सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार राति सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सम्पन्न वार्ता सकारात्मक दिशा तर्फ उन्मुख भए पनि केही तयारी आवश्यक परेकाले अन्तिम सहमति हुन सकेन।
सरकार पक्षबाट शिक्षामन्त्री रघुजी पन्तको नेतृत्वमा वार्ता टोली सहभागी भएको थियो भने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको प्रतिनिधि समूहले शिक्षक पक्षको तर्फबाट वार्तामा भाग लिएको थियो। वार्तापछि मन्त्री पन्तले वार्ता सकारात्मक ढङ्गले अघि बढिरहेको बताए। “अहिलेसम्म केही बुँदामा छलफल बाँकी छ, तर समग्रमा वार्ता सकारात्मक ढङ्गमा अघि बढेको छ,” उनले भने।
शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा तोकिएको समयमा नै गर्नुपर्ने पक्षमा सरकार दृढ रहेको उल्लेख गर्दै आन्दोलनका विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी दिए। उनले सरकार वार्ता छिट्टै निष्कर्षमा पुर्याउने प्रयासमा रहेको स्पष्ट पारे।
त्यस्तै, महासङ्घका अध्यक्ष सुवेदीले पनि केही विषयमा छलफल भएको स्वीकार गर्दै अझै धेरै बुँदामा सहमति जुट्न बाँकी रहेको बताए। उनले माग सम्बोधन नहुँदासम्म आन्दोलन नरोकिने स्पष्ट पारे।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक आन्दोलनको समाधान गर्न शिक्षामन्त्री पन्तलाई वार्ताको जिम्मेवारी दिएको थियो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षकको माग सम्बोधन गर्ने लक्ष्य रहेको जनाएका छन्।
शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन लगायतका मागसहित गत चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस