Like us!
Follow us!
Connect us!
Watch us!

रोबोटिक्समा चाख लाग्नेहरुका लागि दुई दिने आविष्कार २४ कार्यक्रम आयोजना हुँदै

अर्थ संसार

शनिबार, १२ फागुन २०८०, १७ : १५ मा प्रकाशित

रोबोटिक्समा चाख लाग्नेहरुका लागि दुई दिने आविष्कार २४ कार्यक्रम आयोजना हुँदै

काठमाडौं विश्वविद्यालय रोबोटिक्स क्लबको आयोजनामा रोबोटिक्स क्षेत्रमा भएका नयाँ प्रगतिहरूबारे विद्यार्थी र पेशाकर्मीहरूका बीचमा नवप्रवर्तनलाई बढावा दिने उद्धेश्यले आविष्कार २४ नामक दुई दिने कार्यक्रम आयोजना हुने भएको छ । 

आगामी मार्च १२ र १३ मा काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस धुलिखेल काभ्रेमा आयोजना हुने कार्यक्रममा ३ सय बढी प्रतियोगीहरू, ४० बढी नवीन परियोजनाहरूको प्रदर्शनी र ३० भन्दा बढी विद्यालय र कलेजका प्रतिनिधि तथा पूर्व प्रतिनिधिहरूसहित ४ हजार बढी सहभागी हुने आयोजकले जनाएको छ । विभिन्न प्रतियोगिताहरू, कार्यशालाहरू, प्रदर्शनहरू र व्याख्यानहरूको लाइनअप समावेश हुने कार्यक्रम रोबोटिक्सको भविष्यप्रति रुचि राख्ने जो कोहीका लागि आकर्षक हुने आयोजकले उल्लेख गरेको छ ।

कार्यक्रममा रोबोटिक्स प्रदर्शनीका सहभागीहरूले प्रतिस्पर्धा गर्न सक्ने पाँच वटा मुख्य कार्यक्रमहरू राखिएको छ । अक्वाबोट, आइडिएसन, हार्डवेयर ह्याकाथन, प्रोजेक्ट डेमोन्सट्रेसन र रोबो रेस गरि पाँच विधामा प्रतिस्पर्धा हुनेछ । सरसफाइ रोबोटको प्रयोग गरि ताल वा खोला जस्ता जलाशयमा रहेको फोहोर सफा गर्ने प्रतियोगिता अक्वाबोट हो । यसमा सहभागी हुने रोबोटले पानीको सतहबाट फोहोर निकालेर फाल्नुपर्ने हुन्छ ।

यसैगरी आइडियसनमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई एउटा टेबलमा ल्याई मन्त्रिपरिषद्मा जस्तै आपसी छलफलबाट समस्या समाधानको मस्यौदा तयार गर्नेछ । यो कार्यक्रम विभिन्न समस्याहरुमाथि छलफल गरी निर्णय लिन छलफलमा सहभागीहरुलाई मार्गदर्शन गर्ने उद्धेश्यले डिजाइन गरिएको हो । हार्डवेयर ह्याकाथन सिर्जनशील र प्राविधिक ज्ञान भएका र नवप्रवर्तनशीलहरुले सकेसम्म चाँडो पूर्ण रूपमा नयाँ र अद्वितीय कुराहरू सिर्जना गर्न प्रयास गर्ने प्रतियोगिता हो ।

परियोजना प्रदर्शन एउटा खुला प्रतिस्पर्धा हो जहाँ सहभागीहरूले विशेष मानवीय कार्यहरू गर्न सक्षम हुने परियोजनाको साथ प्रस्तुत हुनुपर्नेछ । सहभागीहरूले आफ्ना परियोजनाहरू निर्णायक र दर्शकका अगाडि प्रदर्शन गर्नुपर्नेछ र निर्णायक तथा अवलोकनकर्ता दर्शकको मतबाट विजेता चयन गरिने छ । यसैगरी रोबोरेस वायरलेस रोबोटहरू बीचको प्रतिस्पर्धा हो, जहाँ अवरोधहरू भएको ट्रयाकमा रोबोटहरु दौडिने छन् । अवरोधहरुमा भूलभुलैया, झोलुङ्गे पुल, बालुवा, डाँडा, खोल्सा लगायत हुनेछन् । अधिकतम् अंकसहित ट्रयाक दौड पुरा गर्ने शीर्ष ६ वटा रोबोट अन्तिम दौडका लागि योग्य हुनेछ भने अन्तिम दौडमा सर्वाधिक अंक प्राप्त गर्ने रोबोटलाई विजेता घोषणा गरिने छ ।

यसैगरी कार्यक्रमका माध्यमबाट इनोभेसन नेक्सस तयार गर्नु आविष्कार २४ को मूख्य सिद्धान्त हो । यस सिद्धान्तले रचनात्मक विचारहरू, सपनाहरू र महत्वाकांक्षाहरूको महत्वलाई बढावा दिने र समर्थन गर्ने गर्दछ । यो कार्यक्रमको उद्धेश्य रोबोटिक्स, टेक्नोलोजी र नवप्रवर्तनको बारेमा लगन तथा चासो भएका व्यक्तिहरूलाई नेटवर्किङ गरी उनीहरुबीच सहकार्य र विचारको आदानप्रदान गराउनु भएको क्लबको भनाई छ ।

यसैगरी कार्यक्रमबीच क्लबले आफ्नो वार्षिक पत्रिका सोच पनि विमोचन गर्नेछ । उक्त पत्रिकामा रोबोटिक्स टेक्नोलोजीमा भएका नवीनतम् विकास तथा क्लबका सदस्यहरूका कामहरुका बारे पूर्ण जानकारी दिइने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको