Like us!
Follow us!
Connect us!
Watch us!

लोकप्रिय बन्दै नेपाली सर्ट भिडियो एप 'रमाइलो', एक लाख भन्दा बढी भयो डाउनलोड

अर्थ संसार

आइतबार, १७ मंसिर २०८०, १४ : ५२ मा प्रकाशित

लोकप्रिय बन्दै नेपाली सर्ट भिडियो एप 'रमाइलो', एक लाख भन्दा बढी भयो डाउनलोड

टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडियोहरू शेयर गर्ने प्लेटफर्म 'रमाइलो' मोबाइल एप छोटो समयमै लोकप्रिय बन्दै  गएको छ । 

सार्वजनिक भएको करिब एक सातामै यो एप एक लाख भन्दा बढी पटक डाउनलोड भएको रमाइलो एपका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गृहेन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार हाल यस एपमा ९० हजारभन्दा बढी दैनिक सक्रिय प्रयोगकर्ता रहेका छन् । 

पछिल्ला दिनमा निकै रुचाइएको यस एपमा सुधार भइरहेको कम्पनीले जनाएको छ । एप सञ्चालनमा ल्याइएको केही दिनमा नै प्रयोगकर्ता सोचेभन्दा धेरै भएपछि केही समस्या आएको थियो । तर अहिले एपमा सुधार गरेर थप परिस्कृत गर्दै गएको सीईओ घिमिरेले जानकारी दिए । जसअनुसार अहिले डार्क मोड, शर्ट्स, भेरिफाइड प्रोफाइल लगायत अन्य  फिचर थपेको उनको भनाइ छ ।

कम्पनीले प्रयोगकर्ताहरूबाट सुझावहरू संकलन गरिरहेको र सोही अनुसार सुधार गर्दै लगेको जानकारी दिएको छ । 'हामीले हाम्रा प्रयोगकर्ताहरू लाई माया गरिरहेका छौं । उहाँहरूको क्रियसनलाई हामीले उचित स्थान दिनेछौं,' उनले भनेका छन् । 

कम्पनीले एपलाई क्रमश: अपडेट गर्दै गएको छ । प्रयोगकर्ताले पनि यसलाई क्रमश: अपडेट गर्दै लगेमा नयाँ फिचरहरू छिट्टै प्रयोग गर्न पाउनेछन् । 'सरकारको नियमनअनुसार नै यस एपलाई प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन्,' घिमिरेले भने ।  

रमाइलो एपमा सार्वजनिक भएको शर्ट्स तथा भिडियोहरूले सामाजिक सद्भाव खलल पुग्ने किसिमको पाइएमा वा गैरकानूनी तथा हिंसात्मक भएमा कम्पनीले त्यसलाई हटाउने छ । जसका लागि प्रयोगकर्ताले रिपोर्ट गर्न सक्ने सीईओ घिमिरेले जानकारी दिए  । 

कम्पनीले अबको केही दिनमा नै एप्पल स्टोरमा रमाइलो एप राख्ने तयारी गरिरहेको सीईओ घिमिरेले जानकारी दिए । अहिले परीक्षणको काम भइरहेको उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको