Like us!
Follow us!
Connect us!
Watch us!

गत आवमा मात्रै ६९.१५ अर्बको १२ हजार १२८ वटा बैङ्किङ कसुर मुद्दा

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, ०३ : ५३ मा प्रकाशित

गत आवमा मात्रै ६९.१५ अर्बको १२ हजार १२८ वटा बैङ्किङ कसुर मुद्दा

पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण गत आर्थिक वर्ष २०७९-८० मा बैङ्किङ कसुर सम्बन्धी पर्ने मुद्दाको सङ्ख्या उच्च दरमा बढेको छ । गत आवमा यस्तो मुद्दा सङ्ख्याका आधारमा १२४ प्रतिशत र बिगो रकमका आधारमा ३८६ प्रतिशतले बढेको छ । नेपाल प्रहरीबाट प्राप्त तथ्याङ्कले यस्तो देखाएको हो ।

आव २०७८-७९ मा देशभर बैङ्किङ कसुरमा ५ हजार ४१६ वटा मुद्दा परेको थियो । त्यसको बिगो रकम १४ अर्ब २१ करोड ७५ लाख रुपैयाँ हाराहारी थियो । तर, गत आव २०७९- ८० मा मात्रै १२ हजार १२८ वटा यस्तो मुद्दा परेको छ, जसको बिगो रकम ६९ अर्ब १५ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस मुद्दामा प्रहरीले २ हजार ४७७ जनालाई पक्राउ गरेको छ । कुल मुद्दामा ७ हजार ४१३ वटा मुद्दा पर्छौट  भएको छ । ४ हजार ७१० वटा मुद्दा भने बाँकी नै छन् । चेक बाउन्स, हुन्डी, सहकारी ठगी लगायतका घटनामा यतिका मुद्दा दर्ता भएका हुन् । 

चेक बाउन्सको मुद्दा बढी, दोस्रोमा सहकारी ठगी

बैङ्किङ कसुर सम्बन्धी मुद्दामा सबै भन्दा बढी मुद्दा भने चेक बाउन्सको रहेको छ । समीक्षा वर्षमा चेक बाउन्स सम्बन्धी १२ हजार ३० वटा मुद्दा परेको छ । त्यसको बिगो रकम ४७ अर्ब ५० करोड २६ लाख रुपैयाँ रहेको छ । यस्तै, दोस्रो नम्बरमा सहकारी ठगी सम्बन्धी मुद्दा छ ।

 तथ्याङ्क अनुसार सहकारी ठगीमा १८ अर्ब ८२ करोड ७५ लाख बराबरको ५३ मुद्दा परेको छ । गत आवमा बैङ्किङ कसुरमा ६ अर्ब ७१ करोड ९२ लाख बराबरको ५ हजार ३७० वटा मुद्दा परेको थियो । यसै गरी सहकारी ठगी तर्फ ७ अर्ब ३९ करोड ३६ लाख बराबरको १५ मुद्दा परेको थियो । पछिल्लो समय देखिएको आर्थिक सङ्कटले सहकारीहरूले बचतकर्ताको पैसा फिर्ता गर्न सकेका छैनन् । उनीहरूले जथाभाबी लगानी गर्दा पनि यस्तो समस्या आएको छ । फलस्वरूप सहकारी ठगी सम्बन्धी मुद्दा बढेको प्रहरीको भनाइ छ । 

किन बढ्यो मुद्दा ?

यसै पनि पछिल्ला बर्सहरूमा बैङ्किङ कसुरको मुद्दा बढ्दै गएको छ । तर, गत आवमा भने आर्थिक सङ्कटका कारण यस्तो मुद्दा बढ्न थप सहयोग पुगेको बताइन्छ । आर्थिक सङ्कटका कारण आम व्यवसायी सङ्घ संस्था तथा कम्पनी र व्यक्तिहरूले पनि उदारो लगायतका दायित्व रकममा भुक्तानी गर्न सकेका छैनन् । त्यसपछि बैङ्किङ कसुर सम्बन्धी मुद्दा बढ्न थालेको हो ।

नेपाल प्रहरीका एक अधिकारीले पछिल्लो आर्थिक सङ्कटका कारण यस्तो मुद्दाको सङ्ख्या बढेको बताउँछन् । साथै, चेक कारोबार गर्दा कानुनी प्रक्रिया अगाडि बढाउँदा सजिलो हुने भएपछि पनि मुद्दाको सङ्ख्या बढेको उनको भनाइ छ । ‘कारोबार गर्दा तमसुक बनाउँदा वडा कार्यालय लगायतका विभिन्न निकायमा धाउनुपर्ने हुन्छ । तर, चेक भएपछि बाउन्स गरेर सिँधै मुद्दा प्रक्रियामा जान सकिन्छ,’ उनले भने, ‘साथै, पैसा नदिएपछि कानुनी प्रक्रिया अघि बढाउन पर्छ भन्ने चेता पनि आम मानिसमा बढेको छ । 

कुन वर्ष कति मुद्दा ?

प्रहरीको तथ्यांक अनुसार पछिल्ला हरेक वर्ष बैङ्किङ कसुर सम्बन्धी मुद्दा बढ्दै गएको छ । आव २०७४-७५ मा बैङ्किङ कसुरमा ७५५ वटा मुद्दा परेको थियो । तर, गत आवसम्म आउँदा त्यस्तो सङ्ख्या ह्वात्तै बढेको छ । तथ्यांक अनुसार २०७७-७८ मा बैङ्किङ कसुरको मुद्दाको केही घटेको थियो । त्यस बेला कोरोना महामारी नियन्त्रण गर्न लकडाउन गर्दा अदालतहरू पनि बन्द थिए । त्यस कारण यस्तो मुद्दाको सङ्ख्या घटेको थियो । त्यस बाहेकको अवस्थामा हरेक वर्ष यस्तो मुद्दाको सङ्ख्या  र बिगो रकम पनि बढ्दै गएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको