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको स्मरण गराउँदै निजी क्षेत्र सम्मानित भएर आफ्नो काम गर्न सक्ने वातावरण आवश्यक रहेको बताए ।

अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रिय बैंक र सरकार दुवैको भूमिका रहेको अध्यक्ष ढकालको भनाइ थियो । उप प्रधानमन्त्री एवं गृहमन्त्रीको जिज्ञासामा अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रको मर्यादाक्रमको व्यवस्था गर्नुपर्नेमा जोड दिए । ‘हामीले निजी क्षेत्रको मर्यादाक्रमका लागि सरकारसमक्ष आग्रह गरिरहेका छौ,’ उनल भने, ‘अहिलेको अवस्थामा मनोबल बढाउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

उप प्रधान एवं गृहमन्त्री श्रेष्ठले यस बिषयमा काम भैरहेको र छिट्टै निर्णय गरिने बताए । यसैगरि अध्यक्ष ढकालले सिमा क्षेत्रमा हुने अवैध आयात निर्यात नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताए । कैलालीको गौरीफन्टामा रहेको क्वारेन्टाइन पुनः संचालनका लागि पनि अध्यक्ष ढकालले आग्रह गरे । महासंघका पदाधिकारी एवं प्रदेश अध्यक्षहरु सहभागि रहेको भेटवार्तामा गिटी वालुवा लगायतका वस्तुहरुको आवश्यक वातावरणीय लगायतका प्रभाव अध्ययन गरि निकासी गर्न दिइनुपर्ने सुझाव पेश गरिएको थियो ।

यसैगरि नयाँ बनेका पोखरा र गौतम वुद्ध विमानस्थल संचालनका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव महासंघको थियो । सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा बजारमा रकम प्रवाह गर्न बिकास निर्माणमा सरकारी लगानी आवश्यक रहेकोमा जोड दिइएको थियो । उप प्रधान एवं गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि सरकारले सम्बन्धित सबैसंग छलफलको तयारी गरिरहेको बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको