पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कूल जनसंख्याको १० प्रतिशत अर्थात करीब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । यीमध्ये तीन लाख मानिसमा मृगौलाका दीर्घरोग रहेको छ ।
हरेक वर्ष नेपालमा मृगौलाका ३ हजार नयाँ बिरामीहरु डायलासिसका लागि थपिने गरेका छन् । दुवै मृगौला खराब भइसकेपछि गरिने डायलासिस जिन्दगीभर गर्नुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मृगौला प्रत्यारोपणलाई मानिन्छ । तर प्रत्यारोपण गर्न बिरामीलाई आर्थिक रुपमा ठूलो लागत त लाग्छ नै समयमै प्रत्यारोपण गर्न पनि अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था रहन्छ ।
गम्भीर प्रकृतिका बिरामीले पनि प्रत्यारोपणका लागि निकै लामो समय कुर्नुपर्ने भएपछि नेपाल मेडिसिटी अस्पतालमा २०७९ माघबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरेको हो । हालसम्म अस्पतालमा २३ जना बिरामीको मृगौला प्रत्यारोपण भईसकेको छ । १७ वर्षको युवा देखि ६५ वर्षका बृद्धको सफल रुपमा प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।
बुटवल, पोखरा, काठमाडौं, रामेछाप, इलाम, दाङ, अर्घाखाँची, हेटौडा जस्ता ठाउँहरुबाट प्रत्यारोपणका लागि अस्पतालमा आउने गरेका छन् । प्रत्यारोपण भइसकेका बिरामीहरुमा आफ्नै आमाले छोरालाई, श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई, भिनाजुले सालीलाई, सासूले ज्वाईंलाई र सानोबुबाले छोरीलाई मृगौला दिएका छन् । मृगौला दान गर्नेहरुमा १८ वर्षको दाता देखि ६५ वर्ष सम्मका दाताहरु रहेका छन् ।
त्यस्तै, मृगौला दान गर्नेमा महिला बढि रहेका छन् । दान गर्नेमा १६ जना महिला र ७ जना पुरुष रहेका छन् भने मृगौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला रहेका छन् । अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाशं बिरामीहरुको मृगौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मृगौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताए ।
“२३ जनामा अधिकांश उच्च रक्तचाप र मधुमेहकै कारण मृगौला बिग्रेर उपचारका लागि आएका थिए । अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमा प्रोटिनको मात्रा बढि भएर लिकेज हुन थालेपछि मृगौला बिग्रेर जान्छ,” डा पौडेलले भने । यति मात्र नभई प्रत्यारोपणका लागि विदेशबाट काम गरेर फर्केका व्यक्तिहरुको संख्या बढ्दो क्रममा देखिएको चिकित्सकहरुकोको अनुभव छ ।
विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको छ । ५ जना मृगौला प्रत्यारोपण भएका व्यक्तिहरु कतार, दुवईबाट फर्केर उपचारका लागि आएका छन् । निकै गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मृगौलाको समस्या बढि देखिएको डा पौडेलले बताए ।
मृगौला प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ । विभिन्न उपचार खर्च जोड्दा बिरामीकोे कूल खर्च ७ देखि ८ लाख पर्दछ । तर निकै लामो समयसम्म कुर्नुपर्ने अवस्था रहिआएको छ । नेपाल मडिसिटी अस्पतालमा प्रत्यारोपण देखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए ।
“यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मृगौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्,” डा. काफ्लेले भने । मृगौला दाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७ दिनमा डिस्चार्ज हुने गरेका छन् । मृगौला प्रत्यारोपण गर्नु अगाडी धेरै थरीका टेस्ट गर्नुपर्ने हुन्छ । एउटै परिवारमा पनि मृगौला दिन नमिल्ने हुन सक्छ ।
मेडिसिटी अस्पतालमा पिएर किड्नी एक्सचेन्जको पनि सुविधा रहेको छ । हालसम्म १५० भन्दा बढि बिरामीहरु प्रत्यारोपणका लागि अस्पताल आएका मध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण गरिएको हो भने ९ जना प्रत्यारोपणका लागि कुरिरहेका छन् । उपचारका लागि अस्पतालमा भास्कुलर सर्जन, युरोलोजी, नेफ्रोलोजी , एनेस्थेसिया, ट्रान्सप्लान्स सर्जनको समूह मिलेर काउन्सिलिङ देखि अप्रेसन गर्ने गरेको अस्पतालले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस