Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल दूरसञ्चार कम्पनीको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस एक विश्लेषण

विहीबार, १४ मंसिर २०७४, ०८ : १६ मा प्रकाशित

नेपाल दूरसञ्चार कम्पनीको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस एक विश्लेषण

प्रमुख गतिविध

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, १४ मङ्सिर २०७४)

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४बीच तुलना गर्दा :

  • प्रथम त्रैमासको (३ महीना) अवधिमा नेपाल टेलिकमले ४ अर्ब ५ करोड कमाएको छ । अघिल्लो वर्ष यही समयमा ४ अर्ब १४ करोड कामाएको थियो । अघिल्लो वर्षको ३ महीनाभन्दा अहिले नाफा २ प्रतिशत कम हुन पुग्यो ।

  • १५ अर्ब पूँजी भएको कम्पनीको जगेडा कोषमा ८१ अर्ब छ । पूँजीको तुलनामा धेरै निकै धेरै जगेडा हुनुले पनि यो मानेमा कम्पनी निकै बलियो छ भन्ने प्रस्ट हुन्छ ।

  • ३ महीनाको अवधिमा कम्पनीले ११ अर्ब  ८३ करोड रुपैयाँ आम्दानी गरेको छ भने जम्मा खर्च ६ अर्ब ३९ करोड गरेको छ । आम्दानी गत आवको सोही अवधिको भन्दा ४ प्रतिशत वृद्धि भयो भने खर्च ११ प्रतिशत वृद्धि भएको छ ।

  • कुल चालू सम्पत्ति ६ प्रतिशत बढेर  ६८ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने कुल चालू दायित्व पनि १७ प्रतिशत घटेर १३ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ ।

  • कम्पनीको प्रतिशेयर नेटवर्थ (बूक भ्यालू) निकै बलियो छ । प्रतिसेयर नेटवर्थ ६ सय ४३ रुपैयाँ ८४ पैसा रहेको छ ।

  • १०० रुपैयाँभन्दा माथि प्रतिसेयर आम्दानी राख्न सक्नु कम्पनीको एउटा प्रमुख सकारात्मक पक्ष रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १०८ रुपैयाँ १७ पैसा रहेको छ, गतवर्षको प्रथम त्रैमासमा प्रतिशेयर आम्दानी ११० रुपैयाँ ४८ पैसा थियो भने चौथो त्रैमास (असार मसान्त)सम्ममा प्रतिशेयर आम्दानी १०० रुपैयाँ ११ पैसा थियो ।

निष्कर्ष :
प्रतिशेयर आम्दानी १०० भन्दा माथि र बजार मूल्य ९०० को हाराहारीमा हुनुले कम्पनीको मूल्य आम्दानी अनुपात (पीई अनुपात) निकै थोरै छ, जसले कम्पनीको लगानीमा जोखीम कम देखाउँछ । जगेडामा ८१ अर्ब हुनुले कम्पनी निकै बलियो भएको देखाउँछ । बोनस शेयर नदिएको, सधैं नगद लाभांश दिने र नेपाली बजार हकप्रद तथा बोनसबाट चल्ने भएकाले यो कम्पनी छायामा परेको देखिन्छ । विगतमा कम्पनीले प्रदान गरेको लाभांश र कम्पनीको वित्तीय प्रतिवेदन हेर्दा दीर्घकालीन लगानी र पोर्टफोलियो व्यवस्थापनका निमित्त यो शेयर उपयुक्त हुन सक्छ ।

प्राविधिक विश्लेषण : नेपाल दूरसञ्चार प्रतिरोध क्षेत्रमा

प्रतिरोध २ : ९८० । प्रतिरोध १ : ९१० । हालको अन्तिम मूल्य : ९०३ । टेवा १ : ८७० । टेवा २ : ८३५

बजारको अवस्था
यस कम्पनीको २९ नोभेम्बर, २०१७ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा अन्तिम कारोबार मूल्य ९ सय ३ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा ३ अङ्क अर्थात् शून्य दशमलव ३३ प्रतिशत बढी हो । अन्तिम दिनको परिमाण ७१ हजार ७ सय ७१ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा ५० हजार ४ सय ५६ कित्ता बढी हो ।

मूल्यको प्रवृत्ति विश्लेषण
चार्टमा देखिएबमोजिम विगत २ महीनादेखि मूल्य प्रवृत्तिको माथिल्ला र तल्ला बिन्दुहरू बढिरहेकाले बजार बढ्दो प्रवृत्तिमा रहेको सङ्केत गर्दछ र हाल बजारले ९ सय १० को प्रतिरोधलाई परीक्षण गरिरहेको देखिन्छ ।

अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : विगत ६, २१ र ५० दिनको ईएमएहरू क्रमशः माथिदेखि तल रहेको र एक आपसमा फराकिलो हुँदै गएकाले बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ८० अङ्कमा रहेको छ । यसको प्रवृत्तिले बियरिश डाइभर्जेन्स हुन सक्ने सङ्केत गरेको छ । यसो भएमा मूल्य केही सच्चिनसक्ने सङ्केत गर्दछ ।

मैनबत्ती : अन्तिम दिनको मैनबत्तीले ह्याङ्गिङ मेनको आकृति बनाएकाले बजारको प्रवृत्ति परिवर्तन हुन सक्ने सङ्केत गरे तापनि अर्को दिनको मैनबत्ती हेर्नु आवश्यक हुन्छ ।

निष्कर्ष
५ दिनदेखि लगातार बढेको मूल्य हाल आएर केही सूचकले प्रवृत्तिमा परिवर्तन हुन सक्ने सङ्केत गरेकोले केही समयका लागि ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ । फिबोनासी प्रोजेक्शनको आधारमा हालको तत्कालीन प्रतिरोध ९ सय १० मा रहेको देखिन्छ भने तत्कालीन टेवा ८ सय ७० मा रहेको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको