Like us!
Follow us!
Connect us!
Watch us!

टि-२० विश्वकप छनोटमा मलेसियामाथि नेपालको सहज जीत, सेमिफाइनलमा स्थान पक्का

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, १६ : २५ मा प्रकाशित

टि-२० विश्वकप छनोटमा मलेसियामाथि नेपालको सहज जीत, सेमिफाइनलमा स्थान पक्का

आईसीसी टी-२० विश्वकप २०२४ को छनोटअन्तर्गत आज भएको खेलमा मलेसियालाई नेपालले ६ विकेटले पराजित गरेको छ ।

काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा टस जितेर मलेसियाले ब्याटिङ रोज्दै एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य पेश गरेको थियो । ब्याटिङको निर्णयलाई सही सावित गर्दै मलेसियाले शानदार शुरूवात गर्यो । टोलीले पावरप्लेमै एक विकेटको क्षतिमा ५८ रन बनायो । मलेसियाका लागि ओपनर सायद अजिज मुबारकले ६८ तथा जुबाइदी जुल्किफ्लेले २४ रन बनाए । सर्बिन मुनिएन्डी र विजय उन्नीले १३-१३ रन बनाए  तर त्यसबाहेकका खेलाडीले उल्लेख्य योगदान नसक्दा टोली २० ओभरमा एक सय ६५ रनमा समेटियो ।

बलिङतर्फ नेपालका अविनाश बोहोराले ४ विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक-एक विकेट लिए । प्रतिउत्तरमा १ सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ६५ तथा कुशल भुर्तेलले ४३ र आसिफ सेखले ३२ रन बनाए । सन्दीप जोराले पनि १८ रन बनाए ।

पहिलो खेलमा सिङ्गापुरलाई हराएको नेपाल आजको खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरेको । हिजो ओमानसँग पराजित मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले समूहको अन्तिम खेलमा ओमानसँग खेल्नेछ । नेपालसँगै ओमानले पनि आज सिङ्गापुरलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । आठ टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोली टी-२० विश्वकपमा छनोट हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको