Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षामन्त्री महावीर पुनका पाँच निर्णय: आणविक अनुसन्धान केन्द्रदेखि विश्वविद्यालय सुधारसम्म

अर्थ संसार

शुक्रबार, २४ असोज २०८२, ०८ : ४२ मा प्रकाशित

शिक्षामन्त्री महावीर पुनका पाँच निर्णय: आणविक अनुसन्धान केन्द्रदेखि विश्वविद्यालय सुधारसम्म

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले हिजो देशका विज्ञान, अनुसन्धान र शिक्षासम्बन्धी क्षेत्रमा पाँच महत्वपूर्ण निर्णय र निर्देशन दिएका छन्। यी निर्णयहरूलाई वैज्ञानिक आत्मनिर्भरता, शैक्षिक सुधार र संस्थागत पुनर्संरचनातर्फको “नयाँ अभियान” का रूपमा हेरिएको छ।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका मुख्य निर्णयहरू यसप्रकार छन् —


१) नेपालमै रेडियोधर्मी औषधि उत्पादन गर्ने तयारी

क्यान्सर उपचारका लागि आवश्यक रेडियोधर्मी (Radio Isotopes) औषधिहरू अब नेपालमै उत्पादन गर्ने तयारी सरकारले थालेको छ।
यसका लागि उनले “औषधी उपचारका लागि मात्र प्रयोग हुने आणविक अनुसन्धान केन्द्र” तुरुन्त खोल्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
यो कदमले क्यान्सर बिरामीका लागि औषधि आयातमा निर्भरता घटाउने र उपचार लागत कम गर्ने अपेक्षा गरिएको छ।


२) सिटिइभिटी (CTEVT) को पुनर्संरचना

प्राविधिक शिक्षामा गुणस्तर वृद्धि गर्ने उद्देश्यले मन्त्री पुनले सिटिइभिटी (Council for Technical Education and Vocational Training) को पुनर्संरचना गर्न कार्यदल गठन गर्ने बताएका छन्।उनका अनुसार नयाँ संरचनाले “सक्षम जनशक्ति उत्पादन गर्न सक्ने व्यावहारिक र उद्योगमुखी प्रणाली” विकास गर्नेछ।


३) नास्ट (NAST) मा सुधार र नवप्रवर्तन प्रोत्साहन

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) लाई प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यले पुनले अर्को कार्यदल गठन गर्ने घोषणा गरेका छन्।
उनले नास्टमा हुने अनुसन्धान र नवप्रवर्तनलाई “प्रतिभाशाली नेपालीहरूलाई आकर्षित गर्ने र परिणाममुखी बनाउने” दिशामा अघि बढाउन निर्देशन दिएका छन्।


४) त्रिभुवन विश्वविद्यालयको सम्पत्ति प्रतिवेदन सार्वजनिक हुने

मन्त्री पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्तिसम्बन्धी खोजबिन समितिले तयार पारेको २०८१ सालको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेका छन्।शिक्षा मन्त्रालयमार्फत उक्त प्रतिवेदन चाँडै सार्वजनिक गरिने उनले बताएका छन्।
 


५) संस्कृत विश्वविद्यालयमा रिक्त पदमा नियुक्ति

संस्कृत विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेका सेवा आयोगका पदाधिकारीहरू तत्काल नियुक्त गर्ने निर्णय मन्त्री पुनले गरेका छन्।
उनका अनुसार यो निर्णयले विश्वविद्यालयका प्रशासनिक र शैक्षिक प्रक्रिया तीव्र बनाउनेछ।


‘मुख्य कदम यही हो’: मन्त्री पुन

मन्त्री पुनले लेखेका छन्,

“मुख्य निर्णय र कदम यिनै हुन्। यी कार्यहरूले नेपाली शिक्षा, विज्ञान र अनुसन्धानलाई स्वावलम्बी बनाउने बाटो खोल्नेछन्।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको