Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री र गभर्नर बीच २ घण्टा लामो छलफल :अर्थमन्त्रीको प्रश्नमा गभर्नरले भने अबको बैठकमा छलफल गराउँछु

लोकेन्द्र ढकाल

बुधबार, १७ असोज २०८०, १८ : १४ मा प्रकाशित

अर्थमन्त्री र गभर्नर बीच २ घण्टा लामो छलफल :अर्थमन्त्रीको प्रश्नमा गभर्नरले भने अबको बैठकमा छलफल गराउँछु

अर्थमन्त्री डा.प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारी बीच सोमबार साँझ छलफल भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार सिंहदरवारमा अर्थमन्त्री डा. महत र गभर्नर अधिकारी बीच करिब २ घण्टा लामो छलफल भएको हो । छलफलको अधिकांस समय सुस्त रहेको अर्थतन्त्रलाई कसरी चलाएमान गराउन सकिन्छ भन्ने विषयमा केन्द्रीत भएको थियो । छलफल कै क्रममा अर्थमन्त्री डा.महतले गभर्नर अधिकारीलाई सेयर धितो कर्जाको १२ करोडको सीमालाई पुरै हटाइदिन भनेर भनेको अर्थ मन्त्रालय स्रोतले अर्थ संसारलाई बतायो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार गभर्नर अधिकारीले अब बस्ने राष्ट्र बैंकको बैठकमा छलफल गराउँछु भन्दै अर्थमन्त्री डा. महतलाई बताएका थिए । गभर्नर अधिकारीले सेयर धितो कर्जाको नीतिलाई संशोधन गराउन प्रकियाबाट नै अघि बढाउनु पर्ने समेत बताएका थिए । उनले राष्ट्र बैंक अहिले त्यसको अन्तिम तयारी लागिरहेको बताएका थिए । 

अर्थ मन्त्रालय स्रोतका अनुसार  सेयर धितो कर्जाको १२ करोडको सीमा बारे अर्थमन्त्री डा महतले यसलाई गम्भीर रुपमा लिँदै सर्कुलर गराउन बारम्बार गभर्नरलाई भनेका थिए । १२ करोड सीमा बारे अर्थमन्त्री-गभर्नर बिच पाँच-सात मिनेटसम्म कुरा चलेको थियो । छलफलका क्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकले ४ र १२ को नीति ल्याउँदा पनि अध्ययन अनुसन्धान गरेर आवश्यक महसुस गर्दै ल्याएको र यसलाई चलाउँदा पनि सोही अनुसार गर्न लागिरहेको भन्दै अर्थमन्त्रीलाई प्रकिया बताएका थिए ।

 छलफलमा अर्थमन्त्री डा. महतले सेयर कर्जा धितोको १२ करोडको सीमालाई पुरै हटाइदिन गभर्नर अधिकारीलाई भनेका थिए । अर्थमन्त्री डा.महतले अहिले अलिकति मात्र संशोधन गर्यो भने भोली फेरी यही रोग बल्झिरहन सक्ने भन्दै १२ करोडलाई खारेज नै गर्दिन गभर्नर अधिकारीलाई सुझाएका थिए । जवाफमा गभर्नर अधिकारीले अहिले राष्ट्र बैंक प्रकियामा अघि बढिरहेको र अब बस्ने बैठकमा छलफल गराउने विश्वास अर्थमन्त्री डा. महतलाई दिलाएको अर्थ मन्त्रालय स्रोतले अर्थ संसारलाई बताएको छ । 

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक बिहीबार र शुक्रबार बस्दैछ । बैठक सकिएको भोलिपल्ट अर्थमन्त्री डा.महत र गभर्नर अधिकारी अन्तराष्ट्रिय मुद्रा कोषको विश्वव्यापी सम्मेलनमा भाग लिन १० दिने विदेश भ्रमणको क्रममा २० गते शनिबार मोरक्को जाने कार्यतालिका रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको