आज कार्तिक १६ गते देखि भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको हो ।
उक्त हाइड्रोपावरलाई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले ‘आइआरएन डबल बी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सेती नदीको पानीबाट २५ मेगावाटको सेतीनदी जलविद्युत् आयोजना निर्माण गरेको छ ।
उक्त जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ भने कुल लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.४६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ । कम्पनीको २०७८/७९ को वित्तीय विवरण अनुसार वास्तविक नेटवर्थ १२१.७८ रुपैयाँ रहेको छ । यस हिसाबले उक्त कम्पनीको दोस्रो बजारमा ओपनिङ रेञ्ज पनि १२१.७८ देखि ३६५.३४ रुपैयाँसम्म हुनेछ ।
कम्पनीको अपरिष्कृत नेटवर्थ २०७९/८० मा १३९.७७ रहेको छ भने प्रक्षेपित नेटवर्थ २०८०/८१ मा १४७.१४ र २०८१/८२ मा १६४.८५ रहेको छ । यस हाइड्रोको निर्माण विद्युत उत्पादन हुने सम्भावित मिति २०८० को माघ २९ गते रहेको उल्लेख गरिएको छ । कम्पनीको २०७९/८०को अपरिष्कृत प्रतिसेयर आम्दानी २१.८१ रुपैयाँ रहेको छ भने प्रक्षेपित प्रतिसेयर आम्दानी २०८०/८१ मा १५.३१ र २०८१/८२ मा १७.७१ रुपैयाँ रहेको छ ।
आयोजनाले विसं २०७७/०३/१५ गतेदेखि विद्युत उत्पादन इजाजतपत्र लिएकोमा उक्त इजाजत २११२/०३/१४ सम्म कायम रहनेछ । यस हिसाबले कम्पनीको विद्युत उत्पादन अनुमति ३२ वर्ष बाकिँ रहेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस