Like us!
Follow us!
Connect us!
Watch us!

ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ विजेताको घोषणा

अर्थ संसार

मंगलबार, ०३ पुस २०८०, १४ : २८ मा प्रकाशित

ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ विजेताको घोषणा

ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ । उक्त प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आईईएलटीएसका परीक्षार्थीहरूलाई विश्वविद्यालयको ५ हजार डलर (८ लाख ४० हजार नेरू)सम्मको ट्युशन शुल्कमा सहयोग दिनेछ ।

यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इन्डोनेशिया, कोरिया, मलेशिया, फिलिपिन्स, सिंगापुर ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश पाकिस्तान, नेपाल र श्रीलंकाबाट आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको थियो । प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत तीन जना विजेताहरूको नाम चयन गरिएको छ । नेपालबाट विजयी हुनेमध्ये रिजु अधिकारीलाई प्रथम पुरस्कार जीबीपी ५ हजार (नेरू ८ लाख ४० हजार), द्वितीय पुरस्कार उज्ज्वल भेटुवाललाई जीबीपी २ हजार (नेरू ३ लाख ३६ हजार) र तृतीय पुरस्कार रिशिका शाहलाई जीबीपी १ हजार (नेरू १ लाख ६८ हजार) प्रदान गरिएको छ ।


यसबाहेक पनि ब्रिटिश काउन्सिलमा दर्ता भएर सन् २०२३ को सेप्टेम्बर १ देखि नोभेम्बर ३० को बीचमा आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीहरूमध्ये केही भाग्यशाली विजेताहरूले आईईएलटीएस उपहार पाएका छन् । हरेक हप्ता एक जना भाग्यशाली विजेताले जीबेएल चार्ज ५ जितिरहेका छन् । यसैगरी मासिक विजेताले सेप्टेम्बर र अक्टोबरमा एप्पल म्याक र दुई जना भाग्यशाली विजेतालाई आफूले रोजेको गन्तव्यका लागि कतार एयरवेजको एकतर्फी टिकट पनि दिइएको थियो । विजेताहरूको नाम लक्की ड्रमार्फत छान्ने गरिएको छ । यसको घोषणा ब्रिटिश काउन्सिलको सामाजिक सञ्जाल च्यानलमार्फत गर्ने गरिन्छ । 

‘६० वर्षभन्दा बढी समयदेखि हामी नेपालमा छौं, हामीले यहाँको शिक्षामा भइरहेका सुधारलाई टेवा दिँदै युवा नेपालीलाई उनीहरूको पूर्ण सम्भावना हासिलका अवसर सृजना गरिरहेका छौं र अन्ततः नेपालको आर्थिक विकास तथा समृद्धिमा योगदान समेत दिइरहेका छौं । हाम्रो आईईएलटीएस प्राइज र आईईएलटीएस उपहार अभियानका विजेताहरूलाई हार्दिक बधाई छ । आईईएलटीएस प्राइजले तपाईंलाई तपाईंको सपना पूरा गर्न र शैक्षिक लक्ष्य हासिलमा मद्दत गर्छ भन्ने आशा मैले लिएको छुँ,’ ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडगलले भनिन् ।
 
अन्तरराष्ट्रिय अंग्रेजी भाषा परीक्षा प्रणाली (आईईएलटीएस) उच्च शिक्षा र आप्रवासनका लागि विश्वको सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा निपुणता परीक्षा हो । विश्वभर झन्डै १२ हजार संगठनहरूले आईईएलटीएसलाई मान्यता दिएका छन् । यी संघसंस्थाहरूमा शैक्षिक संस्था, रोजगारदाता, सरकारी र पेशागत निकायहरू पनि रहेका छन् । आईईएलटीएस ब्रिटिश काउन्सिल, आईडीपीः आईईएलटीएस अष्ट्रेलिया र क्याम्ब्रिज एसेसमेन्ट इंगलिशको संयुक्त स्वामित्वमा रहेको छ ।

ब्रिटिश काउन्सिल सांस्कृतिक सम्बन्ध तथा शैक्षिक अवसरका लागि बेलायती अन्तर्राष्ट्रिय संगठन हो । काउन्सिलले बेलायत र विश्वका अन्य देशका मानिसबीच सम्बन्ध बनाएर, एकआपसमा समझदारी र विश्वास निर्माण गरेर शान्ति र समृद्धिलाई टेवा दिने गर्दछ । विश्वका सयभन्दा धेरै देश र क्षेत्रमा कार्यक्षेत्र बनाएको काउन्सिलले सन् २०२१–२२ मा ६५ करोड मानिसमाझ पुगेका दाबी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको