माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि परीक्षा केन्द्र निर्धारण प्रक्रिया व्यवस्थित र त्रुटिरहित बनाउन राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई स्पष्ट निर्देशन दिएको छ। विभिन्न जिल्लाबाट परीक्षा केन्द्र निर्धारणबारे जिज्ञासा आएपछि कार्यालयले नौ विषय समेटिएको निर्देशनसहित आधिकारिक पत्र पठाएको हो।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार अघिल्ला वर्षहरूमा परीक्षा केन्द्र निर्धारण, परीक्षार्थी हाजिरी व्यवस्थापन तथा उत्तरपुस्तिका सम्हालाइमा कमजोरी देखिँदा नतिजा प्रकाशन ढिला हुने, केही परीक्षार्थीको नतिजा रोक्किने जस्ता समस्या देखिएका थिए। यस्ता समस्या दोहोरिन नदिन माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ (संशोधनसहित) मा भएको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न पुस मसान्तभित्र परीक्षा केन्द्र निर्धारण गर्न निर्देशन दिइएको छ।
निर्देशनअनुसार हिमाली जिल्लामा कम्तीमा १५०, पहाडी क्षेत्रमा २५० र तराई, भित्री मधेस तथा उपत्यकामा ३०० भन्दा कम नहुने र ४०० भन्दा बढी नहुने गरी परीक्षार्थी संख्या कायम गरेर मात्र परीक्षा केन्द्र तोक्नुपर्नेछ। यद्यपि, परीक्षार्थी संख्या जति भए पनि प्रत्येक जिल्लामा कम्तीमा एउटा परीक्षा केन्द्र अनिवार्य रूपमा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको संख्याभन्दा कम परीक्षार्थी राखेर केन्द्र निर्धारण गरिएमा त्यसको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले नै लिनुपर्ने उल्लेख गरिएको छ।
परीक्षा मर्यादा र निष्पक्षता सुनिश्चित गर्न आफ्नै विद्यालयका विद्यार्थी सोही विद्यालयमा परीक्षा दिने होम सेन्टर व्यवस्था नहुने गरी र पारस्परिक केन्द्र नपर्ने गरी केन्द्र निर्धारण गर्न भनिएको छ। तर एउटा मात्र केन्द्र हुने जिल्लामा होम सेन्टर स्वीकार्य हुने र दुई केन्द्र मात्रै भएका जिल्लामा पारस्परिक केन्द्र कायम गर्न सकिने स्पष्ट गरिएको छ। एउटै विद्यालयका विद्यार्थी मात्र रहने गरी केन्द्र नबनाई कम्तीमा दुई वा सोभन्दा बढी विद्यालयका विद्यार्थी सहभागी हुने गरी केन्द्र निर्धारण गर्न निर्देशन दिइएको छ।
सहरी क्षेत्र, विशेषगरी तराई, भित्री मधेस र उपत्यकामा एउटै विद्यालयमा हरेक वर्ष लगातार परीक्षा केन्द्र नपर्ने गरी केन्द्र निर्धारण गर्न आग्रह गरिएको छ। प्राविधिक धारतर्फका परीक्षार्थीका लागि छुट्टै परीक्षा केन्द्र तोक्नुपर्ने र यस्तो केन्द्र जिल्लाको उपयुक्त तथा सबै पालिकाबाट पायक पर्ने स्थानमा राख्नुपर्ने उल्लेख गरिएको छ। साथै, २०७९ सालका ग्रेडवृद्धि परीक्षार्थीहरूलाई जिल्ला सदरमुकाममै एउटै केन्द्रमा राख्ने व्यवस्था मिलाउन भनिएको छ।
अपांगता भएका परीक्षार्थीहरूको हकमा आवश्यक सहजीकरण गरी नजिकको परीक्षा केन्द्रबाट परीक्षा दिन सक्ने व्यवस्था मिलाउनुपर्ने र त्यस्ता परीक्षार्थीको उत्तरपुस्तिका छुट्टै व्यवस्थापन गरेर सम्बन्धित विद्यालयको प्याकेटमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। यदि एउटै विद्यालय वा एउटै केन्द्रमा धेरै संख्यामा विशेष क्षमता भएका परीक्षार्थी वा स्रोत कक्षा रहेको अवस्थामा भने सोही केन्द्रअन्तर्गत उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ।
कतिपय जिल्लामा पालिकागत रूपमा परीक्षा केन्द्र निर्धारण गर्न सकिने कि नसकिने भन्ने विषय उठ्ने गरेको सन्दर्भमा विद्यार्थीको सुविधा, परीक्षा मर्यादा, निष्पक्षता र व्यवस्थापन सहज हुने अवस्था भएमा आपसी सहमतिमा तोकिएको परीक्षार्थी संख्या नघट्ने गरी पालिकागत रूपमा पनि केन्द्र निर्धारण गर्न सकिने भनिएको छ। तोकिएको परीक्षा केन्द्रबाहेक अन्यत्र परीक्षा दिएमा परीक्षार्थीको परीक्षा रद्द हुन सक्ने चेतावनीसमेत दिइएको छ।
परीक्षा केन्द्र सिफारिस गर्दा केन्द्र नम्बर, परीक्षा केन्द्र विद्यालयको कोड, केन्द्रमा पर्ने अन्य विद्यालयहरूको कोड, केन्द्राध्यक्षको नाम, सम्पर्क मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा समावेश गर्न परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस