प्रधानमन्त्री पुष्पकमल दाहाल माघ ४ गते अफ्रिकी मुलुक युगान्डा भ्रमणमा जाँदैछन् ।
प्रम दाहाल भ्रमणबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयले असंलग्न आन्दोलनका राष्ट्र र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी दिएका छन् । सम्मेलन माघ ५ र ६ गते आयोजना हुने मन्त्रालयले जानकारी दिएको छ । भ्रमण दलमा प्रम दाहाल पुत्री गङ्गा दाहालसहित परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल र अन्य वरिष्ठ अधिकारीहरु रहने जनाइएको छ ।
सम्मेलनमा प्रम दाहालले माघ ५ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उनले युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुता मुसेभेनीले आयोजना गरेको स्टेट ब्याङ्क्वेटमा सहभागी हुने कार्यक्रम रहेको छ । प्रम दाहालले सम्मेलनमा सहभागी हुन आएका अन्य देशका राष्ट्रप्रमुख तथा उच्च अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
शिखर सम्मेलन अघि माघ ३ र ४ गते मन्त्रीस्तरीय बैठक आयोजना हुनेछ । उक्त बैठकमा भाग लिन मन्त्री साउद भने माघ २ गते नै त्यसतर्फ प्रस्थान गर्नेछन् । भ्रमण सकेर प्रम दाहाल माघ ७ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस