Like us!
Follow us!
Connect us!
Watch us!

पाँचौ अन्तर्राष्ट्रिय ग्लोबल इन्टरनेसनल कन्फरेन्स डिसेम्बर ७ र ८ तारिखमा हुने

अर्थ संसार

विहीबार, २१ मंसिर २०८०, १५ : ३२ मा प्रकाशित

पाँचौ अन्तर्राष्ट्रिय ग्लोबल इन्टरनेसनल कन्फरेन्स डिसेम्बर ७ र ८ तारिखमा हुने

ग्लोबल कलेज इन्टरनेसनलको आयोजनामा पाँचौ अन्तर्राष्ट्रिय ग्लोबल इन्टरनेसनल कन्फरेन्स डिसेम्बर ७ र ८ तारिखमा हुने भएको छ ।

‘नवीनता, दिगोपन, र अग्रगामी विकासका लागि व्यवस्थापन र प्रविधिको एकीकरणको उदीयमान बहस र अभ्यास’ भन्ने विषयमा केन्द्रित रहने सम्मेलनमा आयोजक ग्लोबल कलेज इन्टरनेशनललाई ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कूल अफ साइन्स, लिबर्टी कलेज, भ्याली भ्यू स्कूल, युनिग्लोब स्कूल, युनिग्लोब हायर सेकेन्डरी स्कूल, र युनिग्लोब कलेजले समर्थन गरेका छन् ।

कार्यक्रमको मुख्य विषयवस्तु भित्र रहेर नीति विशेषज्ञ, प्रतिष्ठित मुख्य वक्ताहरू र १८ देशका शोधकर्ताहरूले बैंकिङ, बीमा र वित्त व्यवस्थापन, व्यापार व्यवस्थापन, सञ्चार व्यवस्थापन, उद्यमशीलता व्यवस्थापन, मार्केटिङ जस्ता व्यवस्थापनका विभिन्न क्षेत्रहरूमा बौद्धिक र अनुसन्धात्मक बहस हुने जनाइएको छ । यसैगरी व्यवस्थापनकै अन्य विधाहरु जस्तै मानव संसाधन व्यवस्थापन, आईसीटी व्यवस्थापन, आतिथ्य व्यवस्थापन, र पर्यटन व्यवस्थापन लगायतका विषयहरूमा पनि वक्ताहरुले बहस गर्नेछन् ।

डिसेम्बर ७ र डिसेम्बर ८ गरी दुई दिनसम्म चल्ने कार्यक्रमलाई ६ प्रमुख सत्रहरूमा विभाजन गरिएको छ । पहिलो दिन उद्घाटन समारोह, मुख्य भाषण सत्र र समानान्तर सत्रको आयोजना हुने जनाइएको छ। विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा. देवराज अधिकारी डिसेम्बर ७ तारिख बिहीबार बिहान १० बजे सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रमा पाँच सय भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने छन् भने आठजना प्रतिष्ठित वक्तालाई मुख्य वक्ताका रुपमा बोलाइएको छ । पहिलो दिन विभिन्न विषयवस्तुहरूमा शोधकर्ताहरूद्वारा प्रस्तुत गर्नका लागि लगभग ४० शोधपत्रहरू चयन गरिएका छन् । 

यसैगरी दोस्रो दिन 'कार्यस्थलमा कृत्रिम बौद्धिकता : चुनौती र अवसरहरू तथा शासकीय र कर्पोरेट स्तरमा हाम्रो तयारी' विषयमा प्यानल छलफलमा हुने जनाइएको छ । पूर्व वातावरण विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, सांसद डा विमला राई पौड्याल, फ्रान्सका लागि पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ, विकास विज्ञ, प्राज्ञिक थिंक ट्याङ्क र उद्योगी क्षेत्रका अगुवाहरुलाई प्यानलमा आमन्त्रण गरिएको छ । उक्त प्यानल छलफल एबीसी टिभीमासमेत प्रत्यक्ष प्रसारण हुने जनाइएको छ । 

आयोजकहरूबाट सम्मेलनको अध्यक्षको रूपमा वरिष्ठ अर्थशास्त्री तथा एनपीसीका पूर्व सदस्य प्रा पुष्कर बज्राचार्य, सम्मेलनको प्रमुख कार्यकारीमा ग्लोबल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. खगेन्द्र पी ओझा, ग्लोबल कलेज इन्टरनेसनलका प्रिन्सिपल डा. सुवास श्रेष्ठ सम्मेलन कन्भेनर तथा ग्लोबल कलेज इन्टरनेशनलका एकेडेमिक डाइरेक्टर डा. देवराज पनेरु सम्मेलनको संयोजकको रुपमा रहनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको