नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अनिश्चित बनेको सन्दर्भमा प्रमुख दलका नेताहरुले विभिन्न कोणबाट धारणा सार्वजनिक गरेका छन्। सत्तारुढ गठबन्धनभित्रको तालमेल अभाव, प्रक्रियागत ढिलाइ, र विचौलियाको प्रभावजस्ता विषयले गभर्नर नियुक्ति प्रक्रिया विवादमा तानिएको छ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले गभर्नर नियुक्तिमा भएको ढिलाइ प्राविधिक कारण भएको दाबी गरे। उनले रिपोर्टर्स क्लब नेपालमा आयोजित ‘भारत–पाकिस्तान युद्धले नेपालमा पर्न सक्ने असर’ विषयक कार्यक्रममा बोल्दै भने, “संयुक्त सरकारमा एउटै दलले चाहेजस्तो एकैछिनमा प्रक्रिया अगाडि बढ्दैन। राजनीतिक तहमा समझदारी गर्नुपर्ने हुन्छ। कतिपय प्रक्रियागत कुरा मिलाउनुपर्ने हुन्छ। त्यसकारण गभर्नर नियुक्तिमा ढिलाइ भएको हो। मलाई लाग्छ— अब यो ढिलाइ धेरै जाँदैन, विषयहरु सल्टिँदै आएका छन्।”
तर, नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद अमनलाल मोदीले भने गभर्नर नियुक्ति ढिलाइ हुनुको कारण “विचौलिया” र “सेटिङ” रहेको आरोप लगाए। उनले प्रधानमन्त्री निवाससम्म विचौलियाको प्रभाव पुगेको भन्दै गम्भीर प्रश्न उठाए। “नेपाली कांग्रेसका महामन्त्रीले आफैं भन्नुभएको छ— विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म पुगेको छ। हामी सुन्दैछौं– मोटो रकममा विचौलियाहरुलाई केन्द्रमा राखेर कसरी नियुक्ति गर्ने भन्ने सेटिङ मिलाउने काम भइरहेको छ। त्यसैले अहिलेसम्म गभर्नर नियुक्ति हुन सकेको छैन,” – नेता मोदीले आरोप लगाए।
पूर्व योजना आयोग उपाध्यक्ष तथा अर्थशास्त्री डा. गोविन्दराज पोखरेलले पनि यही कार्यक्रममा बोल्दै गभर्नर नियुक्ति ढिलाइ हुनु गम्भीर आर्थिक विषयमा सरकारको उदासीनता र गैरजिम्मेवारीपनको संकेत भएको टिप्पणी गरे। उनले भने, “गभर्नर राष्ट्र बैंकको सबैभन्दा प्रमुख पद हो। यो पद लामो समय खाली रहनु असंवैधानिक मात्र होइन, अर्थतन्त्रमै अन्योलता पैदा गराउने विषय हो। यस्तो संवेदनशील नियुक्तिमा पारदर्शी र मर्यादित प्रक्रिया अपनिनुपर्छ।”
डा. पोखरेलले राष्ट्र बैंक जस्तो संस्थाको गभर्नर नियुक्तिमा राजनीतिक भागबन्डा, शक्तिकेन्द्रको चलखेल र वित्तीय दलालहरूको प्रभाव हावी हुनु लोकतान्त्रिक मूल्य विपरीत रहेको बताए। “यो पदको गरिमा गिर्दै गएको देखिएको छ, जुन लामो समयसम्म राष्ट्र बैंकको स्वतन्त्रतामाथि असर पार्न सक्छ,” – उनले चिन्ता व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस